पूर्व-पश्चिम महेन्द्र राजमार्गअन्तर्गत चितवनको खैरहनीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।
खैरहनी नगरपालिका-१ तरकारी चोकमा शनिबार दिउँसो करिब १२:२३ बजे दुर्घटना भएको हो। नारायणघाटबाट बर्दिबासतर्फ जाँदै गरेको बा.प्र. ०३-००१ ख २७७३ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको बा.प्र. ०१-०१५ प ३३८५ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएका थिए।
दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक अन्दाजी ३०/३२ वर्षीय पुरुष र पछाडि सवार अन्दाजी २५/२६ वर्षीया महिलाको भरतपुरस्थित नयाँ मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
मृतक दुवै जनाको नाम, थर र ठेगाना खुल्न बाँकी छ। दुर्घटनापछि बस चालक सर्लाहीको हरिवन नगरपालिका–८ निवासी ५१ वर्षीय अजयकुमार मास्केसहित दुवै सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित: ६ भाद्र २०८३ १५:०७ शनिबार





