२६ वैशाख २०८३ शनिबार
image/svg+xml
समाज

शिक्षक छनौट परीक्षामा धाँधली: दुई परीक्षार्थी तर भेटिए तीन उत्तरपुस्तिका

खोटाङको दिप्रुङ चुईचुममा गाउँपालिकामा शिक्षक छनौट परीक्षाका क्रममा परीक्षार्थीको सङ्ख्याभन्दा उत्तरपुस्तिका बढि भेटिएपछि विवाद उत्पन्न भएको छ।

गाउँपालिकाले सञ्चालन गरेको कक्षा १२ को कृषि विषय (बाली विज्ञान) तर्फको सहायक प्रशिक्षक छनौट परीक्षामा नक्कली उत्तरपुस्तिका फेला परेपछि नियुक्ति प्रक्रिया नै रोकिएको हो।

गाउँपालिकाको वडा नं-४ बतासे इजारास्थित राम्चे निकेतन माध्यमिक विद्यालयले वैशाख २४ गते सहायक प्रशिक्षक पदका लागि परीक्षा सञ्चालन गरेको थियो।

सो परीक्षामा जम्मा २ जना प्रतिस्पर्धी सहभागी थिए। तर, उत्तरपुस्तिका सङ्कलन र परीक्षण गर्ने क्रममा ३ वटा उत्तरपुस्तिका भेटिएपछि धाँधलीको आशङ्कामा विवाद सुरु भएको हो।

परीक्षा सञ्चालन समिति संयोजक एवं विद्यालय व्यवस्थापन समिति अध्यक्ष मेघराज दङ्गालका अनुसार परीक्षाको सुरुवातमै शङ्कास्पद गतिविधि देखिएको थियो।

उनले २ जना परीक्षार्थीका लागि २ वटा मात्र उत्तरपुस्तिकामा हस्ताक्षर गरेर परीक्षार्थीलाई दिएकोमा परीक्षा सकिएपछि परीक्षण गर्न लाग्दा एउटा उत्तरपुस्तिकामा आफ्नो हस्ताक्षर नभएको भेटिएको बताए।

उनले हस्ताक्षर भएको सक्कली उत्तरपुस्तिका हराएपछि खोजी गर्दा परीक्षा सञ्चालन सदस्य एवं गाउँपालिकाका विद्यालय निरीक्षक रणशेर तामाङले फेला पारेर ल्याएको दाबी गरेका छन्।

घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै संयोजक दङ्गालले वैशाख २५ गते जिल्ला प्रशासन कार्यालय र शिक्षा विकास तथा समन्वय एकाइ खोटाङमा उजुरी दिएका थिए। प्रशासनले सो निवेदनउपर आवश्यक छानबिन अघि बढाउने जनाएको छ।

पहिलो चरणको ५० पूर्णाङ्कको परीक्षाका लागि गाउँपालिकाले १ घण्टाको समय तोकेको थियो। जसमा एक परीक्षार्थीले २५ मिनेटमै उत्तर बुझाएको र सोही क्रममा उत्तरपुस्तिका साटफेर गरिएको हुनसक्ने दङ्गालको अनुमान छ।

‘३ वटा उत्तरपुस्तिका मध्ये एउटा प्रहरीको जिम्मा लगाइएको थियो, तर प्रहरीले गाउँपालिका अध्यक्षलाई दिएको भन्दै फिर्ता गरेको छैन,’ दङ्गालले भने, ‘बाँकी २ वटा उत्तरपुस्तिका भने मसँगै सुरक्षित छन्।’

यता, परीक्षा सञ्चालन सदस्य रणशेर तामाङले भने आफूमाथि लगाइएको आरोपको खण्डन गरेका छन्। उनले संयोजक दङ्गालले नै परीक्षासम्बन्धी कुनै बैठक नडाकेको र आफूहरूलाई रोहबरमा समेत नराखी उत्तरपुस्तिका बोकेर हिँडेको प्रत्यारोप लगाएका छन्।

तामाङले संयोजकबाटै कमजोरी भएको हुनसक्ने दाबी गरे। गाउँपालिका अध्यक्ष लोकेन्द्र राईले भने प्रहरीले आफूलाई उत्तरपुस्तिका बुझाएको भन्ने कुरा झुटो रहेको बताएका छन्।

उनले परीक्षामा विवाद देखिएको विषयमा जानकारी प्राप्त भएको र यसबारे बैठक बसेर प्रक्रियागत रूपमा अघि बढ्न विद्यालयलाई निर्देशन दिएको जानकारी दिए।

उक्त सहायक प्रशिक्षक छनौटको परीक्षा समितिमा शिक्षा शाखा संयोजक मणि गिरी, विद्यालय निरीक्षक रणशेर तामाङ, गाउँपालिका शिक्षा समिति सदस्य सुनिता विश्वकर्मा, विषयविज्ञ (पञ्च मावि) का शिक्षक हिक्मत बोगटी र सदस्य सचिवका रूपमा प्रधानाध्यापक ईश्वर लम्साल रहेका छन्।

प्रकाशित: २६ वैशाख २०८३ १५:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App