सुँगुर चोरेको र चोरेको सुँगुर किनेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
त्रियुगा नगरपालिका २ मोथियाहीस्थित एक फार्मबाट सुँगुर चोरेको आरोपमा सोही ठाउँका ५२ वर्षीय बौवा खड्का र किन्ने २८ वर्षीय अमित चौधरी पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार मोथियाहीस्थित खेमराज श्रेष्ठको नाममा दर्ता रहेको 'उग्रतारा कृषि पशु फार्म' बाट सुँगुर चोरीमा संलग्न खड्का केही दिनअघि पक्राउ परेका थिए । उनीमाथि अनुसन्धान गर्दा चोरीको सुँगुर किनेको पाइएपछि सोही वडाको मिलन चोक बस्ने चौधरीलाई पनि नियन्त्रणमा लिइएको हो ।
श्रेष्ठको फार्म विगत ३ वर्षयता त्रियुगा नगरपालिका ३ का ४१ वर्षीय पुरन मगरले सञ्चालन गर्दै आएका छन् । सुँगुर र बङ्गुर पालन गर्दै आएको फार्मबाट पटक पटक सुँगुर हराउने गरेको थियो । मगरका अनुसार फार्मबाट हालसम्म २७ वटा सुँगुर हराइसकेका छन् । कहिले ४ वटा, कहिले ३ र कहिले एउटा, दुई वटा गरी पटक पटक सुँगुर हराउने गरेपछि मगरले प्रहरी गुहारेका थिए ।
शृङ्खलाबद्ध रुपमा सुँगुर हराउने गर्दा आजित भएका मगरले उजुरी दिएपछि प्रहरीले अनुसन्धान थालेको थियो । अनुसन्धानकै क्रममा गाउँलेहरूले कोही अज्ञात व्यक्तिले केही सुँगुर बोकेको र केही हिडाईरहेको सूचना दिएपश्चात् पछ्याउँदै जाँदा चौधरीको घरमा फेला परेको थियो । आफ्नो सुँगुर कसरी यहाँ आयो भनेर सोधपुछ गर्दा चौधरीले खड्काबाट किनेको बताएसँगै चोर पत्ता लागेको हो ।
प्रहरीका अनुसार खड्काले मगरको फार्मबाट सुँगुर चोरी गर्दै सस्तो मूल्यमा बेच्ने गरेको खुलेको छ । चोर्ने र किन्ने दुवैलाई हिरासतमा राखेर थप अनुसन्धान र कानुनी कारबाही प्रकृया अघि बढाएको प्रहरीले जनाएको छ ।
प्रकाशित: ३० श्रावण २०८२ १४:२० शुक्रबार





