सर्लाहीमा प्रहरी टोलीमाथि हातपात गरी सरकारी कार्यमा अवरोध पुर्याएको अभियोगमा दुई जना पक्राउ परेका छन्।
घटनाका मुख्य आरोपित भनिएका नेकपा नेता अशोक कुमार यादव फरार रहेकाले प्रहरीले उनको खोजी कार्य तीव्र पारेको छ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार सोमबार राति कविलासी नगरपालिका–८ अगर्वास्थित नवलपुर–मलङ्गवा सडक खण्डमा प्रहरी टोलीमाथि आक्रमण भएको हो।
पार्किङ गरी राखिएको ना ६ ख ६७२३ नम्बरको ट्रकमा नवलपुरबाट आउँदै गरेको ज १ त २५८० नम्बरको ट्याक्टर ठोक्किएपछि दुर्घटनाको अनुसन्धान गर्न प्रहरी टोली घटनास्थल पुगेको थियो।
सो क्रममा ट्याक्टरधनी एवं नेकपा नेता अशोक कुमार यादवको नेतृत्वमा आएको करिब २५ जनाको समूहले ड्युटीमा खटिएका प्रहरीमाथि हातपात गरेको थियो। उनीहरूले प्रहरी नियन्त्रणमा रहेको ट्याक्टर समेत बलजफ्ती खोसेर फरार भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
प्रहरीको कार्यसम्पादनमा अवरोध पुर्याएको र होहल्ला गरेको आरोपमा प्रहरीले कविलासी नगरपालिका–१० सलेमपुरका १९ वर्षीय विक्रम कुमार यादव र २१ वर्षीय प्रियांसु यादवलाई नियन्त्रणमा लिएको छ।
पक्राउ परेका दुवै जनाविरुद्ध अभद्र व्यवहार सम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालय सर्लाहीबाट आठ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको छ।
सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) वेद प्रसाद गौतमले घटनामा संलग्न मुख्य आरोपित अशोक कुमार यादवसहित अन्य व्यक्तिहरूको खोजी भइरहेको जानकारी दिए।
‘प्रहरीलाई हातपात गर्ने र सरकारी कार्यमा अवरोध गर्ने जोकोहीलाई कानुनी दायरामा ल्याइनेछ,’ डिएसपी गौतमले भने।
नेकपा नेता यादव यसअघि पनि विभिन्न विवादमा मुछिएका पात्र हुन्। गत वर्ष जिल्ला पूर्वाधार कार्यालयमा रातिको समयमा चेक काटिरहेको अवस्थामा अवरोध गर्दा उनको तत्कालीन प्रहरी प्रमुखसँग विवाद भएको थियो। लामो समय जनता समाजवादी पार्टी (जसपा) मा सक्रिय रहेका यादव केही समयअघि मात्रै नेकपा प्रवेश गरेका थिए।
प्रकाशित: २६ जेष्ठ २०८३ १६:०४ मंगलबार





