१६ फाल्गुन २०८२ शनिबार
image/svg+xml
समाज

जाडो बढेपछि औल झर्न थाले जुम्लीभेडा

मंसिर लागेसँगै जुम्ला र आसपासका हिमाली पाटन चिसिन थालेका छन्। बढेको चिसोको तीखोपनसँगै उच्च लेकमा चरिरहेका भेडाहरू ‘औल’ झर्न थालेका छन्।  

वर्षेनी दोहोरिने यो यात्रासँगै भेडापालकको जीवन पनि हिमालदेखि तराईसम्म झर्ने चक्रमा बाँधिन्छ। जुम्लाको सिंजा, हिमा, तिला, पातारासी, गुठिचौर, तातोपानीसहित कनकासुन्दरी र आसपासका माथिल्लो बस्तीमा भेडापालन केवल जीविकाको साधन मात्र होइन, पुस्तौंदेखि चलिआएको संस्कृतिसँग गाँसिएको पेशा हो।  

गर्मीमा लेक, जाडोमा औल । यही उकालो–ओरालोको तालमेलमा भेडापालन हुन्छ । भेडालाई एकै ठाउँमा बाँधेर पाल्न नसकिने किसानहरू बताउँछन् । ‘भेडा मौसमअनुसार हिँड्नैपर्छ,’ आठ सय भेडासहित औल झर्दै गरेका किसान सिंहरुप बोहोरा भन्छन्, ‘लेकमा ऊन निकाल्छौं। ऊन काटिसकेपछि औलमा झर्दा भेडा न्यानो रहन्छ।’  

उनीहरूका लागि लेक केवल चरन क्षेत्र मात्र होइन, ऊन संकलनको मुख्य समय र स्थल पनि हो। ऊनबाट राडीपाखी बनाई बेच्दा राम्रो आम्दानी हुन्छ । तर यो पेशा मेहनत र जोखिमबाट भरिएको छ। हिमालको चिसो र तराईको ताप, दुवै भेट्नुपर्ने यही सिलसिलाले भेडापालकको जीवन सधैं यात्रामै बित्छ।  

‘कहिले हिमाल, कहिले तराई पुग्नुपर्छ। परिवार, चाडपर्व भन्नु हुँदैन,’ अर्का किसान भादरे बोहोरा भन्छन्। उनका अनुसार युवापुस्ताले यस्ता कठिनाइ देखेर यो पेशातिर आकर्षण कम गर्दै गएका छन्। उनले भने, ‘आम्दानी राम्रै हुन्छ, वर्षमा ५ -७ लाखसम्म आउँछ। तर कठिनाइले पेशा नै संकटमा परेको हो।’  

भेडा अत्यधिक चिसो र अत्यधिक गर्मी दुवै सहन नसक्ने भएकाले गोठस्थान निरन्तर परिवर्तन गर्नुपर्ने बाध्यता छ। जाडो सुरु हुनेबित्तिकै जुम्ला, मुगु, डोल्पाका पाटन हिउँले ढाकिन थाल्छन्। त्यसपछि गोठाला परिवारसहित औल झर्ने लामो यात्रा आरम्भ हुन्छ,जुन वैशाख सकिने बेलासम्म मात्र फर्कन्छ। हिउँदभरि गोठाला परिवार, भेडा र गोठालाका कुकुर लिएर औलका बस्तीमा बस्छन्। यात्रा कठिन भए पनि पिढी दर पिढी चल्दै आएको यही चक्रमा उनीहरूको जीवन टिकेको छ।  

पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाका अनुसार जिल्लामा करिब ८८ हजार भेडा र ४६ हजार ३ सय ६ बाख्रा छन्। करिब ६९ हजार हेक्टर चरन क्षेत्र रहे पनि हिउँदमा अधिकांश क्षेत्र अवरुद्ध हुने भएकाले गोठ स्थानान्तरण अनिवार्य बन्छ। जुम्लाका यी भेडापालकको वार्षिक यात्रा केवल चरन खोज्ने कथा मात्र होइन। यो पहाडी जनजीवन, संस्कृतिको निरन्तरता र प्रतिकूल भौगोलिक अवस्थासँगको अदम्य सहनशीलताको जीवित दस्तावेज हो। प्रकृतिसँगको सहयात्रामा बाँधिएको यही पेशाले जति कष्ट दिन्छ, उतिनै पहिचान र गर्व पनि बोक्छ ।  

त्यसैले भेडापालकको जीवन हिमालको अँगालोमा सुरु भएर तराईको रापिलो घामसँग जोडिन्छन् ।

प्रकाशित: १२ मंसिर २०८२ १६:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App