मदन भण्डारी लोकमार्ग ६२ मिटर चौडा बनाइने चर्चा पछि घरजग्गा कारोबार प्रभावित बनेको अवस्थामा त्रियुगा नगरपालिकाले नगरवासीलाई राहत दिने निर्णय गरेको छ। नगरप्रमुख बसन्त बस्नेतले बुधबार सार्वजनिक सूचना जारी गर्दै नगर क्षेत्रभित्र पर्ने मदन भण्डारी लोकमार्गलाई हालका लागि सहायक मार्ग मानी केन्द्ररेखाबाट दायाँ–बायाँ १५–१५ मिटर गरी ३० मिटर सीमा कायम गर्ने निर्णय भएको जानकारी दिएका हुन्।
केही दिनअघि बसेको ६२औँ नगरकार्यपालिका बैठकले साविक धरान–चतरा–गाईघाट–कटारी–सिन्धुली–हेटौंडा सडकखण्डलाई सहायक मार्गका रूपमा कायम राख्ने निर्णय गरेको सूचनामा उल्लेख छ। नगरपालिकाले ६२ मिटरको मापदण्ड लागू भए गाईघाटसहित विभिन्न बजारका हजारौँ घरटहरा प्रभावित हुने भएकाले हाललाई पुरानै मापदण्डलाई निरन्तरता दिइएको जनाएको छ।
सूचनामा सडक ऐन, २०३१ अनुसार सडक सीमा नेपाल सरकारले राजपत्रमार्फत तोक्ने व्यवस्था रहेको र भौगोलिक अवस्था तथा बस्तीका आधारमा एउटै सडकको सीमा फरक–फरक हुन सक्ने कानुनी व्यवस्था पनि उल्लेख गरिएको छ। सरकारले भविष्यमा राजपत्रमार्फत ६२ मिटर वा ३० मिटर जुन मापदण्ड तोके पनि सोहीअनुसार कार्यान्वयन गरिने नगरपालिकाले स्पष्ट पारेको छ। नयाँ राजपत्र नआएसम्म भने पुरानै ३० मिटरको सीमा कायम रहने र सोही आधारमा कित्ताकाट, नामसारी तथा किनबेचका काम गर्न सम्बन्धित निकायलाई जानकारी गराइएको छ।
नगरपालिकाको निर्णयसँगै बिहीबारदेखि नगर क्षेत्रभित्र रोकिएको घरजग्गा किनबेच तथा अन्य कारोबार पुनः सञ्चालन हुने भएको छ।
गत चैत १३ गते दुईतिहाइ बहुमतसहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकार गठन भएपछि मदन भण्डारी लोकमार्ग ६२ मिटरमा विस्तार गर्ने सडक विभागको पत्र सार्वजनिक भएको थियो। त्यसपछि बजार क्षेत्रको घरजग्गा किनबेच, धितो र प्रमाणीकरणका काम रोकिएका थिए। त्यही क्रममा माथिल्लो निकायको निर्देशन भन्दै स्थानीय सैनिक ब्यारेकमार्फत ऐलानी जग्गा र बस्तीको विवरण मागिएपछि स्थानीयमा थप त्रास फैलिएको थियो।
प्रकाशित: ७ श्रावण २०८३ १५:५५ बिहीबार





-600x400.jpg)