त्रियुगाको बाढीले फरकफरक सडकमा लगाइएको झण्डै ५० वटा ह्युमपाईप बगाएपछि यातायात आवागमन रोकिएको छ । बाढीले चौदण्डीगढी नगरपालिका ५ र ९ स्थित त्रियुगा नदीक्षेत्रमा लगाइएको ह्युमपाईप बगाउँदा यातायात आउजाउ अवरुद्ध भएको हो ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार चौदण्डीगढी नगरपालिका ५ को शिवाईदेखि बेल्ही जोड्ने सडक खण्डमा पर्ने त्रियुगा नदीमा यातायात सञ्चालन गर्न बिछ्याइएको ह्युमपाईप बगाएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी केदारमान दोङले बताए । उनका अनुसार शुक्रबार बिहानदेखि शनिबार दिउँसोसम्म पालैपाली बाढीले ह्युमपाईप बगाएपछि सडक स्वतः अवरुद्ध हुन पुगेको छ ।
सडक खण्डमा पर्ने नदी क्षेत्रमा अस्थायी बाटो बनाएर वर्षायाममा काम चलाऊ आउजाउ गर्न लगाइएको २२ वटा ह्युमपाईप सबै बगाई लगेको प्रहरीले जनाएको छ । चौदण्डीगढीकै ९ नं. वडाको ज्यामिरेदेखि १० नं. हडिया जोड्ने अर्को सडक खण्ड अन्गर्त त्रियुगा नदीक्षेत्रमै लगाइएको ह्युमपाईप पनि बगाएको छ । सो खण्डमा लगाइएको २६ वटा ह्युमपाईप बाढीले बगाएको डिएसपी दोङले बताएका छन् ।
ह्युमपाईप बाढीले बगाएपछि अघिल्लो दिनदेखि नै दुवै सडकमा गाडी आउजाउ बन्द भएको छ । सडक अवरुद्ध भएका कारण ५ नं. वडा र १० नं. वडाबासी स्थानीयलाई चौदण्डीगढी नगर मुकाम बेलटार जाने नाका बन्द भएको १० नं. का पूर्व वडाध्यक्ष रामकुमार खड्काले बताए । उता शिवाई–बेल्ही खण्डको ह्युमपाईप बगाउँदा ५ नं. वडाका शिवाई र बेल्हीबासीलाई पनि बेलटार आउजाउ गर्ने बाटो रोकिएको छ ।
ह्युमपाईप बगाएपछि शिवाई–बेल्ही तथा ज्यामिरे–हडिया सडकमा रोकिएको यातायात सेवा तत्काल सुचारु हुने कुनै सम्भावना नरहेको स्थानीय बताउँछन् । कति ह्युमपाईप बगाएको तथा कति बालुवाले पुरेको अनुमान स्थानीयले गरेका छन् । तर, पुरे पनि बगाए पनि ह्युमपाईप भेट्ने संभावना पनि नरहेको उनीहरुको भनाई छ ।
शुक्रबार केही थान मात्र बगाएको ह्युम पाईप खोजी गर्ने तयारी भईरहदा रातभर र बिहानदेखि वर्षा नरोकिएपछि थप बाढीले अरु ह्युमपाईप पनि बगाएको हो । दुवै रुटमा गाडी सुचारु गर्न निकै लगानी र समय लाग्ने यातायात व्यवसायीहरुको भनाई यछ ।
यता त्रियुगा नगरपालिका १ र २ नं. वडाभित्रका जोगीदह र खैजनपुरमा पर्ने त्रियुगा नदीक्षेत्रमा पनि पानीको सतह बढेर यातायात सेवा अवरुद्ध भएको छ । सदरमुकाम गाईघाटदेखि खैजनपुर, जोगीदह हुँदै हडिया, बेलटार र सप्तरीको फत्तेपुर बजार जोड्ने गाईघाट–मोतिगडा–हडिया–बेलटार सडक र गाईघाट–फत्तेपुर सडकहरु बाढीले कामै नलाग्ने बनाईदिएको छ ।
सो रुटमा त्रियुगा, कङ, लुहाले तथा ठाडी खोलाहरु पर्ने र खोला क्षेत्रमा लगाइएको काम चलाऊ सडक बाढीले बिगार्नुका साथै पानीको सतह बढेपछि यातायात आउजाउमा समस्या भएको हो । त्रियुगा नगरपालिकाले अविरल वर्षाले निरन्तर क्षति गरिरहेको खवर आएको पुष्टि गर्दै सडकहरु मर्मत गर्न पनि वर्षा नै बाधक भएको जनाएको छ ।
प्रकाशित: १५ कार्तिक २०८२ २०:४९ शनिबार





