२९ असार २०८३ सोमबार
image/svg+xml
समाज

सर्भर डाउन हुँदा यातायात कार्यालयको सेवा ठप्प, सेवाग्राही मर्कामा

केन्द्रीय सर्भर पाँच दिनदेखि अवरुद्ध हुँदा यातायात व्यवस्था कार्यालय चितवनबाट प्रदान हुने सवारी चालक अनुमतिपत्र (लाइसेन्स) सम्बन्धी सेवा प्रभावित भएको छ। नयाँ लाइसेन्स र नवीकरण लगायतका अधिकांश सेवा ठप्प भएपछि सेवाग्राहीले सास्ती खेप्नुपरेको छ।

बिहीबारदेखि सर्भर सञ्चालन नियमित नहुँदा काम हुन नसकेको कार्यालयले जानकारी दिएको छ। काम नहुँदा सेवा लिन बिहानैदेखि पुगेका सेवाग्राही दिनभर कुरेर पनि रित्तै फर्किन बाध्य भएका छन्। यातायात व्यवस्था कार्यालय चितवनका प्रमुख अमृत अधिकारीले केन्द्रीय प्रणालीमै समस्या आएका कारण कार्यालयबाट सेवा दिन नसकिएको बताए। 

‘चार दिनदेखि केन्द्रबाटै सर्भर डाउन भएको छ। आज पनि सञ्चालनमा आएको छैन,’ उनले भने, ‘हाम्रो कार्यालयको समस्या होइन, केन्द्रकै प्रणालीमा आएको अवरोधका कारण सेवाग्राहीले दुःख पाएका छन्।’ उनका अनुसार हिजो आइतबार केही समय सर्भर खुलेको थियो। यद्यपि बिदाका कारण काम हुन सकेन।

असार मसान्तमा सवारी कर, लाइसेन्स नवीकरण र अन्य प्रशासनिक कामका लागि सेवाग्राहीको चाप बढ्ने समयमै सर्भर अवरुद्ध हुँदा समस्या झन् बढेको कार्यालयको भनाइ छ।

उता सेवाग्राहीबिच भने साउन १ गतेदेखि सवारीसम्बन्धी कर तथा शुल्क बढ्ने चर्चासँग जोडेर विभिन्न अड्कलबाजी भइरहेको छ। केही सेवाग्राहीले कर वृद्धि लागू हुनुअघि जानाजानी सर्भर बन्द गरिएको हुन सक्ने राजेन्द्र ढुंगानाले बताए। 

सर्भर कहिलेदेखि सञ्चालनमा आउने भन्नेबारे केन्द्रबाट कुनै स्पष्ट जानकारी नआएको कार्यालयले जनाएको छ। ‘हामीले सूचना निकालेर सेवा बन्दको घोषणा पनि गर्न सकेका छैनौँ,’ उनले भने, ‘यहाँ सेवाग्राहीको चाप थेगिनसक्नु छ।’

प्रकाशित: २९ असार २०८३ १०:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App