३२ असार २०८३ बिहीबार
image/svg+xml
समाज

ढोका थुनेर ऐन, कानुन नबनाउन यातायात व्यवसायीको चेतावनी

सरकारले चर्को जरिवाना शुल्क तोकेर यातायात सञ्चालन सम्बन्धी ऐन बनाउने तयारी गरेपछि यातायात व्यवसायीहरू रुष्ट बनेका छन्।

ट्राफिक नियम उलङ्घनकर्तालाई ५ हजारदेखि एक लाखसम्म जरिवाना शुल्क लिने गरी यातायात सञ्चालनसम्बन्धी विधेयकको मस्यौदा तयार भएपछि उनीहरू झस्किएका हुन्।

त्यसलाई सुधार्नका लागि प्रधानमन्त्री बालेन्द्र साहसँग नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले भेट्न गरेको प्रयासले सार्थकता नपाएपछि उनीहरू थप आक्रोशित भएका छन्।

महासंघ गण्डकी प्रदेशले आइतबार पोखरामा आयोजना गरेको सम्मान तथा बधाई ज्ञापन कार्यक्रममा सहभागी यातायात व्यवसायीले सो मस्यौदाको खुलेर विरोध गरे। कार्यक्रममा बोल्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष पूण्यप्रसाद सिटौला (सरोज)ले यातायात क्षेत्रसम्बन्धी ऐन आफूहरूको सहमति बिना नबनाउन चेतावनी दिए।

प्रधानमन्त्रीलाई भेट्न गरेको बारम्बारको प्रयास सफल नभएको बताउँदै उनले भने ,‘यातायात सम्बन्धी ऐन, कानुन ढोका थुनेर नबनाउन आग्रह गर्दछु।’

उनले यसअघिका सरकारसँग भएको सहमति र तिनले दिएको प्रतिवेदनका आधारमा यातायात क्षेत्र सुधार्न सकिने बताए। यसअघिका भौतिक पूर्वाधार मन्त्री नारायणकाजी श्रेष्ठको पालामा एक वर्ष लगाएर प्रतिवेदन बनेको बताउँदै उनले थपे,‘त्यो प्रतिवेदन कार्यान्वयन हुने हो भने हाम्रो यातायात क्षेत्र कायापलट हुन्छ, अरू केही गर्नै पर्दैन।’

महासंघका द्वितीय वरिष्ठ उपाध्यक्ष ऐनकुमार साईले चर्को जरिवाना लिनु जनतामाथिको ज्यादती हुने बताए। उनले भने,‘पहिले सडक पूर्वाधार बनाउनुपर्छ, त्यसपछि जनताको आम्दानी बढाएर जीवनस्तर उकासेपछि मात्रै यति धेरै जरिवाना लगाउनुहोला, नत्र अहिलेको अवस्थामा तिर्ने अवस्था छैन।’

महासंघका तृतीय उपाध्यक्ष केदार पौडेलले व्यवसायीसँग छलफल नै नगरी चर्को शुल्क लिने निर्णय भए मान्य नहुने चेतावनी दिए। उनले भने,‘तिर्नै नसक्ने चर्को शुल्क मान्य हुनेछैन।’

महासंघ गण्डकी प्रदेश अध्यक्ष महेशबहादुर थापाले गाडीको मूल्यभन्दा जरिवाना बढी लिने गरी ऐन बन्न लागेको हल्लाले यातायात व्यवसायीहरू त्रसित बनेको बताए। ‘यो नेपालीले तिर्न सक्ने खालको छैन’,उनले भने,‘यही कारण भोलि फेरी अर्को गणेश नेपाली घटना नदोहोरियोस्।’

महासंघ ट्याक्सीका वर्गीय संयोजक प्रकाशमणी तिवारीले चर्को शुल्क लिँदैमा ट्राफिक नियम लागु हुन्छ भन्नु शासकको भ्रम मात्र भएको टिप्पणी गरे। महासंघ गण्डकीका सचिव अर्जुन पौडेलले व्यवसायीका कुरा सुनेर देश सुहाउँदो ऐन, कानुन बनाएर कार्यान्वयन गर्न आग्रह गरे। अन्यथा चर्को शुल्क लागु गरे त्यो मान्य नहुने उनको चेतावनी थियो।

कार्यक्रममा गण्डकी प्रदेशबाट नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघमा निर्वाचितहरूलाई बधाई तथा सम्मान गरिएको थियो भने प्रदेशका कार्यसमिति सदस्यमा मनोनयन भएकाहरूलाई शपथ खुवाइएको थियो।

प्रकाशित: २८ असार २०८३ १६:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App