१७ जेष्ठ २०८३ आइतबार
image/svg+xml
समाज

हावाहुरीले ध्वस्त बनायो तिलाको ज्योति मावि

तस्बिर : प्रअ मोतिराम बुढा

जुम्लाको तिला गाउँपालिका–९ स्थित राँसामालापानीमा रहेका ज्योति माध्यमिक विद्यालय हावाहुरीको कारण शुक्रबार भग्नावशेषमा अवस्थामा परिणत भएको छ। हावाहुरीले विद्यायल भत्काएपछि त्यहाँ अध्ययनरक्त विद्यार्थीको पठनपाठनमा प्रत्यक्ष प्रभाव पर्ने भएको छ। 

हावाहुरीले ज्योती माविको छाना उडाउनुको साथै काठले बनेको अधिकाशं संरचना ढलेको छ भने कक्षाकोठा भताभुङग बनाएको छ। जसको कारण विद्यार्थीको पठनपाठनका सामग्री भग्नावशेषमा पुरिएको छ। 

शुक्रबार आएको हावाहुरी पश्चात् विद्यालयमा जडान गरिएको सौर्य ऊर्जा प्रणाली पूर्णरूपमा प्रभावित भएपछि विद्यालयमा विद्युत आपुर्ति ठप्प भएको छ। शुक्रबार दिउँसोसम्म विद्यालयमा विद्यार्थीको चहलपहल भएपनि साझ आएको हावाहुरीपछि विद्यालय परिसरमा सन्नाटा छाएको छ भने विद्यार्थीसगैं शिक्षक, अभिभावक पनि विद्यालयको अवस्थाप्रति चिन्तित छन्।  

स्थानीय हरिबहादुर थापाका अनुसार ज्योती मावि एक विद्यालय मात्रै नभएर गाउँ र त्यहा भएका बालबालिकाको आशा र भविष्य थियो। दुर्गम ठाउँमा  अभाव र संघर्षका बिचमा छोराछोरीलाई पढाउन खोज्ने अभिभावकका लागि ज्योति मावि उनीहरुको उज्यालो भविष्यको भरोसा थियो। थापा भन्छन,‘ प्राकृतिक विपत्तिले हाम्रो भरोसामाथि नै निर्मम प्रहार गरेको छ।’   

ज्योति माविका प्रधानाध्यापक मोतिराम बुढाका अनुसार हावाहुरीपछि विद्यालय परिसर हेर्न सकिने अवस्थामा छैन। ‘केही दिनअघिसम्म यही आँगनमा बालबालिका हाँसिरहेका थिए, पढिरहेका थिए। आज त्यही ठाउँमा पीडाको सन्नाटा छ,’ उनले भने। शुक्रबारको हावाहुरीपछि विद्यालयमा ८ देखि १० लाखसम्म क्षति भएको प्रधानाध्यापको बताएका छन्।  

विद्यालयका शिक्षकहरूका अनुसार उक्त विपत्तिले विद्यालयको भवन मात्रै ढालेको छैन, त्यहाँको विद्यार्थीको मनोबल समेत कमजोर बनाइदिएको छ । कतिपय विद्यार्थी विद्यालय ध्वस्त भएपछि  भावुक बनेका छन्। 

विद्युतको विस्तार हुन नसक्दा  विद्यालयमा रहेको सौर्य ऊर्जा प्रणालीबाट विद्यालयमा उर्जाको आपुर्ति सहज भएपनि हावाहुरी पछि सौर्य उर्जा नष्ट हु्दाँ पठनपाठन सञ्चालन गर्न कठिन भएको छ। 

अभिभावक भन्छन्, ‘हामीसँग धेरै स्रोत छैन। तर यही विद्यालय मार्फत छोराछोरीको भविष्य बदलिन्छ भन्ने आशा थियो। आज त्यो आशामाथि नै आँधी चलेको छ।’  लामो समयको संघर्ष, स्थानीयको श्रमदान, अभिभावकको पसिना र समुदायको सहयोगबाट निर्माण गरिएको विद्यालय प्राकृतिक विपत्तीको कारण भग्नावशेषमा परिणत भएपछि अभिभावकहरु थप चिन्तित बनेका हुन्।

हावाहुरीबाट विद्यालय भग्नावशेष भएपछि विद्यालय व्यवस्थापनले नेपाल सरकार, कर्णाली प्रदेश सरकार, स्थानीय तह, शिक्षा विकास तथा समन्वय इकाई, विभिन्न संघसंस्था, समाजसेवी तथा देश–विदेशमा रहेका सहयोगी नेपालीहरूसँग विद्यालय पुनर्निर्माण, छाना व्यवस्थापन, फर्निचर तथा सौर्य ऊर्जा पुनःस्थापनाका लागि सहयोगको अपिल गरेको छ।  

‘विद्यालय ढल्नु भनेको एउटा भवन ढल्नु मात्रै होइन, भोलिको पुस्ताको सपनामाथि आँधी चल्नु हो,’ विद्यालयले विज्ञप्तिमा उल्लेख गरेको छ। विद्यालयलाई पुनः निमार्ण गर्न र त्यसको लागी सबैको साथ, सहयोग र ऐक्यबद्धताले हुनेमा विद्यालयको परिवारको विश्वास राखेको छ। 

प्रकाशित: ९ जेष्ठ २०८३ ११:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App