१ भाद्र २०८३ सोमबार
image/svg+xml
समाज

दाहसंस्कार स्थलमा तीन किशोरको सम्झना

सुनसरी देवानगन्ज -३ कप्तानगन्ज बजारको पश्चिमतर्फ माटोको सानो ढिस्को अहिले तीन युवाको सम्झनास्थल बनेको छ। चोकमै राखिएको ब्यानरमा उनीहरूको तस्बिरसँगै श्रद्धाञ्जली लेखेर टाँसिएको छ। साउन १० गते दुई पक्षबिच भएको झडपले हिंसात्मक रूप लिँदा ज्यान गुमाएका २५ वर्षीय ओमप्रकाश मेहता, २१ वर्षीय जयप्रकाश मेहता र १९ वर्षीय रवीन्द्र मेहताको अन्तिम संस्कार यही स्थानमा गरिएको थियो।

अन्त्येष्टि सकिएपछि त्यसको संकेतस्वरूप सानो माटोको ढिस्को उठाइएको छ। उत्तरदेखि दक्षिणतर्फ एउटै लहरमा रहेका ती ढिस्कोमा क्रमशः ओमप्रकाश, जयप्रकाश र रवीन्द्रको शव जलाएको संकेत मानेर पूजा गर्ने गरिएको छ। त्यही स्थानमा पुगेर रवीन्द्रका दिदीहरू मालतीकुमारी, शान्तिकुमारी र बहिनी प्रीतिकुमारीले आइतबार पाँचौं दिन पूजा गरे। उनीहरूले रवीन्द्रको आत्माले वैकुण्ठ बास पाओस् भन्ने कामना गर्दै मुठी उठाएर भने, ‘सहिद रवीन्द्रको जय होस्।’

रवीन्द्रका हजुरबुबा ८८ वर्षीय संविधानसभा सदस्य मुगालाल मेहता पनि त्यहीं थिए। उनले परिवारको पीडा सुनाउँदै भने, ‘भतिजाको एउटै छोरा पनि सधैंका लागि बिदा भयो। भतिजा र बुहारीले अर्को छोरा जन्माउन सक्ने अवस्था पनि छैन।’

रवीन्द्रका बाबुआमा विजयकुमार र विमला पुत्रवियोगले सम्हालिन सकेका छैनन्। उनीहरू जतिखेर पनि टोलाएको देखिन्छ। ‘बुबाआमालाई पटकपटक सम्झायौं, तर दाजुको यादले चिन्तामै हुनुहुन्छ’, रवीन्द्रकी बहिनी प्रीतिले भनिन्।

उनका अनुसार रवीन्द्र दिदीबहिनीलाई माया गर्थे। ‘अब मलाई कसले माया गर्छ? भएको एउटा दाजु पनि गुमाउनुपर्‍यो’, उनले भनिन्। झडप भएको खबर सुनेपछि घर आएका रवीन्द्र घटनास्थल हेर्न गएका थिए।

रवीन्द्रका हजुरबुबा मुगाललाई २००७ सालयताका सबै घटनाक्रम याद छ। कप्तानगन्जमा पहिलोपटक जातीय ढंगले झडप भएर हिंसात्मक रूप लिएको हो। ‘घटनालाई भड्काउनेमा बाहिरका मान्छेहरू पनि होलान्। गाउँका त हुने नै भए। दोषीलाई पक्राउ गरेर कारबाही गर्नुपर्नेमा प्रहरी प्रशासनले जुन सक्रियता देखाउनुपर्ने हो, त्यो नदेखाउँदा फेरि पनि समस्या निम्तिन सक्ने खतरा छ।’

उनका अनुसार कप्तानगन्ज घटना खास गरेर हिन्दु र मुस्लिम दुई समूहमा विभाजन भएर भए पनि इमानदार मुस्लिमलाई पनि यतिबेला मार परेको छ। साउन १० गते राति घटनापछि कप्तानगन्ज बजार क्षेत्रमा लामो समय आन्दोलन भयो। पछिल्लो पटक साउन २७ गते रवीन्द्रको अन्तिम दाहसंस्कार भएपछि मात्र स्थानीयले आन्दोलन रोके।

देवानगन्ज घटनामा मृत्यु भएका ओमप्रकाश, जयप्रकाश र रवीन्द्रलाई सरकारले साउन २६ गते सहिद घोषणा गरेको थियो। गृहमन्त्री सुदन गुरुङले पहिलोपल्ट साउन १४ गते राति र दोस्रोपटक साउन २५ गते राति रवीन्द्रका आफन्तसँग घटनामा मृत्यु भएका परिवारलाई सहिद घोषणासँगै मृतकलाई प्रतिपरिवार १० लाख रुपैयाँका दरले राहत उपलब्ध गराउने, घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्ने तथा परिवारका एकएक जना सदस्यलाई रोजगारीको अवसर दिने सहमति भएको थियो।

आन्दोलन रोकिए पनि कप्तानगन्ज बजार क्षेत्रको चहलपहल फर्किन सकेको छैन। बजार खुलेको चार दिन भए पनि ग्राहक न्यून संख्यामा आउने गरेका छन्। स्थानीय होटल व्यवसायी चाँदनी शर्माका अनुसार सामानसमेत पर्याप्त राख्न छाडिएको छ। ‘पहिले बजारमा भीड हुन्थ्यो। अहिले फाट्टफुट्ट मात्र मानिस आउँछन्’, उनले भनिन्।

सोही ठाउँका ७२ वर्षीय महेषप्रसाद यादवलाई बजार सुनसान लाग्छ। पहिले हिन्दु र मुस्लिम समुदायका मानिसको समान सहभागिता हुने कप्तानगन्ज बजार अहिले विभाजितजस्तो देखिएको छ। ‘हिन्दु समुदाय बजारमा फाट्टफुट्ट आउँछन्, तर मुस्लिम समुदायका त दुई÷चारजना आक्कलझुक्कल आउँछन्।’

दुई वर्षअघिसम्म कप्तानगन्ज पशु बजारका लागि परिचित थियो। पशु बजार हटेपछि तरकारी बजारले यसको पहिचान कायम राखेको थियो तर पछिल्लो हिंसात्मक घटनाले बजारको सामाजिक र आर्थिक गतिविधिमा असर परेको मनोज किराना पसल सञ्चालक मनोज मेहताले भने। ‘अब बजारको पुरानो नाम र पहिचान हराउने हो कि भन्ने चिन्ता छ’, मनोजले भने।

घटनापछि मुस्लिम समुदायका धेरै मानिस बजार आउन छाडेका छन्। केही सीमित व्यक्ति मात्र आउने गरेका छन्। मुस्लिम बस्तीका मानिसहरूको भेटघाटका लागि अयुब मियाँले भर्खरै चियापसल सञ्चालन गरेका छन्। त्यही पसलमा मुस्लिम समुदायका मानिस भेला भएर कुराकानी गर्छन्। ‘हामी पहिलाजस्तै भाइचाराको वातावरण चाहन्छौं’, मुस्लिम बस्तीका अगुवा जैयर मियाँ भन्छन्। तर दुई समुदायबिचको दूरी घटाउन प्रभावकारी पहल हुन सकेको छैन।

दुवै समुदायका मानिस अझै निर्धक्कसँग हिँडडुल गर्दैनन्। कतिसम्म भने घाँस काट्न जाँदा पनि दुवै समुदायलाई अझै मनमा त्रास रहेको महेशप्रसादले बताए। ‘मुस्लिम समुदायका महिलाले हिन्दु पक्षको खेतमा घाँस काटेको विषयमा सामान्य विवाद भइरहेको छ’, उनले भने, ‘खेतमा जाँदा मुस्लिम पनि हिन्दुको खेत भएर जानुपर्छ र हिन्दु पनि मुस्लिमको खेतबाट आउजाउ गर्नुपर्छ।’ यतिबेला यही विषयमा विवाद हुन थालेको छ।

‘यस्ता सामान्य कुरामा विवाद हुन थालेपछि अब कसरी दैनिकी चल्छ?’, उनले हात जोड्दै भने, ‘यो सहज वातावरण होस्।’ एकातिर हिन्दु समुदायभित्र तीन जना किशोरको मृत्युले आफन्त सम्हालिन सकेका छैनन्। अर्कातिर मुस्लिम समुदायका व्यक्ति पनि रातभर त्रासमा छन्।

प्रकाशित: १ भाद्र २०८३ ०७:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App