नवलपरासीमा सामाजिक सञ्जालमा घरायसी विवादको एउटा भिडियो भाइरल भएपछि प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार पक्राउ पर्नेमा पाल्हीनन्दन गाउँपालिका-५ विष्णुपुराका ४८ वर्षीय विनोद गुप्ता, २४ वर्षीय सिद्धेश्वर गुप्ता र २७ वर्षीय अजय गुप्ता रहेका छन्।
प्रहरीका अनुसार बुधबार बिहान करिब १० बजे उनीहरूले सोही ठाउँकी ४६ वर्षीया सावित्री देवी गुप्ता र उनकी २३ वर्षीया छोरी पूजा कुमारी गुप्तामाथि घरायसी विवादका क्रममा लाठी तथा भाटाले कुटपिट गरेका थिए।
उक्त घटनाको भिडियो सामाजिक सञ्जालमा पोस्ट भएपछि भाइरल भएको थियो। भिडियो भाइरल भएपछि प्रहरीले घटनाबारे तत्काल अनुसन्धान अघि बढाएको थियो।
प्रहरीले पीडित पूजा कुमारी गुप्ताको जाहेरीका आधारमा अभद्र व्यवहारसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी तीनै जनालाई पक्राउ गरेको जनाएको छ।
पक्राउ परेका तीनै जनालाई बुधबारदेखि लागु हुनेगरी जिल्ला प्रशासन कार्यालयबाट सात दिनको म्याद थप गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रकाशित: २७ कार्तिक २०८३ १५:२३ शुक्रबार





