२७ आश्विन २०८३ मंगलबार
image/svg+xml
समाज

बुढीगण्डकी बाढीपछि यो सडक पूर्ण अवरुद्ध, यी हुन् एकतर्फी सञ्चालनमा रहेका सडक

गोरखामा हिमपहिरोपछि बुढीगण्डकी नदीमा आएको बाढीले दुई वटा पक्की पुल बगाएपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। अन्य जिल्लाका केही सडक भने एकतर्फी सञ्चालनमा आएका छन्।

नेपाल प्रहरीका अनुसार सोमबार बिहान ६ बजेसम्म गोरखाको आरुघाट गाउँपालिका-२ र ३ जोड्ने सोतीमा रहेको फलामे मोटरेबल पक्की पुल र आरुघाट गाउँपालिका-९ बाट धादिङ जोड्ने पक्की पुल बगाएपछि सडक अवरुद्ध भएको हो।

आइतबार बिहान ५:३० बजे गोरखाको चुमनुब्री गाउँपालिका-६ स्थित लोक्पा र चुम्लिङको बिचमा रहेको सिरिङ्गे हिमालमा हिमपहिरो गएको थियो। त्यसपछि स्थानीय उइनगुलुङ खोला थुनिएर बुढीगण्डकी नदीमा बाढी आएको थियो। सोही बाढीले दुई वटा पुल बगाएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार धादिङको धुनिबेसी नगरपालिका-९ खत्रीपौवामा पहिरोका कारण अवरुद्ध पृथ्वी राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ।

यस्तै, म्याग्दीको रघुगंगा गाउँपालिका-२ बैसरीमा पहिरोका कारण अवरुद्ध बेनी-जोमसोम सडक खण्ड पनि एकतर्फी सञ्चालनमा आएको छ।

नवलपरासी पूर्वको बौदीकाली गाउँपालिका-३ जन्तीमा पहिरोका कारण अवरुद्ध कालीगण्डकी करिडोर पनि एकतर्फी सञ्चालनमा आएको छ। उक्त सडकमा भने ठुला गाडी चल्न नसक्ने प्रहरीले जनाएको छ।

मनाङमा बेसीसहर हुँदै खाङसारसम्म जाने सडक पनि एकतर्फी सञ्चालनमा रहेको छ।

प्रकाशित: २६ आश्विन २०८३ ०७:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App