दक्षिण कोरियाको प्रतिष्ठित विश्वविद्यालयबाट सिभिल इन्जिनियरिङमा विद्यावारिधि (पीएचडी) हासिल गरेका एक युवा वैज्ञानिक यतिबेला नेपालमै बसेर ‘डिजिटल क्रान्ति’ को नेतृत्व गरिरहेका छन्।
विद्यावारिधि पश्चात् युरोप, अमेरिका वा कोरियामै उच्च सुविधासहितको प्राज्ञिक जीवन रोज्न सक्ने विकल्पलाई थाँती राख्दै स्वदेश फर्किएका डा. बिवेक तामाङले सूचना प्रविधिलाई भाषा शिक्षणसँग जोडेर वृहत् ‘एडटेक’ कम्पनी खडा गरेका हुन्।
उनले स्थापना गरेको ‘लर्न कोरियन वीथ बिवेक’ (एलकेडब्लुबी) नामक प्लेटफर्ममार्फत हालसम्म दक्षिण कोरियामा कार्यरत तीन हजारभन्दा बढी नेपाली कामदार तथा विद्यार्थीले आफ्नो भिसालाई उच्च तहमा रूपान्तरण गरिसकेका छन्।
सामान्यतया भाषा सिकाएर विदेश पठाउने परम्परागत इन्स्टिच्युटहरूको भीडमा डा. तामाङको नवप्रवर्तनात्मक कदम नितान्त फरक छ। उनले वैदेशिक रोजगारी वा अध्ययनका लागि कोरिया पुगिसकेका नेपालीहरूको वृत्ति विकास, कानुनी हैसियत स्तरोन्नति र दिगो भविष्यका लागि नेपालबाटै अनलाइनमार्फत प्राविधिक र भाषिक कक्षा सञ्चालन गरिरहेका छन्।
सुनौलो शैक्षिक जग र इन्जिनियरिङको पाइला
बिवेकको सफलताको कथा उनको विद्यालय जीवनबाटै सुरु हुन्छ। नेपाल पुलिस स्कुल, साँगामा अध्ययन गर्दा उनले २०६५ सालको एसएलसी परीक्षामा करिब १२० जना विद्यार्थीमध्ये प्रथम स्थान हासिल गर्दै ‘गोल्ड मेडल’ प्राप्त गरे।
तत्कालीन गृहमन्त्री भीम रावलबाट स्वर्ण पदक थाप्दा उनले सायदै सोचेका थिए कि उनको भविष्य इन्जिनियरिङका नक्साहरूमा मात्र सीमित हुने छैन।
कान्तिपुर इन्जिनियरिङ कलेजबाट सिभिल इन्जिनियरिङमा स्नातक पूरा गरेपछि उनले केही समय त्यहीँ पढाए। तर, अध्ययनको तिर्खा अझै मेटिएको थिएन। यसै क्रममा, उनले दक्षिण कोरियाको ‘जियोटेक्निकल इन्जिनियरिङ’ विधामा पूर्ण छात्रवृत्ति पाए र सन् २०१७ मा कोरिया प्रस्थान गरे।
दक्षिण कोरियामा बिवेकले केवल किताबी ज्ञान मात्र लिएनन्, त्यहाँको भाषा र संस्कृतिलाई पनि आफ्नो बनाए। उनका कोरियन प्रोफेसरले उनलाई कोरियन भाषा सिक्न प्रोत्साहन मात्र गरेनन्, लगानी समेत गरिदिए।
बिवेकले डेढ वर्षसम्म कोरियन भाषाको गहन अध्ययन गरे। नतिजास्वरूप उनले कोरियन भाषाको आधिकारिक परीक्षा ‘टोपिक’ मा उच्चतम तह ‘लेभल ६’ हासिल गरे। यो एक विदेशीका लागि नेटिभ स्पिकर (मातृभाषी) सरहको उपलब्धि हो।
सन् २०२२ मा आफ्नो पीएचडी र त्यसपछि पोस्ट-डक्टरल रिसर्च पूरा गर्दा बिवेक एक दक्ष इन्जिनियर मात्र नभइ एक कुशल भाषाविद् पनि बनिसकेका थिए। ‘मैले सन् २०२२ फेब्रुअरीमा आफ्नो पीएचडी सकेँ र त्यसपछि एक वर्ष जति त्यहीँ ‘पोस्ट डक्टरल रिसर्चर’ को रूपमा काम गरें।,’ उनले सम्झिए।
पीएचडी सकिने बेलातिरै उनलाई टिकटक र युट्युबमार्फत कोरियन भाषा सिकाउने सोच आएको थियो। ‘पीएचडीको थेसिस सकिने बित्तिकै मैले सामाजिक सञ्जालमा भाषा सिकाउन सुरु गरेँ र मानिसहरूले निकै मन पराइदिनुभयो,’ उनले भने।
अहिले उनी अनलाइन र फिजिकल दुवै माध्यमबाट कोरियन भाषा र कोरियामा पढ्न जान चाहने विद्यार्थीहरूलाई कन्सल्टिङ सेवा दिइरहेका छन्। ‘हाम्रो विशेषता के हो भने, अरूले कोरिया जानका लागि मात्र सिकाउँछन्, तर हामीले त्यहाँ गइसकेपछि आवश्यक पर्ने एडभान्स लेभलको भाषा पनि सिकाउँछौं,’ उनले नागरिकसँग भने।
‘लर्न कोरियन वीथ बिवेक’ को जन्म
धेरैका लागि पीएचडीपछि कोरियामै सेटल हुनु एउटा सहज विकल्प हुन्थ्यो। तर, बिवेकका लागि पारिवारिक जिम्मेवारी र आमाबुबाको सेवा प्राथमिक थियो। यसैले उनलाई नेपाल फर्कायो। नेपाल फर्किएपछि उनले फेरि कान्तिपुर इन्जिनियरिङ कलेजमै डेढ वर्ष प्रोफेसरको रूपमा काम गरे।
तर उनको मनमा एउटा नयाँ सोच पलायो, आफूले सिकेको कोरियन भाषा नेपाली युवाहरूलाई बाँड्ने। यही सोचका साथ उनले सामाजिक सञ्जालमार्फत् कोरियन भाषा पढाउन थाले। उनको सिकाउने शैली यति प्रभावकारी थियो कि छोटो समयमै उनी नेपाली विद्यार्थीहरूमाझ ‘लर्न कोरियन वीथ बिवेक’ को रूपमा लोकप्रिय बने।
नेपाल फर्किनुको मुख्य कारण पारिवारिक नै भएको खुलाउँदै उनले भने, ‘म एक्लो छोरो, घरको जिम्मेवारी, अनि आमाबुबा पनि बुढ्यौली लाग्नुभएकोले म फर्किएँ। सुरुमा म सधैँका लागि बस्छु भनेर गएको थिइनँ, केही समय बिदा मनाउन र घरको काम मिलाउन गएको थिएँ। तर यहाँ आएपछि घरव्यवहार, अनलाइन क्लास र इन्स्टिच्युटको काममा यति व्यस्त भएँ कि अब अन्त जानु पर्दैन जस्तो लाग्यो।’ आर्थिक, सामाजिक र मानसिक सबै हिसाबले अहिले आफूलाई नेपालमै ठीक लागिरहेको उनी बताउँछन्।
डिजिटल क्रान्ति र भिसा परिवर्तनमा ठुलो सहयोग
बिवेकको यात्रा केवल युट्युब भिडियोहरूमा मात्र सीमित छैन। उनले नेपालमै बसेर कोरियाली भाषा सिक्ने र परीक्षा दिने ‘लर्न कोरियन वीथ बिवेक’ नामक डिजिटल इकोसिस्टम निर्माण गरेका छन्।
आज यस वेबको आफ्नै मोबाइल एप छ। हजारौं विद्यार्थीले एकैपटक परीक्षा दिन मिल्ने युबिटी अनलाइन टेस्ट प्लेटफर्म सञ्चालनमा छन्।
उनले कोरियामा रहेका ई-९, डी-२ र डी-१० भिसावाहक विद्यार्थीहरूलाई ई-७-४, ई-७-४आर, एफ-२आर र एफ-५ भिसा प्राप्त गर्न आवश्यक पर्ने ‘किप’ का तहगत कक्षाहरू (तह ० देखि ५ सम्म) अनलाइन माध्यमबाट सञ्चालन गरिरहेका छन्।
त्यस्तै, डिपेन्डेन्ट भिसा (एफ ३) मा गएकाहरूका लागि समेत विशेष कक्षा सञ्चालन गर्दै उनले हालसम्म कोरियामा बसोबास गर्ने तीन हजार भन्दा बढी विद्यार्थीहरूलाई सफलतापूर्वक भिसा परिवर्तनमा प्रत्यक्ष सहयोग गरिसकेका छन्।
एउटा सिभिल इन्जिनियरले आफ्नो प्राविधिक ज्ञानलाई भाषा शिक्षणसँग जोडेर नेपालमै एउटा सफल ‘एडटेक’ कम्पनी खडा गरेका छन्।
बिवेकले केवल अक्षर मात्र सिकाउँदैनन्, उनी कोरियाको श्रम बजारको नालीबेली पनि बुझाउँछन्। दक्षिण कोरिया हाल सुपर एज्ड सोसाइटी (अति वृद्ध समाज) मा प्रवेश गरिसकेको छ। यो अवस्थाले नेपाली युवाहरूका लागि नयाँ ढोकाहरू खोलेको उनी बताउँछन्।
आफूले पढाएका विद्यार्थीहरूको प्रतिक्रिया निकै राम्रो रहेको र आफ्नो सिकाउने शैली अरूको भन्दा फरक तथा सजिलो भएको विद्यार्थीहरूले बताउने गरेको उनको भनाइ छ।
देशको अहिलेको अवस्था अलि जटिल भएको भन्दै उनले भने, ‘रोजगारीको अवसर नहुँदा मानिसहरू गैरकानुनी बाटोबाट भए पनि विदेशिन खोज्छन्। तर, म के भन्छु भने इपिएस एउटा यस्तो वैधानिक प्रणाली हो, जसबाट कोरियन भाषा पास गरेर सुरक्षित र कानुनी रूपमा कोरिया जान सकिन्छ। अवैध बाटो रोज्नुभन्दा इपिएस प्रणालीबाट जानु धेरै राम्रो छ। कोरियाको सेवा-सुविधा र तलब अन्य देशको तुलनामा निकै राम्रो छ।’
उनका अनुसार पछिल्लो समय कोरियामा वृद्धवृद्धाहरूको संख्या धेरै र जन्मदर एकदमै कम भएको छ। तथ्याङ्क अनुसार सन् २०२६ सम्म कोरियाको जन्मदर ०.७२ देखि ०.७८ मात्र हुने अनुमान छ, जसको अर्थ १०० जना महिलाले १०० जना बच्चा पनि जन्माउँदैनन्। यस्तो अवस्थामा देशको अर्थतन्त्र धान्न र काम गर्ने जनशक्ति जुटाउन कोरियालाई निकै मुस्किल परेको छ।
कोरियाली नागरिकहरू अहिले निकै विलासी जीवन बिताउन चाहने र गाउँघरमा बसेर काम गर्न नरुचाउने भएकाले विदेशी जनशक्ति ल्याउनु उनीहरूको बाध्यता भएको बिवेक बताउँछन्।
‘पहिले विद्यार्थी भिसामा गएकाहरूलाई चार वर्षको कोर्स गराइन्थ्यो, तर अहिले दुई वर्षको प्राविधिक शिक्षा दिएर तुरुन्तै काममा लगाउने योजनाहरू आएका छन्,’ उनले जानकारी दिए।
त्यसमध्ये अहिले लागू भएको एउटा महत्वपूर्ण योजना ‘केयर गिभर’ भिसा हो। कोरियामा वृद्धवृद्धाहरूको संख्या बढ्दै गएको र उनीहरूको हेरचाह गर्ने युवा जनशक्तिको कमी भएका कारण कोरियन सरकारले यो योजना ल्याएको हो।
बिवेकका अनुसार २५ देखि ३० वर्ष कटेका र धैर्यवान् व्यक्तिहरूका लागि यो भिसा एउटा राम्रो अवसर हो। जसका लागि भाषा र छोटो अवधिको प्राविधिक कोर्स अनिवार्य हुन्छ।
उनले नेपालमा बस्नेका लागि मात्र होइन कोरियामा बस्नेलाई पनि अनलाइन कक्षामार्फत अध्यापन गराइरहेका छन्। कोरियामा इपिएसमार्फत गएका कामदारहरूलाई पछि दक्ष कामदार (ई-७) भिसामा परिवर्तन गर्न अंक प्रणाली महत्वपूर्ण हुन्छ।
आफ्ना विद्यार्थीहरूलाई थप अंक बटुल्नका लागि ड्राइभिङ लाइसेन्स (१० अंक) र फोर्कलिफ्ट चलाउने सीप (२० अंक) सिकाउने काममा समेत उनी अघि छन्।
यसका साथै, उनले टोपिक र कोरियामा बस्ने विदेशीहरूका लागि मात्र सञ्चालन हुने किपको अध्यापन समेत गराउँछन्। पछिल्लो समय विद्यार्थी भिसामा कोरिया जानेहरूको संख्या पनि बढेको छ।
उनीहरूका लागि पनि बिवेकले नेपालबाटै अनलाइन क्लासहरू दिइरहेका छन्। ताकि कोरिया पुगेपछि उनीहरूले भाषाकै कारण दु:ख नपाऊन्।
अध्यापनका साथसाथै डा. बिवेकले विभिन्न पुस्तकसमेत प्रकाशित गरेका छन्। नेपाल र कोरिया दुवै देशका विद्यार्थीलाई लक्षित गरिएका यी पुस्तकहरूको व्यापार नेपालमा भन्दा कोरियाको बजारमा अझ उच्च छ।
उनले लेखेका ‘वृहत् कोरियन व्याकरण’, ‘KIIP Level Test Mock Test’, ‘KIIP Vocabulary Book’, ‘Mastering TOPIK I with Past Questions’ र 'Dr. Bibek’s TOPIK II' लगायतका उत्कृष्ट पुस्तकहरू विद्यार्थीमाझ निकै लोकप्रिय छन्।
विशेषगरी, उनले प्रकाशन गरेका पुस्तकहरूले दक्षिण कोरियाको प्रसिद्ध अनलाइन स्टोर ‘कुपाङ’ मा मात्र दुई दिनमा दुई हजार प्रति बिक्री भएर एउटा अद्भुत रेकर्ड कायम गरेका छन्।
भाषा: बाँच्ने र सम्मान पाउने आधार
बिवेकको एउटै मन्त्र छ, ‘कोरियामा भाषा जान्नु भनेको केवल काम पाउनु होइन, सम्मानका साथ बाँच्नु हो।’
उनका अनुसार भाषा नजान्ने हो भने मानिसहरू भाँडा माझ्ने जस्ता आधारभूत स्तरका काममा मात्र सीमित हुन्छन्। यदि थोरै एड्भान्स लेभलको भाषा जान्ने हो भने होटलमा वेटर बन्न वा अन्य राम्रो सेवा क्षेत्रमा प्रवेश गर्न सकिन्छ, जहाँ शारीरिक श्रम कम र आम्दानी बढी हुन्छ।
आज बिवेक एक सफल उद्यमी, शिक्षक र मार्गदर्शक हुन्। उनले सिभिल इन्जिनियरिङको प्राविधिक ज्ञान र कोरियाली भाषाको भाषिक पकडलाई फ्युजन गरेर एउटा नयाँ बाटो पहिल्याएका छन्।
विदेशमा डिग्री हासिल गरेर स्वदेश फर्किनु भनेको अवसर गुमाउनु नभइ आफ्नै देशमा नयाँ अवसरहरू सिर्जना गर्नु पनि हो भन्ने कुरका बिवेकले प्रमाणित गरिदिएका छन्।
साथै, सरकारले धेरै कुरा नसोचेर केवल काम गर्ने वातावरण र उचित नीति बनाइदिए आफूहरूजस्ता थुप्रै युवाहरूले स्वदेशमै आफ्नो ऊर्जावान् समय व्यतीत गर्नसक्ने उनी बताउँछन्।
कुनै समय भौतिक पूर्वाधार निर्माणको नक्सा कोर्ने यी सिभिल इन्जिनियर, आज हजारौँ नेपाली युवाको सुरक्षित वैदेशिक भविष्यको नक्सा कोर्ने बलियो आधारस्तम्भ बनेका छन्।
‘हामीले धेरै राजनीतिक व्यवस्था र तन्त्रहरू परिवर्तन गर्यौँ, अब अवस्था परिवर्तन गर्ने बेला आएको छ,’ उनले निष्कर्ष सुनाए।
प्रकाशित: १४ वैशाख २०८३ १६:३८ सोमबार





