४ श्रावण २०८३ सोमबार
image/svg+xml
समाज

सेतीको पहिरोबाट तत्काललाई छैन जोखिम

पोखराको रातो पैह्रोमा आएको पहिरोले तत्काल जोखिम नभएको निष्कर्ष निकालिएको छ । विज्ञसहित पोखरा महानगर, प्रशासन र प्रहरीसहितको टोलीले सेतीको पहिरोले तत्काल जोखिम नहुने निष्कर्ष निकालेको हो ।

पोखरा–१७ र १५ को सिमानामा पर्ने सिताराम पुलसँगै जोडिएको मितेरी पुलभन्दा करीब ३५–४० मिटर तल्लोपट्टी सेतीनदी थुनिएको छ । करीब ३ महिनाअघि पहिरो खसेकै ठाउँमा शुक्रबार पनि पहिरो खसेपछि नदी थुनिएको हो । अविरल वर्षापछि खसेको चट्टानसहितको माटोले नदी थुनिएपछि करीब ५०–६० मिटर अग्लो झरना बनेर नदी बगिरहेको छ । यसले तल्लो तटीय क्षेत्रका बासिन्दा जोखिम बढेको भन्दै त्रसित बनेका छन् ।

तर आईतबार गएको विज्ञसहितको टोलीले पहिरो खसे पनि पानीको प्रवाह नरोकिएकाले तत्काल जोखिम नहुने निष्कर्ष निकालेको छ । पहिरो झरे पनि पानीको वहाव निरन्तर बगिरहेकाले तत्काल जोखिम हुने सम्भावना नरहेको सिंचाई तथा जलस्रोत व्यवस्थापन आयोजना गण्डकी प्रमुख विदुरमान श्रेष्ठले बताए । पहिले नदी तलबाट बग्थ्यो, उनले भने,’अहिले पहिरो आएपछि माथिबाट बगेको देखिन्छ । त्यसैले पानीको निकास रोकिएको नदेखिएकाले तत्काल जोखिम देखिदैन ।‘

उनका अनुसार ठूलो चट्टानसहितको पहिरो खसेकाले त्यसको प्वाल र माथिल्लो भागबाट नदी बगिरहेको छ । पहिरोले पानी बग्न ब्लकेज गरेको नदेखिएको उनले प्रष्ट्याए । पहिरोभन्दा माथिल्लो क्षेत्रमा सामान्य ताल बनेको देखिए पनि त्यसले ठूलो क्षेती पुग्ने सम्भावना नरहेको उनको भनाई छ । यहि पहिरोले ठूलो ताल बनेको पनि देखिदैन,उनले थपे,‘यसले गर्दा रामघाटमा ताल परेको भन्ने कुरा पनि सत्य होईन, रामघाटको ताल पृथ्वीचोकभन्दा माथिकै क्षेत्रमा थुनिएर बनेको हो ।’

यद्यपी पहिरो गएको ठाउँमा पानीको वहाव रोक्ने चट्टान रहेकाले त्यसलाई फोडेर सामान्य अवस्थामा फर्काउनुपर्ने आवश्यक्ता उनले औंल्याए । चट्टानसहितको पहिरोले पानीको वहाव छेक्दा सेतीको पारी पट्टी (बार्यातर्फ) चिरिदै गएको देखिएकाले पनि निकासका लागि चट्टान फोर्नुपर्ने उनको सुझाव छ । अहिले नाङ्गो आँखाले हेरेर प्रारम्भिक अध्ययन गरिएको भन्दै अन्तिम निष्कर्षका लागि ड्रोनमार्फत पूर्ण अध्ययन गर्नुपर्नेसमेत बताए ।

निरीक्षणपछि जिल्ला सुरक्षा समितिले पहिरोको अवस्था र त्यसले तत्काल र दीर्घकालीन रुपमा पार्ने प्रभावको विस्तृत अध्ययन गर्न सिंचाई तथा जलस्रोत व्यवस्थापन आयोजना र पोखरा महानगरपालिकालाई अनुरोध गरेको छ । समितिको बैठकको निर्णयमा भनिएको छ,‘सेती नदी किनारबाट चट्टान र गेग्रानसहितको पहिरो नदीमा खस्दा तत्काल परेको प्रभाव, जोखिम क्षेत्रको पहिचान, पहिरोबाट पर्ने दीर्घकालीन प्रभाव, तत्काल र दीर्घकालीन रोकथामका उपाय, भविष्यमा गर्नुपर्ने कार्यहरुसहितको विस्तृत अध्ययन प्रतिवेदन तयार गरि कार्यान्वयन गर्न अनुरोध गरिन्छ ।’

पोखरा महानगरपालिकाकी कार्यवाहक प्रमुख मञ्जुदेवी गुरुङले सेती नदीको तल्लो तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अप्नाउन आग्रह गरेकी छन् । अनुगमनपछि सामाजिक सञ्जलमा उनले लेखेकी छन्,‘सेती नदी थुनिएकाले ठूलो जलासय बनेको छ, यो जलासय खोलिदा र दायाँबायाँको जमिन भासिएर विपद निम्त्याउनसक्ने सम्भावना भएकाले रातोपैह्रा, महतगौंडा, लामातारा, दोबिल्लालगायतका सेती नदीको दायाँबायाँका बस्तीमा बसोबास गर्नुहुने सम्पूर्णलाई सचेत र सुरक्षित रहन अनुरोध गर्दछु।’ उनले थुनिएको नदीलाई यथावस्थामा फर्काउन पहल भइरहेको पनि बताएकी छन् ।

पोखराको मध्य भागबाट बग्ने सेती नदीका विभिन्न ठाउँमा हरेक वर्ष पहिरो जाने र सेती थुनिने गर्दछ । पृथ्वीचोकभन्दा केहि माथि रामघाटको मुख थुनिदा त्योभन्दा माथिल्लो क्षेत्रमा ताल बन्ने गरेको छ । हरेक वर्ष भारी वर्षा भएको समयमा त्यहाँ ताल पर्दा वरपरका बस्ती डुबानमा पर्ने गरेको छ ।

प्रकाशित: ३ श्रावण २०८३ १७:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App