बराहताल गाउँपालिका–३ गाइनेकाँडाका रत्नप्रसाद जिसी चार पुस्तादेखिको थातथलो छोड्ने तयारी गर्दैछन्। थातथलो छोड्नु अघि जिसीले पालेका खसी–बाख्रा दसैँ अगाडि बिक्री गरे। बिक्री नभएका पशु चौपाया आफन्तको जिम्मा लगाए। अब उनीसँग एक कुकुर मात्रै बाँकी छ।
मंसिरको पहिलो साता जिसी परिवार यो ठाउँ छोड्दैछ। ‘हेर्दाहेर्दै चार पुस्ताको सम्झना छोडेर जानुपर्ने अवस्था आयो,’ जिसीले भने, ‘यो ठाउँ छोडेर जानुपर्ला सोचेकै थिइनँ, परिस्थितिले यस्तै बनायो।’ जिसीका दुई छोरा र तीन छोरी छन्। दुई छोरा काठमाडौंमा काम गर्छन्। छोरीहरूको विवाह भइसकेको छ। दसैँको दिन पनि उनको घर सुनसान थियो। श्रीमती नवीनासँग दसैँको दिन उनी एक डोको कपडा बोकेर एक घण्टा टाढा पर्ने बर्दिया राष्ट्रिय निकुञ्जभित्रको धारापानी धुन जाँदै थिए।
‘छोराहरूले दसैँमा आउँदा धेरे खर्च लाग्छ, तपाईँहरूनै ठाउँ छोडेर काठमाडौं आउनुहोस् भनेका थिएँ,’ उनले भने, ‘व्यवहार मिलाउँदा मिलाउँदै दसैँ आयो, हामी पनि जान पाएनौं, सन्तान पनि आएनन्।’ उनको एक परिवारलाई अन्न उब्जाउन पुग्ने जमिन छ। खसी–बाख्रा र पशुधन पाल्नका लागि प्रशस्त जमिन र जंगल छ। थातथलो छोड्नुअघि उनले जमिन बिक्री गर्न खोजेका थिए। ‘कसैले जमिन किनेनन्,’ उनले भने, ‘अहिलेको बसाइँसराइ हेर्दा केही वर्षपछि यहाँ कोही हुने छैनन्।’ बस्ती छोडेर गएकाहरूका घर खण्डहर बनेका छन्। जमिन झार जंगलले ढोकेको छ।
जिसी परिवार कालिकोटको लालुबाट २०२२ सालमा यहाँ बसाइँ सरेको हो। तीन पुस्ताले यहीँ दुःखजिलो गरेर परिवार चलायो। जिसीले खसी–बाख्रा, फलफूल, तरकारी बिक्री गरेर छोराहरूलाई कैलालीमा उच्च शिक्षासम्म पढाए। ‘उच्च शिक्षा अध्ययनपछि छोराहरू गाउँ आएनन्, काम खोज्दै राजधानी हानिए,’ उनले भने, ‘उनीहरू यहाँ आएर दुःख गर्न, भारी बोक्न सक्दैनन्, त्यहीँ भएर हामीलाई पनि सहर बोलाएका छन्।’
सुर्खेतको गाइनेकाँडा क्षेत्र बर्दिया राष्ट्रिय निकुञ्जसँगै जोडिएको छ। जिसीको घरदेखि ५० मिटरको दूरीमा निकुञ्ज पर्छ। मध्यवर्ती क्षेत्रमा पर्ने यो ठाउँ हेर्दा जति सुन्दर देखिन्छ, यहाँभित्रको दुःख त्यतिधेरै छ। कर्णाली प्रदेशको राजधानीको जिल्ला भएपनि यहाँ अहिलेसम्म सडक पुगेको छैन। बिजुली बलेको छैन। खानेपानीका लागि घण्टौं हिँडेर निकुञ्जभित्र जानुपर्छ, यस्तोमा सिँचाइको कहाँ कल्पना गर्नु ? पिठ्यूँमा घण्टौं भारी नबोके गुजारा चल्दैन।
‘प्रदेश राजधानीको जिल्ला भए पनि यहाँ अहिलेसम्म सडक छैन, बिजुली–बत्ती छैन, खानेपानी छैन, उब्जाएको गहुँ, मकै पिस्नका लागि तीन घण्टा ओरालो हिँडेर कैलालीको चिसापानी धाउनुपर्छ,’ उनले गाउँका दुःख सुनाउँदै भने, ‘बिरामी हुँदा औषधि गर्ने स्वास्थ्य संस्था छैन, बालबालिका पढाउने राम्रो विद्यालय छैन।’ गाउँमा स्वास्थ्य इकाई छ, औषधि पाइँदैन्। कोही बिरामी हुँदा तीन–चार घण्टा ओरालोमा बोकेर चिसापानी पुर्याउनुपर्छ। निकुञ्जको बाटो भएर जानुपर्ने भएकाले रातिको समय जंगली जनावारको जोखिम हुन्छ। दिउँसो पनि एक्लै निकुञ्जको हिँड्न डर हुन्छ।
गाइनेकाँडाका दानबहादुर बिष्ट थातथलो छोडेर कैलालीको चिसापानीमा बसाइँ सरेको तीन वर्ष भयो। बिष्टको गाइनेकाँडामा खाद्यान्न तथा खुद्रा पसल थियो। पसल राम्रै चलिरहेको थियो। फलफूल, उच्चमूल्यका कृषि खेती गरेर राम्रै आम्दानी गर्थे। गाउँ खाली हुँदै गएपछि पसलको आम्दानी पनि घट्दै गयो। चिसापानीबाट भारी बोकेर सामान पुर्याइदिने मानिस पाउन छोडे। ‘बस्ती पातलिँदै गएपछि व्यापार पनि कम हुँदै गयो, भारी बोक्ने मानिस पनि पाउन छोडे,’ उनले भने, ‘मैले पनि गाउँ छोडेर चिसापानीमा आएर व्यवसाय सुरु गरेँ।’
गाइनेकाँडामा केही वर्षअघिसम्म ८० घरधुरी थिए। अहिले ३५ घरधुरी मात्रै बाँकी छन्। ‘बस्ती सरेर गोठीकाँडा कोही जाँदैनन्,’ बिष्टले भने, ‘बस्ती छोडेर सहरतिर आउने हरेक वर्ष बढ्दै छन्।’ बचेका ३५ घरधुरीका पनि अधिकांशका घर कैलालीतिर छन्। ‘बाहिर घर नभएका चार–पाँच परिवार मात्रै छन्,’ उनले भने, ‘कैलालीतिर घर भएकाहरू आधा समय मात्रै गाउँमा बस्छन्।’

गाउँमा टिमुर, अदुवा, फलफूल प्रसस्त फल्छ। उब्जनी बिक्रीका लागि डोकोमा बोकेर कैलाली धाउनुपर्छ। कुटानी–पिसानी पनि गाउँमा हुँदैन। धान, गहुँ र मकै पिस्नका लागि पनि कैलाली आउनुपर्छ। आउँदा–जाँदा आठ–नौ घण्टा समय लाग्छ। पूर्णादेवी आधारभूत विद्यालयका प्रधानाध्यापक जुगराम चौधरी नागरिकका लागि आधारभूत पूर्वाधार नहुँदा बस्ती छोड्नेक्रम बढेको बताए।
‘सडक पूर्वाधार छैन, निकुञ्ज क्षेत्र भएकाले तत्काल सडक आउने संभावना पनि छैन, बिजुली बत्ती छैन, खानेपानी लिनका लागि निकुञ्जभित्र जोखिम मोलेर जानुपर्छ,’ उनले भने, ‘यस्तोमा दुःख गरेर गाउँमा को बस्न चाहन्छ र! बस्ती खाली हुँदैछ, उब्जाउ जमिन झारजंगलले भरिँदै छ।’ उनले उच्च मूल्यका कृषिबस्तु र पशुचौपाया पालनका लागि उर्वर भूमि भ एपनि आवश्यक पूर्वाधारको कमि हुँदा गाउँ खाली हुँदै गएको बताए। दुई वर्षअघिसम्म बर्दिया राष्ट्रिय निकुञ्जको धारापानीबाट खानेपानी लिफ्ट गरेर बस्तीमा ल्याइएको थियो। त्यो खानेपानी आयोजनाको लिफ्ट सिष्टम बिग्रिएको पनि दुई वर्ष भयो।
गाइनेकाँडा मात्रै होइन्, नजिकका अरु बस्ती पनि खाली हुँदै गएका छन्। गाइनेकाँडाको पश्चिमतिरको राजकाँडा पनि मानव बस्तीविहीन हुँदैछ। यहाँ अहिले तीन घर मात्रै बाँकी रहेका छन्। त्यसको पश्चिमतिरको गुराँसेको बस्ती पनि पातलिँदै गएको छ। ‘नागरिकका लागि आवश्यक आधारभूत आवश्यकताहरू राज्यले पूरा गर्न नखोज्दा मध्यवर्ती क्षेत्रका वस्तीहरू पातलिँदै गएका छन्,’ उनले भने, ‘राज्यले समयमै ध्यान नदिए मध्यवर्ती क्षेत्रमा मानव बस्तीनै नभेटिने अवस्था आउन सक्छ।’
बस्ती पातलियो, विद्यार्थी घटे
पाँच वर्षअघि गाइनेकाँडाको पूर्णादेवी आधारभूत विद्यालयमा झण्डै एक सयको हाराहारीमा विद्यार्थीहरू थिए। चालु शैक्षिकसत्रमा यहाँ विद्यार्थीको संख्या १६ जना मात्रै छ।
विद्यालयका प्रधानाध्यापक जुगराम चौधरीका अनुसार हरेक वर्ष विद्यार्थीको संख्या ओरालो लाग्दैछ। ‘बस्ती पातलिँदै गयो, विद्यार्थीहरू पनि घट्दै गए,’ प्रधानाध्यापक चौधरीले भने, ‘यस्तै अवस्था रह्यो भने दुई–तीन वर्षमा एक जना पनि विद्यार्थी हुँदैनन्।’
प्रअ चौधरीका अनुसार २०७९ सालमा उनी उक्त विद्यालयमा जाँदा ३५ जना विद्यार्थी थिए। अघिल्लो शैक्षिकसत्रमा त्यो संख्या घटेर २६ पुग्यो। चालू शैक्षिकसत्रमा १७ जना विद्यार्थी छन्। बालविकासदेखि कक्षा पाँचसम्म पढाइ हुने यो विद्यालयमा हाल कक्षा पाँच, तीन, दुई र एकमा चार–चार जना विद्यार्थी भर्ना भएका छन् भने बालविकासमा एक जना विद्यार्थी छन्। कक्षा चारमा विद्यार्थी छैनन्। ‘अर्को शैक्षिकसत्रमा बढीमा १० जना विद्यार्थी हुन्छन् होला,’ उनले भने, ‘बालविकासमा विद्यार्थी नै छैनन्, अनि कसरी विद्यार्थीको संख्या बढ्ला र !’

उनले गाइनेकाँडाबाट बसाइँसराइ गरेर बाहिर जानेको संख्या बढ्दै गएको तथा रोजगारीका लागि देशबाहिर र सहरतिर रहेकाहरूले आफ्ना बालबालिका पढाउन सहरतिथर लगेर गएकाले विद्यार्थीको संख्या घट्दै गएको बताए। ‘ठाउँ त स्वर्ग हो, तर सडक पूर्वाधार नहुँदा बसाइँसराइ उच्च छ, कमाउन देशबाहिर र सहरतिर गएकाहरू आफ्ना सन्तानलाई गाउँमा राख्न चाहँदैनन्,’ उनले भने, ‘सडक भइदिए बसाइँसराइ रोकिन्थ्यो, स्कुलमा बालबालिकाहरू पनि थपिन्थे।’
प्रकाशित: ७ कार्तिक २०८३ १३:३८ शनिबार





-600x400.jpg)