विभिन्न सञ्चारगृहको प्रवेशद्वार अगाडि शंकास्पद रूपमा सवारीसाधन पार्क गरिएको घटनाको अनुसन्धानका क्रममा कान्तिपुर मिडिया ग्रुपको गेटअघि राखिएको गाडी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का एक कार्यकर्तासँग जोडिएको खुलेको छ।
सोमबार बिहान कान्तिपुर मिडिया ग्रुप, अनलाइनखबर, हिमालयन टेलिभिजन, भाटभटेनी सुपरमार्केट र कांग्रेस सभापति गगन थापाको घर अगाडि सवारी आवागमन नै प्रभावित हुने गरी गाडी पार्क गरिएपछि सुरक्षा निकाय र सञ्चार क्षेत्रको ध्यानाकर्षण भएको थियो।
कान्तिपुरको गेटअघि पार्क गरिएको बा प्रदेश ०१–०३४ च ८४८० नम्बरको गाडी रवि जयसवालले चलाउने गरेका छन्। उनी रास्वपाको केन्द्रीय अनुसन्धान तथा अभिलेखीकरण विभागका पूर्व सदस्य रहेको खुलेको छ। जसवाल रौतहटको गरुडा नगरपालिकाका मेयर कन्थमणि जयसवाललका कान्छा छोरा हुन्।
जसवालले मैले गाडी साथीलाई चलाउन दिएको र सो समय आफू नगरकोटमा रहेको बताएका छन्।
उता अनलाइनखबरको गेटअघि पार्क गरिएको बा१२च ८५४५ नम्बरको गाडी सुनील पौडेलको नाममा दर्ता रहेको भेटिएको छ। प्रहरीको सम्पर्कपछि पौडेलले गाडी भाइलाई चलाउन दिएको बताएका थिए। त्यसपछि सम्पर्कमा आएका सुजन पौडेलले आफूले नै गाडी त्यहाँ पार्क गरेको स्वीकार गर्दै सञ्चारमाध्यमले अनावश्यक रूपमा घटनालाई शंकास्पद बनाएको प्रतिक्रिया दिएका छन्।
हिमालयन टेलिभिजन अगाडि पार्क गरिएको बा१०च १२५५ नम्बरको गाडी डिआर अटोमोटिभ्स, धुम्बाराहीको नाममा दर्ता रहेको खुलेको छ। अनामनगरस्थित भाटभटेनी अगाडि राखिएको गाडीको स्वामित्वबारे भने अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
घटनापछि जिल्ला प्रहरी परिसर काठमाडौंले सबै स्थानमा टोली परिचालन गरी गाडीमा विस्फोटक पदार्थ वा अन्य शंकास्पद वस्तु भए–नभएको परीक्षण गरेको थियो। प्रारम्भिक जाँचमा कुनै सुरक्षा जोखिम नदेखिएपछि सबै गाडी क्रेनमार्फत ट्राफिक प्रहरीको नियन्त्रणमा लगिएको प्रहरीका प्रवक्ता एसपी पवनकुमार भट्टराईले बताएका छन्।
प्रकाशित: २९ असार २०८३ १९:२७ सोमबार

