हिन्दू नेपालीको महान् चाड दसैँ आउन एक साता मात्र बाँकी छ। यतिबेला दसैँ मनाउन देश-विदेशबाट आफ्नो घर फर्किंदै छन्। सुदूरपश्चिममा भने दसैँको मुखमा काम खोज्दै भारत जानेको लर्को छ।
विगतमा यो बेलासम्म रोजगारीका लागि भारतमा रहेका नेपाली गड्डाचौकी नाकाबाट घर फर्किने क्रम बढिसकेको हुन्थ्यो। दैनिक हजारौंको संख्यामा नेपाली स्वदेश फर्किने यो नाकामा यस पटक फरक दृश्य देखिएको छ। हाल यो नाकाबाट स्वदेश आउनेको भन्दा काम खोज्दै भारत जानेको संख्या बढी छ। चाडपर्वमा विद्यालयमा लामो बिदा हुने भएकाले अभिभावकसँगै बालबालिका पनि भारत गइरहेका देखिन्छन्।
परिवारसहित काम खोज्दै भारतको हिमाञ्चल प्रदेश जान लागेका डोटीको जोरायल गाउँपालिका-२ का करन थापा मंगलबार गड्डाचौकी नाकामा भेटिए। ‘साँझ-बिहान छाक टार्न समस्या छ, पैसा नभई कसरी दसैँ हुन्छ,’ उनले भने, ‘पैसा भयो भने तिहार मनाउन आउँछु। यसपटक घरमा बसेर दसैँ मनाउन पाइएन।’ थापाले दसैँको समयमा बालबच्चाको विद्यालय बिदा भएका कारण परिवारका सबैजना काम खोज्दै हिमाञ्चल प्रदेश जान लागेको बताए।
थापा मात्र होइन, डोटीको बाजिलेकका २५ जनाको परिवार काम खोज्दै भारतको हिमाञ्चल प्रदेश गएका छन्। बाजिलेकका मीनादेवी थापाले स्वदेशमा रोजगारी नपाएपछि श्रीमान्सहित मजदुरीका लागि भारतको सिमला जान लागेको सुनाइन्। ‘हाल सिमलामा स्याउ टिप्ने काम पाइने भएकाले त्यहाँ जान लागेका हौं,’ उनको भनाइ थियो, ‘भारतमा मजदुरी गरेर कमाएको पैसाले तिहार मनाउँछौं, तिहारमा घर फर्किन्छौं।’
लालाबालासहित काम खोज्दै भारत जान लागेका बाजिलेककै बलबहादुर थापाले दसैँको मुखमा बाध्यताले विदेश जान लागेको बताए। ‘पैसा नभई दसैँ चल्दैन, यहाँ मजदुरी गर्न पनि नपाइएपछि के गर्नु! एक महिना मजदुरी गरेर तिहार मनाउन गाउँ फर्किने सोच छ,’ उनले भने।
गरिबीका कारण परिवार पाल्न मुस्किल भएपछि चाडपर्वको मुखमा सुदूरपश्चिमका नाकाबाट दैनिक सयौं नेपाली रोजगारीका लागि भारत जाने गरेका छन्। कैलालीको बौनियाका कृष्ण सेरलाले विद्यालयको बिदाको समय सदुपयोग गर्न भारत जान लागेको बताए। ‘बुबाआमा भारतमै रोजगारी गर्छन्, विद्यालय बिदा भएपछि म पनि उतै जान लागेको हुँ,’ उनले भने।
भारत सुदूरपश्चिम र कर्णाली प्रदेशका मानिसको लागि रोजगारीको प्रमुख गन्तव्य हो। रासस
प्रकाशित: २ आश्विन २०८२ ०६:५६ बिहीबार





