२१ भाद्र २०८३ आइतबार
image/svg+xml
समाज

‘गुमेको ज्योति फर्कियो, नयाँ जीवन पाएजस्तै भयो’

कपिलवस्तुको महाराजगन्ज नगरपालिकामा सञ्चालित दुई दिने निःशुल्क आँखा शिविरमार्फत डेढ सयभन्दा बढी ज्येष्ठ नागरिक तथा विपन्न नागरिकको मोतियाबिन्दुको सफल शल्यक्रिया गरिएको छ।

वर्षौँदेखि गुमेको आँखाको ज्योति घरआँगनमै पुनः फर्किएपछि यहाँका वृद्धवृद्धाहरू उत्साहित बनेका छन्।

नगरपालिकाको आधारभूत अस्पतालमा सम्पन्न शिविरमा बिरामीहरूको निःशुल्क शल्यक्रिया गर्नुका साथै कालो चस्मा र औषधि समेत उपलब्ध गराइएको थियो। 

नगरपालिकाले बिरामीहरूका लागि जाँच, शल्यक्रिया, खाना-बस्न तथा यातायातको समेत निःशुल्क प्रबन्ध मिलाएको थियो।

‘मर्ने बेलामा नयाँ संसार देख्न पाएँ’

लामो समयदेखि मोतियाबिन्दुका कारण आँखाको ज्योति गुमाएका कपिलवस्तु नगरपालिका वडा नम्बर-११ चौहठ्ठाका ७० वर्षीय थानेदार चौधरीले शल्यक्रियापछि नयाँ जीवन पाएको सुनाए।

गत भदौ १५ गते आफ्नै वडामा भएको स्क्रिनिङ शिविरमा मोतियाबिन्दु पुष्टि भएपछि उनी नगरपालिकाले प्रबन्ध गरेको बस चढेर शनिबार आधारभूत अस्पताल पुगेका थिए।

आइतबार आँखाको पट्टी खोलेर कालो चस्मा र दुई डिब्बा औषधि हात पारेपछि खुसी हुँदै उनले भने, ‘बुवाको पालामा आँखाको शल्यक्रिया गर्न भारत जानुपर्ने बाध्यता थियो। अहिले आफ्नै पालिकामा यातायात, खाना, बस्न र उपचार सबै निःशुल्क पाइयो। मर्ने उमेरमा पनि नयाँ संसार देख्न पाएको छु।’

त्यस्तै, महाराजगन्ज नगरपालिका वडा नम्बर-१ की ६५ वर्षीया राधा कोरी पनि गुमेको दृष्टि फर्किएपछि निकै हर्षित छन्। ‘फेरि आँखा देख्न पाउँछु भन्ने आश मारिसकेकी थिएँ। अब बचेको जीवनमा आफ्ना परिवार र समाजलाई हेर्न पाउने भएँ,’ खुसी साथ उनले आयोजकलाई धन्यवाद दिइन्।

अस्पतालमा शल्यक्रिया शिविर सञ्चालन गर्नुअघि महाराजगन्ज नगरपालिकाको वडा नम्बर २, ३, ४ र ११ मा एक-एक दिने प्रारम्भिक आँखा जाँच शिविर सञ्चालन गरिएको थियो।

उक्त चार वटा वडामा गरिएको स्क्रिनिङका क्रममा १ सय ८५ जनामा मोतियाबिन्दुको समस्या फेला परेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख राधेश्याम जैसवालले जानकारी दिए। तीमध्ये छनोट भएका डेढ सयभन्दा बढी बिरामीको अस्पतालमा सफल शल्यक्रिया गरिएको हो।

महाराजगन्ज नगरपालिकाको आयोजना, एटलास एलाइन्स नर्वेको आर्थिक सहयोग तथा छन्द (कालेबाबु) नारायणी आँखा अस्पतालको प्राविधिक सहयोगमा उक्त दुई दिने शिविर सम्पन्न भएको हो।

नगरप्रमुख अब्दुल कलाम खाँले ज्येष्ठ नागरिक र विपन्न वर्गलाई लक्षित गरी नगरपालिकाभित्रै सेवा दिइएको बताए।

‘नगरवासीसँग गरेको प्रतिबद्धता अनुसार नै काम गरिरहेको छु,’ उनले सुनाए, ‘वृद्धवृद्धाले गुमेको ज्योति पाएर खुसी हुँदै दिएको आशीर्वादले मन प्रसन्न भएको छ।’्आ

फूले २०७४ सालदेखि नै यस्ता शिविर सञ्चालन गर्दै आएको र हालसम्म पालिकाभित्र १० हजारभन्दा बढीको आँखा शल्यक्रिया भइसकेको उनले जानकारी दिए।

शल्यक्रिया पश्चात् नगरप्रमुख अब्दुल कलाम, उपप्रमुख रिता कुमारी चौधरी (कुर्मी), वडा नम्बर-१ का अध्यक्ष प्रमोद चौधरी लगायतले बिरामीहरूलाई कालो चस्मा वितरण गरेका थिए।

उपप्रमुख कुर्मीले नागरिकलाई घरआँगनमै स्वास्थ्य सेवा पुर्‍याउने नीति अनुसार नगरपालिकाले विगतदेखि नै यस्ता शिविरलाई निरन्तरता दिँदै आएको सुनाइन्।

प्रकाशित: २१ भाद्र २०८३ १५:३७ आइतबार