३१ श्रावण २०८३ आइतबार
image/svg+xml
समाज

विजयपुर खोलामा हराएका बालक अझै भेटिएनन्

बालबालिकालाई खेल्न बाहिर नपठाउनुः प्रशासन

विजयपुर खोलामा हराएका बालकहरुको खोजी गर्दै सशस्त्र प्रहरी। तस्बिरः नागरिक

पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबारदेखि बेपत्ता भएका दुईजना बालक अझै फेला परेका छैनन्। प्रहरी र सशस्त्र प्रहरी सहित स्थानीयबासी खोजिमा खटेको भएपनि बालकहरु फेला नपरेको प्रहरीले बताएको छ।  

कास्की प्रहरी प्रवक्ता डिएसपी वीरेन्द्रकुमार पासवानका अनुसार पोखरा–१४ छिनेडाँडा बस्ने वर्ष १४ का निक्सन गुरुङ र खोटाङ घर भई पोखरा–१४ चाउथे बस्ने वर्ष १५ का ओमन राईलाई शनिबार तर्ने क्रममा विजयपुर खोलाले बगाएको थियो। बालकद्वयको तत्कालै खोजी सुरु गरेको भएपनि फेला नपरेको पासवानले जानकारी दिए।  

उनीहरुको खोजीमा खटिएको प्रहरीले घटनास्थलदेखि करिब २ किलोमिटर तलसम्म खोला किनार र खोंचमा खोजतलास गर्दा पनि फेला नपरेको डिएसपी पासवानले बताए। उनका अनुसार खेलेर घर फर्किने क्रममा शनिबार मध्यान्ह बालकद्वयलाई खोलाले बगाएको थियो।

‘खोलामा भेल पनि बढेको छ। त्यसबाहेक खोंच भएका कारणले पनि सहज भएको छैन,’ उनले भने, ‘सम्भावित ठाउँमा खोजी गरिरहेका छौं। तरपनि फेला पार्न सकिएको छैन।’

बेपत्ता भएका बालकहरुको खोजीका लागि सशस्त्र प्रहरी बलको कालिका गणबाट खटिएको ११ जना गोताखोर टोली र रोप रेस्क्यू सहितको टिम समेत परिचालन भएको पनि प्रहरीले बताएको छ। ‘खोंचमा छिर्न गाह्रो भयो। पानीको भेल भन्दा पनि खोंच नै कहाँसम्म छ भन्ने पहिचान गर्न सकिने अवस्था रहेन,’ उनले भने।  

यसैबीच कास्की प्रशासनले वर्षाको समयमा सतर्कता अपनाउन नागरिकलाई आग्रह समेत गरेको छ। वर्षाको समयमा अविरल वर्षाको कारण नदी तथा खोलाको प्राकृतिक बहावमा वृद्धि भई निरन्तर रुपमा जलसतह बढ्ने, आकस्मिक बाढी भेल आउने, नदी तथा खोला आसपासका क्षेत्रमा पहिरो जानसक्ने, बाटो भासिन सक्ने, नदी तथा खोला किनारा कटान हुन सक्ने उच्च जोखिम रहेको प्रशासनको भनाई छ।  

पानी परेपश्चात् चर्को घाम लाग्दा समेत सुख्खा पहिरो झरेर खोला वा नदी थुनिने र एकैपटक खोलिँदा वा वर्षाको कारण नदी वा खोलाको माथिल्लो भागबाट पहिरोसहितको लेदो बगेर आउने उच्च सम्भावना हुने हुँदा किनारामा बस्नु अति जोखिम वा असुरक्षित हुने प्रशासनको भनाई छ।  

‘यस्तो समयमा माछा मार्ने, पौडी खेल्ने, नुहाउने, लुगा धुने, दाउरा, बालुवा, गिटी निकाल्ने बहानामा नदी वा खोलामा नजान, गाईवस्तु चराउन, पानी खुवाउन वा खेल्नका लागि खोला किनारमा जानुहुँदैन,’ कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले भने, ‘अभिभावकले निगरानी गरी यस्ता स्थानमा आफ्ना छोराछोरीलाई जान दिनुहुँदैन।  

प्रकाशित: ३१ श्रावण २०८३ १७:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App