१६ कार्तिक २०८३ सोमबार
image/svg+xml
समाज

बडीमालिकामा ज्यान गुमाएका मनिषको श’ व सेनाको हेलिकप्टरमार्फत मार्तडी ल्याइयो

प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्र बडीमालिकामा हिमपातका कारण ज्यान गुमाएका कञ्चनपुरका २० वर्षीय मनिष बोहराको शव नेपाली सेनाको हेलिकप्टरमार्फत सदरमुकाम मार्तडी ल्याइएको छ।

कञ्चनपुरको बेदकोट नगरपालिका, दैजी घर भएका बोहरा बडीमालिका दर्शनसँगै पदयात्रामा गएका बेला भारी हिमपातपछि गत शुक्रबारदेखि सम्पर्कविहीन भएका थिए। सुरक्षाकर्मीको टोलीले उनको शव आइतबार दिउँसो त्रिवेणी पाटन नजिकै मृत अवस्थामा फेला पारेको थियो।

जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख एवं प्रहरी नायब उपरीक्षक शैलेश्वरी बोहराका अनुसार सोमबार दिउँसो शव सदरमुकाम ल्याएर परीक्षणका लागि जिल्ला अस्पताल बाजुरामा राखिएको छ।

करिब ४ हजार २ सय मिटरको उचाइमा रहेको बडीमालिका क्षेत्रमा भारी हिमपात र अत्यधिक चिसोका कारण लेक लागेर उनको ज्यान गएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।

बोहरा सम्पर्कविहीन भएपछि आइतबार बिहानैदेखि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली खोजी तथा उद्धारमा खटिएको थियो।

यसअघि सोही हिमपातमा परी बडीमालिकास्थित त्रिवेणी पाटनमै अलपत्र परेका कञ्चनपुरको कृष्णपुर नगरपालिका-२ बस्ने २१ वर्षीय सागर कार्कीको भने शनिबार दिउँसो हेलिकप्टरमार्फत सकुशल उद्धार गरी मार्तडी ल्याइएको थियो।

उच्च हिमाली भूभागमा बाक्लो हिमपात भएकाले पैदल मार्गबाट उद्धार कार्य असम्भव भएपछि नेपाली सेनाको हेलिकप्टर परिचालन गरिएको हो।

बडीमालिका क्षेत्रमा मौसम छिनछिनमै प्रतिकूल हुने भएकाले पूर्वतयारी, मौसमको जानकारी र सुरक्षा सतर्कता अपनाएर मात्र भ्रमणमा निस्कन प्रशासन तथा सरोकारवालाहरूले आग्रह गरेका छन्।

प्रकाशित: १६ कार्तिक २०८३ २१:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App