१९ श्रावण २०८३ मंगलबार
image/svg+xml
समाज

सोभियत विजयको ८१औं वार्षिकोत्सव र विश्वव्यापी प्रभाव

विश्व

संसारमा थुप्रै युद्ध लडिए। तीमध्ये दोस्रो विश्वयुद्ध सबैभन्दा ठुलो युद्ध थियो। यसमा लगभग ७० राष्ट्र होमिएका थिए र यो अफ्रिका, एसिया र युरोप महादेशका साथै समुद्री तटसम्म फैलिएको थियो। यस युद्धमा व्यापक विनाश र राजनीतिक तथा सामाजिक परिवर्तनसँगै करोडौं मानिसहरूको मृत्यु भयो। युद्धको भयावहता यतिसम्म थियो कि हजारौं यातना शिविर र ग्यास च्याम्बरहरू खोलिए। मानव सभ्यताले बेहोरेको यो सबैभन्दा दर्दनाक र त्रासदीपूर्ण क्षण थियो।

त्याग र बलिदानको हिसाबले हेर्ने हो भने दोस्रो विश्वयुद्धमा सबैभन्दा बढी क्षति सोभियत संघले बेहोरेको थियो। विश्वलाई फासीवादको चंगुलबाट मुक्त गर्न दुई करोड ७० लाख सोभियत वीरहरूले ज्यानको बलि चढाएका थिए। जबकि जम्मा आठ लाख जति अमेरिकी र ब्रिटिस सैनिकले ज्यान गुमाएको  तथ्यांक छ।  

प्रसिद्ध अमेरिकी उपन्यासकार, लेखक र पत्रकार अर्नेस्ट हेमिंग्वे भन्छन्– ‘स्वतन्त्रतालाई माया गर्ने प्रत्येक व्यक्ति सोभियत लालसेनाप्रति यति ऋणी छन् कि उनीहरूले आफ्नो सम्पूर्ण जीवनमा पनि यो ऋण चुक्ता गर्न सक्नेछैनन्।’

द्वितीय विश्वयुद्ध सेप्टेम्बर १, १९३९ मा जर्मनीले पोल्यान्डमा आक्रमण गरेपछि सुरु भयो। नाजी गठबन्धनले ६ घण्टामा डेनमार्क, १ दिनमा लक्जेमबर्ग, ५ दिनभित्र हल्यान्ड, ११ दिनमा युगोस्लाभिया, १८ दिनमा बेल्जियम, २४ दिनभित्र ग्रिस, २७ दिनमा पोल्यान्ड र शक्तिशाली फ्रान्सजस्तो ठुलो देश ४२ दिनभित्र, नर्वे ६१ दिनमा कब्जा गर्दै अघि बढ्यो।

यसरी अधिकांश युरोप दिग्विजय गर्दै अघि बढिरहेका फासिस्ट शक्तिले जुन २२, १९४१ मा बिहान ४ बजे, बिहान घाम झुल्किन नपाउँदै अनाक्रमण सम्झौताको उल्लंघन गर्दै सोभियत भूमिमा आक्रमण गर्‍यो। नाजीहरूले सबैभन्दा बर्बर, अमानवीय र विनाशकारी युद्धतरिका अपनाए। लाखौं घर, करोडौं नागरिक, सयौं सहर, हजारौं कारखाना र संग्रहालयहरू खरानी भए। उनीहरूले सोभियत संघको युरोपियन खण्ड लगभग खर्लप्प निले र आक्रमणको तीन महिनामा राजधानी मस्कोमा धावा बोल्न पुगे। तिनले मस्को सहर कब्जा गर्न ‘टाइफुन अपरेसन’ रचेका थिए। जर्मन सैनिक शक्ति बेहरमाख्तले १९४१ नोभेम्बर ७ मा रेड स्क्वायरमा विजयको मार्च गर्ने र त्यो परेडमा स्वयं फ्युहर (एडोल्फ हिटलर) ले सम्बोधन गर्ने ऐलान समेत गरेका थिए। त्यो दिन अक्टोबर क्रान्तिको उत्सव थियो।

सुरक्षा अवस्था एकदम नाजुक थियो। तर मस्को झुकेन। मस्को सहरलाई रक्षा गर्न ११ लाखभन्दा बढी मानिसहरू प्रतिरक्षामा उत्रिए, जसमा पचास हजार मस्कोवासीहरू स्वयंसेवीको रूपमा थिए। यो ‘मस्को युद्ध’ दोस्रो विश्वयुद्धको सबैभन्दा ठुलो लडाइँमध्ये एक थियो, जसमा सोभियत जनताले सारा संसारलाई विजयको सबैभन्दा ठुलो इच्छा देखाए। शत्रुहरू, जसलाई अहिलेसम्म सबैले अपराजेय ठान्थे, तिनलाई पराजय गर्न सकिन्छ भन्ने सन्देश दिए।

रुसी जनताको धैर्य, साहस, बहादुरी, देशभक्ति र आत्मबलिदानका भावनाले नाजीहरूलाई आफ्नो योजना पूरा गर्न दिएन। केही हप्तामा नाजीहरू मस्कोबाट धपाइए। युद्धको ६ महिनामा पहिलो पटक नाजी सेनाले सबैभन्दा ठपुलो हार बेहोरेको थियो। यो बेहरमाख्तमाथि सोभियत संघको पहिलो रणनीतिक विजय थियो। १० लाखभन्दा बढी सोभियत सेनाले यसका लागि ज्यान दिए। मस्को विजयको रणनीतिक र मनोवैज्ञानिक महत्त्व थियो। यसले जर्मनको ‘युद्ध मेसिनरी’ कहिल्यै पराजय हुँदैन भन्ने मिथक हटायो। यो विजयपछि इंग्ल्यान्ड, संयुक्त राज्य अमेरिका र २६ अन्य देशले हिटलरविरोधी गठबन्धन गर्ने घोषणा गरे।

यस्तै भीषण संग्राम स्टालिनग्राडमा भयो, जुन २०० दिन र २०० रातसम्म चल्यो। यस महायुद्धमा करिब पाँच लाख सोभियत वीरहरूले ज्यानको आहुति दिए। सोभियतहरूले सहरको एक पाभ्लोभ भवनको रक्षाका लागि मात्र ५८ दिनसम्म लडे। ३१ जनवरी १९४३ मा जर्मन सेनापति फिल्ड मार्सल जनरल फ्रेडरिक पाउल्स, जसलाई जर्मन साम्राज्य (रिख) को गौरव र रणनीतिकार भनिन्थ्यो, सहित ९१ हजार जर्मन सिपाहीहरू कैद भए। स्टालिनग्राड लडाइँको रणनीतिक महत्त्व यसकारण थियो कि यो सफलतापछि सोभियत सेनाले कहिल्यै पछि हट्नुपरेन। नाजीहरू, जो मस्को कब्जा गरेर जर्मनीको विजय परेडमा ढुक्क थिए, स्टालिनग्राडको पराजयपछि जर्मनीमा तीन दिने शोक घोषणा गरे।

स्टालिनग्राड रक्षाका लागि सोभियत सेनाले प्रदर्शन गरेको उच्च बलिदानको सम्मान गर्दै ग्रेट ब्रिटेनका राजा जर्ज छैठौंले स्टालिनलाई तरबार उपहार पठाए। तरबारमा लेखिएको थियो– इस्पातजस्तै मजबुत स्टालिनग्राडका नागरिकहरूको नाममा ब्रिटिस जनताको गहिरो सम्मान चिह्नस्वरूप राजा जर्ज छैटौंबाट।

त्यसैगरी सानो रझेभ सहरको मुक्तिका लागि सोभियत वीरहरूले पाँच सय २० दिनसम्म लडे, जुन संग्राममा सोभियत सेनाले दश लाखभन्दा बढी वीर गुमायो। युद्धका सबैभन्दा त्रासदीपूर्ण दिनहरूमा लेनिनग्राडलाई नाजीहरूले आठ सय ७२ दिन नाकाबन्दी गरे। जाडो, बमवर्षा र भोकले लाखौं जनता मरे। तर लेनिनग्राडका जनताले आत्मसमर्पण गरेनन्। त्यो त्रासदीपूर्ण समयमा पनि उनीहरूले आफ्नो ड्युटी चालु राखे र आफ्नो सहर रक्षा गरेर सारा विश्वलाई त्याग, बलिदान र उत्सर्गको अनुपम उदाहरण देखाए।

सोभियतहरूले आफ्नो बलिदानीपूर्ण संघर्षबाट केवल आफ्नो देश मात्र होइन, पूर्वी युरोपका पोल्यान्ड, बुल्गेरिया, चेकोस्लोभाकिया, हंगेरी, जर्मनी, रोमानिया, अस्ट्रिया, युगोस्लाभिया र नर्वेजस्ता देशहरूलाई फासीवादको जुआबाट मुक्त गरे। यसका लागि उनले १२ लाख सोभियत वीरहरूको जीवनको मूल्य चुकाए।

दोस्रो विश्वयुद्धभर युरोपका एघार र एसियाका दुई देश गरी सोभियत सेनाले जम्मा चार सय ८५ सहरहरू स्वतन्त्र गर्‍यो। युद्धको अर्को कहालीलाग्दो त्रासदीमध्ये नाजीहरूले युरोपभर ४० हजार यातना शिविर खोले। ती हिरासत, श्रम, मृत्यु र ग्यास च्याम्बर शिविरहरूमा २५ लाखभन्दा बढी मानिस थुनिएका थिए। स्वयं स्टालिनका छोरा याकोभ जुगासभिली जुलाई १९४१ मा पक्राउ परी जर्मनीको साचसेनहाउसेन यातना शिविरमा सन् १९४३ मा मरे।

सोभियत सेनाले थुप्रै शिविरबाट बन्दीहरू उद्धार गरे। जनवरी २७, १९४५ मा मार्सल कोन्योभको नेतृत्वमा लाल सेना पोल्यान्डमा अवस्थित मृत्यु शिविर अस्विट्जका कैदीहरूलाई मुक्त गर्‍यो, जहाँ दश लाखभन्दा बढी  मानिस योजनाबद्ध सफायाको क्रममा मारिएका थिए।

सन् १९४५ को वसन्तको पूर्वार्धसम्म सोभियत सेनाले फासीवादी गठबन्धनलाई हराउँदै उनीहरूको उद्गमस्थल बर्लिनसम्म पुर्‍यायो। अप्रिल २८, १९४५ मा उसले जर्मन हेडक्वाटर राइख्स्ट्यागमा धावा बोल्यो। ३० अप्रिल, १९४५ मा लालसेनाले यो संसद् भवनमाथि प्रथम विजयको ध्वजा फहरायो। राइख्स्ट्यागमाथि फहरिएको यो झन्डा महान् देशभक्तिपूर्ण युद्धमा दुई करोड ७० लाख सोभियत वीरहरूको बलिदानको प्रतीक थियो। बर्लिन कब्जाको गोलाबारी मे २, १९४५ सम्म जारी रह्यो। युद्धको अन्तिम दिन र घण्टाहरूमा थुप्रैले आफ्नो ज्यान जोखिममा पारे, ज्यान अर्पे तर अन्तिम विजय दिवस देख्न पाएनन्, जुन धेरै नजिक थियो।

अन्तमा मे ८, १९४५ मा जर्मन सैन्यबलले घुँडा टेक्यो र बिनासर्त आत्मसमर्पणको कागजमा हस्ताक्षर गरेर पराजय स्विकार्‍यो। यो मस्को समयअनुसार ठ्याक्कै मध्यरातको बेला थियो। इतिहासमा मे महिनाको ९ तारिक द्वितीय विश्वयुद्धमा फासिस्टहरूमाथि विजय घोषणाको दिन हो। लडाइँमा करिब सात–आठ करोड मानिसले ज्यान गुमाए।

मे ९ को दिनसँग सोभियत जनताको सबैभन्दा ठुलो भावनात्मक सम्बन्ध छ। मे ९ तिनीहरूको एउटा पुस्ताले प्राप्त गरेको इतिहासकै ठुलो विजय थियो। यो विजय सजिलै प्राप्त भएको थिएन। यसका लागि सोभियत जनता र राष्ट्रले उच्चतम मूल्य चुकाएको थियो, करोडौं जीवनको मूल्य। युद्धले हरेक परिवारको लेखा बदलियो। परिवार र स्वजनहरू बिछोडिए।

१४१८ दिन प्रत्येक नागरिकले साहसपूर्वक लडे। रातदिन बमवर्षा, गोलीका त्रासदी खपे। शत्रुहरूमाथि आक्रमण गर्ने क्रममा तिनीहरूले ज्यानको बाजी थापे, मृत्युको पथमा लम्के, जंगलहरूमा छापामार युद्ध लडे, खाडल र धरापहरू खने, रणमैदानमा अस्पतालहरू सञ्चालन गरे। जो प्रत्यक्ष रणमा उत्रेनन्, तिनले पछाडिबाट युद्ध मोर्चालाई सहयोग गरे।

सबै युद्धका लागि, सबै देशका लागि र सबै विजयका लागि खटिए। र यो अदम्य सौर्य, साहस र बलिदानले युद्धलाई विजयतर्फ डोर्‍यायो। त्याग र वीरताको अनुपम इतिहास रचियो। त्यहाँ हरेक घरले एउटा वीरताको कथा रचेका छन्। सोभियत संघ टुक्रे पनि, रुसमा र पूर्व सोभियत गणतन्त्रहरूमा यो दिवस गर्वसाथ मनाइन्छ।

इतिहासले मानवताको खातिर गरिएका यी उत्सर्गहरू सधैं सम्झिरहनेछ। यो विजय दिवसले संसारलाई त्यतिबेलाको सोभियत संघ, बेलायत र अमेरिकाको नाजीविरोधी गठबन्धन र महान् देशभक्तिपूर्ण युद्धमा सोभियतहरूको त्यो पुस्ताले प्रदर्शन गरेको वीरता, साहस र अदम्य शक्तिको सम्मान र सम्झना गराउनेछ र भविष्यमा जुनै प्रकारको फासिज्मविरुद्धको संघर्षका लागि प्रेरित गर्छ।

सन् २०१५ मा आफ्नो युरोप भ्रमणको सम्झना गर्दै सोभियत रुसी कलाकार भासिली लानोभोइ लेख्छन्न्– ‘युरोपमा, पत्रकारहरूले मेरो अनुहारमा हेर्दै भने, तिमी रुसीहरू सधैं किन ‘विजय–विजय’ भन्दै त्यसको पछि दौडिरहन्छौ? हामीले त त्यसलाई उहिले नै बिर्सिसकेका छौं।’

मैले तिनीहरूलाई सोधेँ– ‘तिमीहरूको देशले कति दिन हिटलरको प्रतिरोध गर्न सकेको थियो त ?’ मेरो जवाफ सुनेर तिनीहरू चुप लागे। हिटलरले सम्पूर्ण युरोप तीन महिनामा कब्जा गर्‍यो, जसलाई हाम्रा सिपाहीहरूले चार वर्षसम्म लडेर, ठुलो मूल्य चुकाएर स्वतन्त्र गराउनुपर्‍यो तर युरोपले यो गुणलाई बिर्सन खोजेको छ। अहिले आएर तिनीहरूले हाम्रो विजयलाई निस्तेज पार्ने प्रयास गरेका छन् र यसलाई सबै पुस्ता र जनताको सम्झनाबाट  मेटाउन उद्दत छन्। यो सबैले याद गर्नुपर्छ। हामीले हाम्रा छोराछोरी र नातिनातिनाहरूलाई यसबारे बताउन आवश्यक छ, ताकि सबैले वास्तविकता जानून्। यही कारणले हामी सधैं ‘विजय–विजय’ भन्ने गर्छौं।

द्वितीय विश्वयुद्धमा फासिस्ट शक्तिहरूमाथि गरिएको विजयले युरोप मात्र स्वतन्त्र भएन, चीन, भारतजस्ता थुप्रै मुलुक यही लहरबिच मुक्त भए। यसले औपनिवेशिक हैकममा दबिएका एसिया, अफ्रिका र ल्याटिन अमेरिकन मुलुकहरूमा ठुलो हलचल ल्यायो। कहिल्यै नअस्ताउने सूर्य भनिएका साम्राज्यहरू अस्ताचलतर्फ लुके।

आज विश्वमा नवफासीवादले फेरि टाउको उठाउँदै छ। सृष्टिको आदिकालदेखिका भाइ–भाइ रुस र युक्रेन, जो कुनै बेला साझा मातृभूमिका लागि एउटै मोर्चाबाट फासीवादविरुद्ध लडेका थिए, नवफासीवादका कारण एकअर्काविरुद्ध उत्रिएका छन्। इतिहासमा योभन्दा ठुलो विडम्बना के हुनसक्छ? द्वितीय विश्वयुद्ध रुस, बेलारुस र युक्रेनको साझा दुःख, साझा पीडा र साझा बलिदानको इतिहास हो। नाजीहरूले युक्रेनको राजधानी किभमा बमबारी गरेर आक्रमण सुरु गरेका थिए र युद्धमा सहादत प्राप्त गर्ने एक करोड जति युक्रेनी थिए।

फासीवादले अरूका विचार र इतिहासलाई सहँदैन। आज एक वा अर्को तरिकाबाट विजयको गौरवशाली इतिहासलाई तोडमोड गर्ने र व्यंग्य गर्ने प्रयासहरू हुँदै छन्। हिजो पूर्वी युरोपका विभिन्न सहरमा सोभियत वीरहरूको सम्मानमा खडा गरिएका सोभियत सैनिकका स्मारक र सालिकहरू भत्काइँदै छन्, जसलाई उनीहरूले ‘मुक्तिदाता’को नाम दिएका थिए।

सोभियत संघ युरोप र एसियालाई फासीवादी आक्रमणकारीहरूबाट मुक्त गर्न अग्रणी रह्यो, तर आज नवनाजीहरूले दोस्रो विश्वयुद्धको ऐतिहासिक तथ्यहरूलाई झुटो बनाइरहेका छन्, अतिक्रमणकारीहरूलाई मुक्तिदाताको रूपमा चित्रण गर्ने र सोभियत संघको निर्णायक भूमिकालाई नजरअन्दाज गर्ने प्रयास गरिरहेका छन्।

सोभियत संघको विघटन, वार्सा सैनिक संगठनको भंग र बर्लिनको पर्खालको पतनपछि विचारधाराको युग समाप्त हुने, शीतयुद्ध अन्त्य हुने र त्यससँगै दिगो शान्ति हुने परिकल्पना गरिएको थियो तर त्यसको विपरीत नाटोको विस्तार हुन थाल्यो। त्योसँगै उदय भएको एकल ध्रुवीय दादागिरीले विश्व आक्रान्त बनायो। र आजसम्म साम्राज्यवादले आफ्नो हैकम देखाउँदै अन्य मुलुकको स्वतन्त्रता र सार्वभौमसत्ताको धज्जी उडाइरहेको छ।

विजय दिवसको सन्दर्भमा मानव सभ्यताले क्रूरता र दानवताविरुद्ध गरेको त्याग र बलिदानलाई अझ बढी सम्झन आवश्यक छ। जब मानवताले इतिहासका पाठहरू बिर्सन्छ, युद्ध र त्रासदीहरू दोहोरिन सक्छन्। त्यसैले विजयबारे, शान्तिका निम्ति चुकाइएको मूल्यबारे बोल्न, लेख्न र यो सम्झना नयाँ पुस्तालाई हस्तान्तरण गर्न आवश्यक छ।

विजय दिवसको उपलक्ष्यमा विश्वमानव स्वतन्त्रताका लागि होमिने विश्वभरका वीरहरूलाई उच्च सम्मान र सबैलाई शुभकामना छ। संसारले युद्ध कहिल्यै भोग्न नपरोस्!

प्रकाशित: २६ वैशाख २०८३ ०८:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App