१८ कार्तिक २०८३ बुधबार
image/svg+xml
समाज

ताप्लेजुङबासीले नागरिकताको प्रतिलिपी लिन अब गृहजिल्ला जान नपर्ने

ताप्लेजुङ जिल्लामा बसोबास गरिरहेका नेपालको जुनसुकै जिल्लाका नागरिकले अब ताप्लेजुङबाटै नागरिकता प्रमाणपत्रको प्रतिलिपि प्राप्त गर्न सक्ने भएका छन्।

प्रमुख जिल्ला अधिकारी उमेशकुमार दाहालले बुधबार सूचना जारी गर्दै उक्त जानकारी दिएका हुन्।

प्रजिअ दाहालका अनुसार नागरिकता प्रमाणपत्रवाहकको जैविक विवरण राष्ट्रिय परिचयपत्र व्यवस्थापन सूचना प्रणालीमा प्रमाणीकरण भएको तथा केन्द्रीकृत नागरिकता सूचना व्यवस्थापन प्रणालीमा अद्यावधिक भएको हुनुपर्नेछ।

जिल्ला प्रशासन कार्यालयले काठमाडौं, भक्तपुर र ललितपुरमा बसोबास गरिरहेका ताप्लेजुङका नागरिकले भने जिल्ला प्रशासन कार्यालय भक्तपुरबाट नागरिकता प्रमाणपत्रको प्रतिलिपि लिन सक्ने जनाएको छ।

राष्ट्रिय परिचयपत्र व्यवस्थापन सूचना प्रणाली र केन्द्रीकृत नागरिकता सूचना व्यवस्थापन प्रणालीमा रहेका विवरणसँग हुबहु मिल्ने विवरणको हकमा नागरिकता प्रमाणपत्रको प्रतिलिपि लिन स्थानीय तहको सिफारिस आवश्यक नपर्ने पनि प्रशासन कार्यालयले स्पष्ट पारेको छ।

स्थानीय तहको सिफारिस आवश्यक नपर्ने अवस्थामा नागरिकता नियमावली (पाँचौँ संशोधन), २०८३ को अनुसूची १६ बमोजिमको ढाँचामा निवेदन दिनुपर्नेछ। त्यस्तै, आफ्नो जिल्ला बाहिरबाट नागरिकता प्रमाणपत्रको प्रतिलिपि माग गर्दा अनुसूची १८ बमोजिमको ढाँचामा निवेदनसहित आवश्यक कागजात पेस गर्नुपर्ने जनाइएको छ।

उक्त ढाँचाका निवेदन जिल्ला प्रशासन कार्यालयबाट निःशुल्क उपलब्ध हुने वा कार्यालयमै लेख्न सकिने व्यवस्था रहेको पनि सूचनामा उल्लेख छ।

जिल्ला प्रशासन कार्यालयका अनुसार नेपाली नागरिकता प्रमाणपत्र तथा त्यसको प्रतिलिपिका लागि स्थानीय तहबाट गरिएको सिफारिस ३५ दिनसम्म मान्य हुनेछ।

प्रकाशित: १८ कार्तिक २०८३ १६:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App