१० आश्विन २०८३ शनिबार
image/svg+xml
समाज

सुस्ताका बस्ती डुबानमा : करिब ३०० घरपरिवार प्रभावित, नारायणीको बहाव प्रतिसेकेन्ड २ लाख ८० हजार क्युसेक

लगातारको वर्षासँगै नारायणी नदीको जलसतह बढेपछि पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका ५ का विभिन्न बस्ती डुबानमा परेका छन्। बाढीले थारू टोल, सैनिक टोल, बड्की टोल र क्याम्प टोललगायतका बस्ती प्रभावित भएका छन्। 

नारायणी नदीको बाढी थारू टोलमा पसेपछि सशस्त्र प्रहरी बल नेपाल बीओपी सुस्ताले स्थानीय तथा पशुचौपायाको उद्धार गरी सुस्तामै रहेको होल्डिङ सेन्टरमा स्थानान्तरण गरेको छ। जोखिममा रहेका अन्य स्थानीयलाई समेत सुरक्षित स्थानतर्फ सार्ने काम भइरहेको छ। 

बाढीका कारण सुस्तामा डेढ सयभन्दा बढी घरमा पानी पसेको छ भने करिब २२० घरपरिवार प्रभावित भएको स्थानीयले बताएका छन्। थारू टोलका ७८ घरपरिवारलाई शुक्रबार दिउँसो नै होल्डिङ सेन्टरमा सारिएको थियो। शुक्रबार राति सैनिक टोल र बड्की टोलमा समेत बाढी पसेपछि थप ८५ घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको छ। 

स्थानीयका अनुसार सुस्ताका करिब २५० घर डुबानमा परेका छन्। उनीहरू अग्लो स्थानमा रहेका छिमेकीका घर तथा सामुदायिक विपद् व्यवस्थापन समितिले निर्माण गरेको सामुदायिक भवनमा आश्रय लिएर बसेका छन्। 

नारायणी नदीमा पानीको सतह अझै बढिरहेको भएकाले सुस्तामा थप डुबानको जोखिम रहेको छ। शुक्रबार बिहान गण्डक ब्यारेजमा पानीको बहाव ९२ हजार क्युसेक रहेकोमा शनिबार बढेर प्रतिसेकेन्ड २ लाख ८० हजार क्युसेक पुगेको बताइएको छ।  

जोखिमपूर्ण क्षेत्रबाट हालसम्म १६३ जनालाई सुरक्षित स्थानमा सारिएको छ। सुरक्षा निकायको टोली प्रभावित क्षेत्रमा परिचालन गरी उद्धार तथा स्थानान्तरणको काम गरिरहेको छ। 

नारायणी नदीको कटानका कारण नेपाल–भारत सीमा स्तम्भका रूपमा लिइएको सिमलको रुखसमेत बगाएको स्थानीयले बताएका छन्। लगातारको वर्षाका कारण नदीको बहाव थप बढेमा सुस्ताका अन्य बस्तीसमेत प्रभावित हुन सक्ने जोखिम रहेको छ। 

प्रकाशित: १० आश्विन २०८३ १३:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App