१७ जेष्ठ २०८३ आइतबार
image/svg+xml
समाज

पढाइ खर्च जुटाउन केदारनाथ पुग्छन् सिंजाका विद्यार्थी

केदारनाथमा मान्छे बोक्दै भिमबहादुर रावत। तस्बिर: भिमबहादुर रावत

वैशाखदेखि असोजसम्म विशेष पूजाआजा र मेला लाग्ने भारतको प्रमुख तीर्थस्थल केदारनाथमा ३० हजारभन्दा बढी नेपालीहरू ज्याला मजदुरीका लागि पुगेका छन्।

केदारनाथको दर्शन गरेपछि मोक्ष प्राप्त हुने धार्मिक विश्वासले लाखौं भारतीयसहित तीर्थयात्रीहरू केदारनाथ धाम पुग्ने गर्छन्, भने केही पर्यटकका रूपमा पनि जाने गर्छन्। हिन्दु धर्मावलम्बीहरूका लागि भारतका प्रमुख चार धाममध्ये पर्ने केदारनाथ मन्दिरमा दैनिक ३५ हजारभन्दा बढी तीर्थयात्री पुग्ने गरेको बताइन्छ। ज्याला मजदुरीका लागि गत वैशाखमा गएका जुम्लाको सिंजा गाउँपालिका–६ का भिमबहादुर रावतका अनुसार केदारनाथमा जुम्लाका मात्रै ८ देखि १५ हजारको हाराहारीमा छन्। केदारनाथ मन्दिरसम्म दैनिक भारी बोकेर जीविकोपार्जन गर्ने नेपालीको संख्या मात्रै ३० हजारभन्दा बढी छ।

रावतका अनुसार केदारनाथ तीर्थ यात्रामा आउने यात्रुलाई मन्दिरसम्म पुर्याइदिए वापत दैनिक ५ देखि ४० हजार रुपैयाँसम्म कमाइ हुने भएकाले नेपालको पश्चिमी क्षेत्रका युवाहरूको प्रमुख गन्तव्य केदारनाथ बन्ने गरेको छ। हाल केदारनाथमा जुम्ला, कालीकोट, मुगु, डोल्पा, सुर्खेत, जाजरकोट, सल्यान, रुकुम, हुम्ला, बाजुरा, रुकुम पूर्व लगायतका जिल्लाका युवाहरू विभिन्न काममा संलग्न छन्।

‘मेरो गाउँका मात्रै चार जना पढ्ने विद्यार्थी छौं,’ रावत भन्छन्, ‘केजी अनुसार रुपैयाँ कमाइ हुन्छ। ७० केजीको १५ हजार रुपैयाँ, ८० केजीको २२ हजार रुपैयाँ र ५०/६० केजीको १० देखि १२ हजार रुपैयाँ कमाइ हुन्छ। तर म ४५ देखि ७० केजी बोकेर काम गर्छु। दुई दिनमै १८ हजार रुपैयाँ कमाएँ।’

गौरीकुण्डदेखि केदारनाथसम्म पुग्न २२ किलोमिटर उकालो यात्रा गर्नुपर्ने हुन्छ। ‘माथि उकालो चढ्दा कमाइ राम्रो हुन्छ, तर तल झर्दा दुई–तीन हजार रुपैयाँ मात्रै कमाइ हुन्छ,’ उनी भन्छन्। कक्षा १२ उत्तीर्ण गरेका रावत सुर्खेतमा बसेर पढ्दै थिए। ‘आर्थिक अवस्थाले कोठा भाडा तिरेर पढ्ने अवस्था भएन, त्यसैले केदारनाथ आएँ,’ उनले भने, ‘पढ्ने खर्च जुटाएर हिउँदमा फर्केर ट्युसन पढ्छु। तर काम पनि सधैं पाइँदैन, कहिलेकाहीँ हप्तौंसम्म खाली बस्नुपर्छ।’

भारतका अन्य क्षेत्रको तुलनामा केदारनाथ बढी कमाइ हुने ठाउँका रूपमा चिनिन्छ। ‘अन्यत्र एक वर्षको कमाइ यहाँ एक महिनामै हुन सक्छ,’ रावत भन्छन्। हिँड्न नसक्ने वृद्धवृद्धा, बालबालिकालाई उकालोमा बोकेर लैजाने काम पाइने भएकाले नेपाली युवाहरू आकर्षित भएका हुन्।

केदारनाथ दर्शन गर्न जाने तीर्थयात्रीलाई डण्डी (चार जनाले बोक्ने डोली), कण्डी (डोको काटेर एक जनाले बोक्ने) र घोडामार्फत २२ किलोमिटर उकालो यात्रा गराइन्छ। यसवापत दैनिक १० देखि ४० हजार रुपैयाँसम्म कमाइ हुने जुम्लाकै मिमबहादुर रावत बताउँछन्। मिमबहादुर पनि १२ कक्षा उत्तीर्ण विद्यार्थी हुन्। ‘मेरो श्रीमती सुर्खेतमै लोकसेवा तयारी गर्छिन्,’ उनी भन्छन्, ‘दुवै जना बसेर पढ्ने अवस्था भएन, त्यसैले पाँच–छ महिना कमाएर फर्किने योजना छ।’

उनले थपे, ‘हरेक वर्ष भारतका विभिन्न सहरमा काम गर्न जान्छु। पढ्ने खर्च जुटाउँछु। यो मात्रै मेरो पीडा होइन, अधिकांश नेपाली युवा र विद्यार्थीको साझा समस्या हो। आफ्नै देशमा रोजगारी छैन, भए पनि राम्रो ज्याला पाइँदैन, समयमै भुक्तानी हुँदैन। बाध्य भएर पढाइ छाडेर कमाउन आउनुपरेको छ।’

हरि रावत पनि १२ पास गरेका विद्यार्थी हुन्। ‘गरिबको जिन्दगी यस्तै हो,’ उनी भन्छन्, ‘काम नगरे खान पुग्दैन। पढाइ त परको कुरा भयो। जहाँ काम पाइन्छ, त्यहीँ जानुपर्छ। केही रुपैयाँ कमाएर दसैंमा घर फर्किन्छौं।’ जुम्लाको सिंजा–६ का रविनबहादुर रावत पनि अध्ययन छाडेर केदारनाथ पुगेका छन्। ‘स्थानीय सरकारका बजेटका पाना रोजगारी योजनाले भरिएका हुन्छन्, तर कार्यान्वयन शून्य छ,’ उनी भन्छन्, ‘हामीले “गाउँमा सिंहदरबार आयो” भन्ने सुनेका हौं, तर रोजगारी आएन।’

गाउँ सुनसान छ, चुलोको आगो अझै महिलाकै हातमा छ र युवाहरू अझै कालापहाडतिरै छन्। ‘गाउँमा सिंहदरबार आयो, तर रोजगारी आएन’, यही वाक्य अहिले सिंजाको यथार्थ बनेको छ। यसअघि, २०८० साउन १८ गते राति केदारनाथमा गएको पहिरोमा जुम्लाको पातारासी गाउँपालिका–३ चौरगाउँका एकै घरका ७ जनासहित ९ जना बेपत्ता भएका थिए। पहिरोमा २८ वर्षीय अमर बोहोरा, उनकी २६ वर्षीया पत्नी अनिता, १४ वर्षीया छोरी सलिता, ८ वर्षीया पिंकी, ७ वर्षीय पृथ्वी, ६ वर्षीय जटिल र ३ वर्षीय वकिलसहित सुखीराम रावत र बमबहादुर बोहोरा बेपत्ता भएका थिए। पातारासी–२ पेरे गाउँका २२ वर्षीय चन्द्र नेपाली र धनराज बुढा पनि सोही घटनामा बेपत्ता परेका थिए।

यता, जुम्लामा पछिल्लो पाँच वर्षमा ३ हजार ७ सय ५६ जनाले राहदानी लिएका छन्। जिल्ला प्रशासन कार्यालयका अनुसार आर्थिक वर्ष २०७७/०७८ देखि २०८१/०८२ को असोज मसान्तसम्म उक्त संख्या पुगेको हो। चालु आर्थिक वर्ष २०८१/०८२ को असोज मसान्तसम्म मात्रै ६ सय ३२ जनाले राहदानी लिएका छन्, जसमा १ सय ५७ महिला र ४ सय ७५ पुरुष छन्।

आर्थिक वर्ष २०८०/०८१ मा ७ सय ८३ (१४२ महिला, ६४१ पुरुष), २०७९/०८० मा १ हजार ४ सय ५ (२ सय ४० महिला, १ हजार १ सय ६५ पुरुष), २०७८/०७९ मा ६ सय (२ सय ४६ महिला, ३ सय ५४ पुरुष) र २०७७/०७८ मा ३ सय ३६ (१ सय महिला, २ सय ३६ पुरुष) ले राहदानी बनाएका छन्। रोजगारीको खोजीमा विदेशिने युवाहरूको बढ्दो संख्या र गाउँमा घट्दो जनशक्ति हेर्दा सिंहदरबार गाउँमा पुग्यो, तर रोजगारी पुग्न सकेन।

प्रकाशित: १९ वैशाख २०८३ १०:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App