खोटाङ प्रशासनले दसैँ, तिहारजस्ता चाडपर्वमा जुवातास खेलेको पाए सख्त कारबाही गर्ने चेतावनी दिएको छ। जिल्ला प्रशासन कार्यालयले सर्वदलीय सर्वपक्षीय बैठक राखेर जुवातास नखेल्न अग्रीम जानकारी दिएको हो।
चाडपर्वको अवसरमा रमाइलो गर्ने नाममा जथाभावी जुवातास र सट्टेबाजी हुने गरेको सर्वसाधारणको गुनासो आएकाले यस्तो सचेत गराइएको जनाएको छ। दसैँ-तिहारको अवसर पारेर मनोरञ्जन तथा रमाइलो गर्ने नाममा हजारदेखि लाखसम्मको बाजीमा जुवातास खेल्ने गरेको पाइएको भन्दै प्रशासनले सचेत गराएको छ।
बैठकले दसैँ-तिहारमा जुवातास नखेल्न र नखेलाउन आग्रह गर्दै कानुन बमोजिम सख्त कारबाही गर्ने निर्णय गरेको छ। असोजमा दसैँ, त्यसपछि तिहार, अनि नेपाल सम्वत्, छठर साकेला उभौलीजस्ता एक पछि अर्को चाडपर्व लगातार आउँदै गरेको र यो अवसरमा जुवातासजन्य गतिविधि हुने गर्दा कतिपयको आर्थिक स्थिति बिग्रने भएकाले प्रशासनले सचेत गराएको हो।
प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले शनिबार राखेको बैठक निर्णय अनुसार सार्वजनिक सूचना प्रकाशन गर्दै यस्तो निर्देशनात्मक आग्रह गरेकी छिन्। जारी ७ बुँदे सार्वजनिक सूचनामा दैनिक उपभोग्य एवं अत्यावश्यक वस्तुमा कृत्रिम अभाव सृजना नगर्न, कालोबजारी, मूल्यवृद्धि नगर्न, म्याद नाघेका अखाद्यवस्तु बिक्री तथा वितरण नगर्न पनि सचेत गराइएको छ।यस्ता उपभोक्ता हितविपरीतका कार्यहरू गरेको पाइए कानुन बमोजिम कारबाही हुने चेतावनी पनि सूचनामा दिइएको छ।
चाडपर्वका बेला सार्वजनिक स्थलहरूमा अनावश्यक भीडभाड, होहल्ला र झैझगडा नगर्न पनि सुझाइएको सूचनामा सवारी साधनमा क्षमताभन्दा बढी यात्रु नबोक्न, तोकिएभन्दा बढी भाडा नलिन, मादक पदार्थ सेवन गरी सवारी नचलाउन र ट्राफिक नियमको पूर्ण पालना गरी सुरक्षित यात्रा गर्न गराउन पनि अनुरोध गरिएको छ। यात्राका क्रममा कुनै समस्या परेमा सहयोग चाहिए यात्रु सहायता कक्ष अथवा नजिकको प्रहरी एकाई तथा ९८५२८४९३२२ मा सम्पर्क गर्न पनि अनुरोध गरिएको छ।
बैठकले मनसुनी वर्षाले बिग्रेका, भत्केका सडकहरू मर्मतसंभार गरी चालु हालतमा राख्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ। त्यसैगरी आफ्नो टोल छिमेकमा शंकास्पद गतिविधि गरेको पाइए, देखिए तत्काल नजिकको प्रहरी एकाई वा माथिको नम्बरमा खबर गर्न आग्रह गरिको छ।
जारी गरेको सूचनाविपरीत कार्य कोही कसैबाट भए गरेवा गराएको पाइएप्रचलित कानुन बमोजिम कारबाही हुने चेतावनी दिइएको छ।
प्रकाशित: ११ आश्विन २०८२ १९:१७ शनिबार





