प्रधानमन्त्री बालेन शाहले सङ्घीय संसद्मा सीमा सम्बन्धमा दिएको विवादास्पद अभिव्यक्ति र नवलपरासीको सुस्तामा भारतीय सुरक्षा बल (एसएसबी) ले गरेको ज्यादतीविरुद्ध वैज्ञानिक समाजवादी विद्यार्थी संगठन नेपालले राजधानीमा विरोध प्रदर्शन गरेको छ।
आइतबार काठमाडौंको माइतीघर मण्डलामा भेला भएका संगठनका नेता तथा कार्यकर्ताहरूले प्रधानमन्त्री बालेन शाहले हालै सङ्घीय संसद्मा नेपालले पनि भारतको सीमा मिचेको भनी दिएको अभिव्यक्तिप्रति आपत्ति जनाए।
संगठनले प्रधानमन्त्रीको उक्त भनाइले नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डतामाथि आँच पुर्याएको ठहर गरेको छ।
‘प्रधानमन्त्री जस्तो गरिमामय पदमा बसेर आफ्नै भूमिमाथि प्रश्न उठाउनु र छिमेकीको अतिक्रमणलाई वैधता दिन खोज्नु स्वीकार्य छैन,’ प्रदर्शनमा सहभागी एक नेताले भने।
यसैगरी विरोध प्रदर्शनको अर्को मुख्य कारण नवलपरासी पश्चिमको सुस्तामा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले गरेको ज्यादती रहेको छ। सुस्ता गाउँपालिका–५ स्थित थारू टोलमा शुक्रबार भारतीय एसएसबीको टोली अनाधिकृत रूपमा प्रवेश गरेपछि स्थानीयबासीले त्यसको प्रतिकार गरेका थिए।
स्थानीयको प्रतिकारपछि एसएसबीको टोली पछि हट्न बाध्य भएको थियो। संगठनले सुस्ताका स्थानीयको साहसको प्रशंसा गर्दै उनीहरूलाई राज्यले उचित सम्मान दिनुपर्ने माग अघि सारेको छ।
वर्षौँदेखि सीमा रक्षाका लागि लडिरहेका सुस्तावासीहरूमाथि विदेशी सुरक्षा बलले पटक पटक गर्ने यस्ता अभद्र व्यवहार र ज्यादती रोक्न सरकार असफल भएको उनीहरूको आरोप छ।
उनीहरूले राष्ट्रियताको रक्षा गर्न र वैदेशिक हस्तक्षेपविरुद्ध एकजुट हुन आम नागरिकलाई आह्वान समेत गरेका छन्।
हेराैं तस्बिरहरु, सबै तस्बिर: विजय राई/नागरिक








.jpg)
प्रकाशित: ३१ जेष्ठ २०८३ १५:२२ आइतबार





