नदी किनारका जोखिमपूर्ण बस्तीबाट हटाएर सुरक्षित स्थानमा सार्ने भन्दै सरकारले कीर्तिपुरको ‘राधास्वामी सुकुम्बासी होल्डिङ सेन्टर’ मा राखेका सुकुम्बासीहरू हिजोकै नियति व्यहोर्न विवश भएका छन्।
अविरल वर्षासँगै बागमती नदीमा आएको बाढी सरकारी सेन्टरभित्रै पसेपछि पीडितहरूले सरकारले आफूहरूलाई उल्टै बाढीको मुखमा धकेलेको भन्दै आक्रोश पोखेका छन्।
गएराति सुतिरहेकै अवस्थामा अचानक सेन्टर जलमग्न भएपछि त्यहाँ आश्रय लिइरहेका सुकुम्बासीहरूको बिचल्ली भएको छ। ज्यान जोगाउन रातभर हिलो र पानीमा छटपटाउनुपरेको उनीहरूको गुनासो छ।
बाढीको चपेटामा परेका एक सुकुम्बासीले आफ्नो पीडा पोख्दै भने, ‘राति हाम्रो बिजोग बिजोग भयो, एक्कासि बाढी आयो। बालेनले (प्रधानमन्त्रीले) हामीलाई बाढीबाट जोगाउन यहाँ ल्याएको भन्नुभएको थियो, तर उहाँले नै हामीलाई बाढीमै पुर्याउनुभयो। यहाँ धेरै बिरामीहरू पनि छन्, सरकारले सुकुम्बासीमाथि बर्बर गर्यो। अलिकति पानी पर्दा पनि जलमग्न हुने ठाउँमा थाहा पाउँदापाउँदै पनि सरकारले हामीलाई यहाँ ल्याएर राख्यो।’
पीडितहरूका अनुसार सामान्य वर्षामा समेत डुबान हुने सुन्दरीघाटको यस सेन्टरमा आफूहरूलाई सारेर सरकारले लापरबाहीको पराकाष्ठा देखाएको छ। रातको समयमा अचानक पानी पसेकाले धेरैले आफ्नो ओढ्ने–ओछ्याउने र खाद्यान्नसमेत जोगाउन पाएका छैनन्।
गृह मन्त्रालयका अनुसार राति १ः३८ बजे डुबानको सूचना प्राप्त भएलगत्तै सशस्त्र प्रहरी बलको दंगा नियन्त्रण रेजिमेन्टबाट प्रहरी नायब उपरीक्षक (डीएसपी) को कमाण्डमा डिजास्टर म्यानेजमेन्ट (डीएम) सहित ३० जना र नेपाल प्रहरीका ३० जना गरी ६० जनाको संयुक्त टोली उद्धारमा खटिएको थियो। टोलीले डुङ्गाको प्रयोग गरी प्रभावितहरूको उद्धार गरेको थियो।
होल्डिङ सेन्टरमा रहेका कुल १५४ जनामध्ये ५४ जनालाई उद्धार गरी त्रिभुवन विश्वविद्यालय परिसरस्थित ‘स्मृति भवन’ मा सुरक्षित रूपमा सारिएको छ। अन्य ६ जना नजिकैको होस्टल वा आफन्तकहाँ गएका छन् भने ९४ जनाले अन्यत्र जान अस्वीकार गर्दै सेन्टरभित्रकै पानी नपसेको सुरक्षित भागमा बसेका छन्।
शनिबार बिहानैदेखि घटनास्थलमा विभिन्न विषयगत क्लस्टरहरू सक्रिय भई प्रभावितहरूका लागि खाना, पिउने पानी र आवश्यक राहत सामग्री व्यवस्थापनको काम गरिरहेका छन्।
बाढीबाट जोगाउने भन्दै सुकुम्बासी बस्तीमा डोजर चलाएको सरकारले वैकल्पिक व्यवस्थाका नाममा उनीहरूलाई झन् ठूलो जोखिममा पारेको सुकुम्बासीहरुको गुनासो छ।
प्रकाशित: २७ असार २०८३ ०८:२७ शनिबार





