२३ कार्तिक २०८३ सोमबार
image/svg+xml
समाज

डोल्पा कारागारबाट भागेका छ कैदीबन्दी पक्राउ

जिल्ला कारागार डोल्पाबाट फरार भएका आठ जनामध्ये छ जना कैदीबन्दीलाई प्रहरीले पक्राउ गरेको छ। आइतबार थप दुई जना पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा त्रिपुरासुन्दरी नगरपालिका–४ डोल्पाका हरिबहादुर बुढा र जाजरकोटका यज्ञ विक रहेका छन्। उनीहरूलाई डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–४ रङगाउँभन्दा माथिको जङ्गलमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक अनिलराज गिरीले बताए। उनका अनुसार पक्राउ परेका बुढा र विक दुवै जना जबर्जस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका कैदी हुन्।

यसअघि कात्तिक १८ गते प्रहरीले त्रिपुरासुन्दरी नगरपालिका–४ डोल्पास्थित रङगाउँमा कमला बुढाको घरमा लुकीछिपी बसेको अवस्थामा कालीप्रसाद रोकाय र जाजरकोटका कपिल परियारलाई पक्राउ गरेको थियो।

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता सन्तोषसिंह राठौरका अनुसार कात्तिक १७ गते रुकुमपश्चिमका रामबहादुर विक र सल्यानका रेशम राना पक्राउ परेका थिए। यही कात्तिक १४ गते डोल्पा जिल्ला कारागारबाट सुरुङ खनेर आठ जना कैदीबन्दी भागेका थिए। भागेकामध्ये छ जनालाई प्रहरीले पक्राउ गरेको र बाँकी दुई कैदीबन्दीको खोजीकार्य भइरहेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

प्रकाशित: २३ कार्तिक २०८३ ०७:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App