बाढीबाट क्षतिग्रस्त बनेको विद्यालय झन्डै दुई वर्षपछि पुनर्निर्माण भएको छ।
२०८१ साल असोज १२ र १३ गते परेको अविरल वर्षासँगै आएको बाढीले बगाएको सिन्धुलीको सुनकोसी गाउँपालिका १ स्थित प्राथमिक विद्यालय नेपालथोकको पक्की भवन बनेको हो।
प्लान इन्टरनेशन नेपालको आर्थिक सहयोगमा सिन्धुलीको सिड्स नेपालले क्षतिग्रस्त विद्यालय भवन सहित व्यवस्थित शौचालय बनाएर सुनकोसी गाउँपालिका मार्फत विद्यालयलाई भवन हस्तान्तरण गरेको हो।
भ्याट सहित करिब १ करोड ३२ लाख रुपैयाँ लागतमा चार कोठे सुरक्षित विद्यालय भवन र लैङ्गिक मैत्री तथा समावेशी शौचालय हस्तान्तरण गरिएको सिड्स नेपाल सिन्धुलीका अध्यक्ष दिपककुमार घिमिरेले जानकारी दिए।
बाढीले पूर्ण रूपमा क्षति गरेपछि पहिला अस्थायी टहरो(टिएलसी) बनाएर पठनपाठन सुरु गरिएको र पछि पक्की भवन बनाइएको गाउँपालिकाले जनाएको छ।
विपद्मा पालिकाभर धेरै विद्यालयमा क्षति पुगेपछि दातृ निकायको सहयोगमा विद्यालयको भवन सुन्दर र आधुनिक बनेको सुनकोसी गाउँपालिकाका अध्यक्ष दिपा बोहरा दाहालले जानकारी दिइन्।
सुनकोसी गाउँपालिकाभर दुई वर्ष अगाडी रोशी र कोसीमा आएको बाढीले आसपासका अधिकांश विद्यालय भवन पूर्ण क्षति गरेको थियो।
यसका अलावा पहिरोका कारण अन्य धेरै विद्यालय पूर्ण क्षति भएको र पुनर्निर्माणका कामहरू हुँदै आएको गाउँपालिकाले जनाएको छ।
प्रकाशित: २० जेष्ठ २०८३ १४:५२ बुधबार





