१५ जेष्ठ २०८३ शुक्रबार
image/svg+xml
समाज

साकेला खोटाङकै उत्कृष्ट स्थानीय तह

खोटाङको साकेला गाउँपालिका अन्य स्थानीयतहभन्दा अलग पहिचान बनाएको भन्दै ‘विशिष्ट स्थानीयतह’को रुपमा सम्मानित भएको छ । जिल्ला समन्वय समिति खोटाङले दसौँ जिल्लासभाको अवसर पारेर साकेलालाई सम्मान गरेको हो ।

खासगरि सरसफाई, पर्यापर्यटन, सार्वजनिकस्थलको सौन्दर्यकरण तथा पर्यटन प्रबद्र्धनमा उल्लेखनीय योगदान गरेकोमा साकेला सम्मानित भएको हो । विगत २ वर्षयता ‘श्रम साकेला अभियान’ सञ्चालन गर्दै आएको साकेलाले गाउँपालिकाभित्रका विभिन्न सडक, सार्वजनिस्थल, बस्ती र टोलसम्म श्रमदानबाटै सरसफाई र व्यवस्थापन गर्दै आएको छ ।  

श्रम अभियानमार्फत हरेक सार्वजनिकस्थल तथा संघसँस्था र कार्यालयहरु, बाटोघाटो, पुल पुलेसालगायत संरचनाहरुको मर्मतदेखि निर्माणसम्मका काम बिना बजेट साकेलाले गर्दै आएको छ । २ नगर र ८ गाउँपालिका गरि जिल्लाका १० स्थानीयतमध्ये अन्यको  दाँजोमा फरक र नमूनायोग्य अभ्यास गरेकाले साकेला विशिष्ट र अलग पहिचान बनाउदै सम्मानको योग्य भएको हो ।

सदरमुकाम दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकासँग सीमा जोडिएको साकेला छिर्ने मुख्य प्रवेशद्वार साप्सुखोलाक्षेत्रलाई पर्यटकीयस्थल तथा साँस्कृतिक केन्द्रको रूपमा विकास गरेको छ । साकेला प्रवेश गर्नेवित्तिकै स्काईवाल्क, फोटो फ्रेम, स्वागतगेट तथा आधुनिक बसस्टप निर्माण गरिएको छ । जसले साकेला प्रवेश गर्ने हरेक आगन्तुकलाई पहिलो चरणमै आनन्द र नयाँपनको अनुभूति गराउने गर्छ ।

त्यसैगरि खाली जमिन, डाँडा, पाखा, चौरलगायत सार्वजनिकस्थलहरूमा गाउँपालिकाभित्र बसोबास गर्ने विभिन्न १३ जातजाति र समुदायको साँस्कृतिक शैलीको स्वागत तथा ४ धर्मावलम्बीको आशिर्वाद झल्किने चित्रकला कुँदिएको छ । चित्रकलाले धार्मिक सहिष्णुता, साँस्कृतिक विविधता र सामाजिक सद्भावलाई कलात्मकरुपमा प्रस्तुत गरिएको छ । स्थानीय पर्यटकीयस्थलको पहिचान झल्काउने चित्रकला, पार्क तथा सार्वजनिक स्थानहरूको सौन्दर्यकरण तथा पर्यटकमैत्री पूर्वाधार संरचनाहरु पनि मनमोहकरुपमा निर्माण भएका छन् ।

फोहरमैला व्यवस्थापन गर्न हरेक सार्वजनिकस्थलमा ३ प्रकारका वर्गीकृत डस्टबिन राखिएको छ । हरेक पार्क तथा सार्वजनिकस्थलमा निःशूल्क वाईफाई सेवाको व्यवस्था छ । गाउँपालिका सीमाना र भित्रीबाहिरी सडकहरूमा नवागन्तुकलाई सहज बनाउन विद्युतीय दिशा निर्देश सूचक (डिजिटल डाइरेक्सन साइनबोड) जडान गरिएको छ ।

यस्ता कार्यहरुले साकेला गाउँपालिकाको सबै भूगोल सफा, सुन्दर र पर्यटकमैत्री नमूना स्थानीयतहका रूपमा स्थापित भएको छ । स्थानीयवासी सरोकारवालाहरु गाउँपालिकाको यस्तो अभियानलाई दीर्घकालीन विकास र वातावरण संरक्षणतर्फ सकारात्मक कदम भएको अथ्र्याउँछन् । सरसफाई, सौन्दर्यकरण र साँस्कृतिक प्रवद्र्धनलाई एकैसाथ अघि बढाउने साकेलाको अभ्यास अन्य स्थानीयतहका लागि पनि प्रेरणादायी उदाहरण बनेको भन्दै प्रशंसा हुन थालेको छ । 

प्रकाशित: २६ चैत्र २०८२ १८:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App