१५ आश्विन २०८३ बिहीबार
image/svg+xml
समाज

रसुवा, मनाङ, मुस्ताङ र हुम्ला जोड्ने सडक पूर्ण ठप्प

लगातारको बाढी र पहिरोका कारण बागमती, गण्डकी र कर्णाली प्रदेशका अधिकांश मुख्य राजमार्ग तथा हिमाली जिल्ला जोड्ने रणनीतिक सडकहरू अवरुद्ध भएका छन्।

नेपाल प्रहरीको पछिल्लो तथ्यांकअनुसार बुधबार साँझसम्म रसुवा, मनाङ, मुस्ताङ, कालिकोट र हुम्लाका प्रमुख सडक सञ्जाल पूर्ण रूपमा ठप्प भएका हुन्।

उत्तरी सीमानाका र हिमाली जिल्ला जोड्ने सडकहरू पहिरोले बढी प्रभावित भएका छन्। रसुवाका सम्पूर्ण मुख्य राजमार्गहरू पूर्ण बन्द छन् भने चीनको सीमा जोड्ने जोमसोम-कोरला र सिमिकोट-हिल्सा सडकखण्डमा समेत यातायात पूर्ण रूपमा रोकिएको छ।

गण्डकी प्रदेशमा कहाँ-कहाँ छ अवरोध ?

गण्डकी प्रदेशअन्तर्गत मनाङको बेँसीसहर हुँदै खाङसार जाने सडक बाढीका कारण पूर्ण अवरुद्ध छ। म्याग्दीको बेनी-जोमसोम सडकखण्डको बैसरी र सुकेबगर तथा बेनी-दरबाङ सडकको घुमाउने भीरमा पहिरो खस्दा आवतजावत ठप्प बनेको छ।

मुस्ताङको जोमसोम-कोरला सडकखण्डअन्तर्गत काभ्रेभीर र सेल्फीडाँडामा पहिरो खसेर बाटो पूर्ण बन्द छ। यता, कालीगण्डकी करिडोरअन्तर्गत बाग्लुङको बेलबगर र नवलपरासी पूर्वको घुमाउरी घाट तथा जन्ती पहिरोमा सडक एकतर्फी मात्र सञ्चालनमा छ। जन्ती पहिरोमा ठूला सवारी साधन चल्न सकेका छैनन्।

कर्णाली प्रदेशमा करिडोर र राजमार्ग बन्द

कर्णाली प्रदेशमा पहिरोका कारण कर्णाली करिडोरअन्तर्गत हुम्लाको मुसेडी र स्यालतडीमा सडक पूर्ण बन्द छ। सिमिकोट-हिल्सा सडकखण्डको यालबाङ र ठाडोढुङ्गामा पनि यातायात पूर्ण अवरुद्ध भएको छ।

यस्तै, कालिकोटको खाँडाचक्र नगरपालिका-३ खडिखोलामा बुधबार दिउँसो पहिरो खसेपछि कालिकोट-जुम्ला सडकखण्ड पूर्ण रूपमा अवरुद्ध बनेको छ।

प्रहरीले अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको जनाउँदै यात्रामा निस्कनुअघि सडकको अवस्था बुझ्न सर्वसाधारणलाई आग्रह गरेको छ।

प्रकाशित: १५ आश्विन २०८३ १९:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App