नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले शक्तिशाली चक्रवाती आँधी ‘अर्नब’को सम्भावित प्रभावबाट हवाई उडान तथा विमानस्थलमा हुन सक्ने क्षति न्यूनीकरण गर्न सुरक्षा सतर्कता अपनाउन निर्देशन दिएको छ।
भारतको आन्ध्र प्रदेश तथा विशाखापट्टनम आसपासको तटीय क्षेत्रमा प्रवेश गर्ने अनुमान गरिएको चक्रवाती आँधीको प्रभाव नेपालमा समेत पर्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै प्राधिकरणले हवाई सुरक्षा सतर्कता अपनाउन आग्रह गरेको हो।
प्राधिकरणले बुधबार सुरक्षा परिपत्र जारी गर्दै हवाई सेवा प्रदायक, विमानस्थल सञ्चालक, वायुसेवा सञ्चालक तथा सम्बन्धित निकायलाई आवश्यक तयारी र सतर्कता अपनाउन निर्देशन दिएको छ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार उक्त मौसमी प्रणालीका कारण नेपालमा मध्यमदेखि भारी वर्षा, चट्याङसहितको हुरीबतास, तीव्र हावाहुरी तथा हिमाली र उच्च पहाडी क्षेत्रमा हिमपात हुन सक्छ। यसको प्रभाव विशेषगरी कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा पर्ने सम्भावना छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका केही भागमा समेत असर देखिन सक्छ।
कात्तिक १२ देखि १४ गतेसम्म भारी वर्षा, तीव्र हावाहुरी र दृश्यता कम हुन सक्ने भएकाले हवाई उडान तथा अवतरणमा समस्या आउन सक्ने प्राधिकरणको आकलन छ। प्रतिकूल मौसमले विमानस्थल सञ्चालन, धावनमार्गको अवस्था र उडान सुरक्षामा असर पार्न सक्ने भएकाले सम्बन्धित सबै निकायलाई पूर्वतयारी गर्न भनिएको छ।
प्राधिकरणले हवाई ट्राफिक व्यवस्थापन गर्ने निकायलाई प्रतिकूल मौसममा उडान सञ्चालनको उचित योजना बनाउन तथा आवश्यकताअनुसार अन्य हवाई सेवा एकाइसँग समन्वय गर्न निर्देशन दिएको छ। मौसम निर्धारित सञ्चालन सीमाभन्दा प्रतिकूल भएमा उडानको मार्ग परिवर्तन गर्ने, विमानलाई आकाशमै प्रतीक्षा गराउने (होल्डिङ) लगायतका आवश्यक व्यवस्थापन गर्न पनि भनिएको छ।
त्यस्तै, विमानहरूबीच आवश्यक दूरी कायम गर्न र हावाको गति तथा दिशामा अचानक परिवर्तन हुने अवस्था (विन्ड सियर), वायुमण्डलीय अस्थिरता तथा चट्याङसहितको हुरीबतासबारे उडान भर्ने र अवतरण गर्ने विमानलाई तत्काल जानकारी गराउन परिपत्रमा उल्लेख छ।
भारी वर्षाका कारण धावनमार्गमा पानी जम्ने, सतह चिप्लिने र विमानको ब्रेकिङ क्षमतामा असर पर्न सक्ने जोखिमलाई ध्यानमा राख्दै नियमित निरीक्षण गर्न पनि निर्देशन दिइएको छ। विमानस्थल सञ्चालन, सिभिल इन्जिनियरिङ तथा एयरसाइड विभागबीच निरन्तर समन्वय कायम गर्न, हावाले उडाएर ल्याएका वस्तु तथा फोहोर हटाउन र विमानस्थलका बत्ती तथा अन्य अत्यावश्यक प्रणाली चुस्त अवस्थामा राख्न भनिएको छ।
कुनै उपकरण वा प्रणाली सञ्चालनमा समस्या आएमा तत्काल आवश्यक सूचना जारी गर्नुपर्ने प्राधिकरणले जनाएको छ।
वायुसेवा सञ्चालक तथा उडान चालक दललाई उडानअघि मौसमको विस्तृत मूल्याङ्कन गर्न, सम्भावित ढिलाइ, होल्डिङ र वैकल्पिक विमानस्थलमा अवतरण गर्नुपर्ने अवस्थालाई ध्यानमा राख्न तथा पर्याप्त इन्धनको व्यवस्था गर्न आग्रह गरिएको छ। साथै, निर्धारित सुरक्षा प्रक्रिया पूर्ण रूपमा पालना गर्न पनि निर्देशन दिइएको छ।
प्राधिकरणले हवाई मार्ग सेवा तथा हवाई ट्राफिक व्यवस्थापनका अत्यावश्यक पूर्वाधार, वैकल्पिक विद्युत् आपूर्ति र सञ्चार प्रणाली तयारी अवस्थामा राख्न तथा कुनै गम्भीर जोखिम, अवरोध वा सुरक्षा घटना भएमा निर्धारित माध्यमबाट तत्काल जानकारी गराउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ।
प्रकाशित: ११ कार्तिक २०८३ २२:०० बुधबार





