विराटनगरस्थित पिजफायर रेस्टुरेन्टका सञ्चालक ५१ वर्षीय मनोज खत्रीको मृत्यु प्रकरणमा एक जना महिला कर्मचारीलाई प्रहरी अनुसन्धानका लागि पक्राउ गरेको छ।
खत्रीको मृत्यु प्रकरणमा प्रहरीले रेस्टुरेन्टको हिसाबकिताब हेर्दै आएकी एक महिला कर्मचारीलाई नियन्त्रणमा लिएर आत्महत्या दुरुत्साहन मुद्दामा अनुसन्धान सुरु गरेको मोरङ प्रहरीका सूचना अधिकारी डिएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए।
रेस्टुरेन्टमा करिब ४–५ वर्षदेखि काम गर्दै आएकी झापा गौरादह नगरपालिका–६ की २७ वर्षीय इन्दु भनिने खिलिना दाहाललाई पक्राउ परेकी छन्।
मृतकका भाइले दाहालविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दामा किटानी जाहेरी दिएपछि पक्राउ गरी मोरङ जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरेर घटनाको अनुसन्धान अघि बढाइएको डिएसपी मिश्रले बताए। दाहालले रेस्टुरेन्टको आर्थिक हिसाबकिताब हेर्दै आएकी थिइन्।
मनोज खत्री केराबारीको जंगलमा झुन्डिएको अवस्था फेला परेका थिए। घटनामा अनुसन्धान भइरहेको बताउँदै डिएसपी मिश्रले भने, ‘घटनाका सम्बन्धमा विभिन्न कोणबाट अनुसन्धान भइरहेको छ। अहिले नै यहीँ कारणबाट घटना भएको भन्ने सकिँदैन। शवको पोस्टमार्टमको रिपोर्ट र अन्य अनुसन्धान पूरा भएपछि मात्रै घटनाको यथार्थ विवरण आउने छ।’
पक्राउ परेकी दाहालसँगको व्यक्तिगत सम्बन्ध र रेस्टुरेन्टको आर्थिक हिसाबकिताबलाई केन्द्रमा राखेर प्रहरीले अनुसन्धान अघि बढाएको हो।
प्रारम्भिक अनुसन्धानमा खत्री र युवतिबिच प्रेम सम्बन्ध रहेको खुलेको प्रहरीले जनाएको छ। युवतीले पनि प्रहरीसमक्ष आफू खत्रीसँग केही समयदेखि व्यक्तिगत सम्बन्धमा रहेको स्वीकार गरेकी छन्।
उनीहरूबिच व्यक्तिगत सम्बन्धका साथै आर्थिक कारोबारका विषयमा समेत खटपट देखिएको प्रारम्भिक तथ्यहरूले देखाएका छन्। व्यक्तिगत सम्बन्धमा आएको उतारचढाव र रेस्टुरेन्टको आर्थिक हिसाबकिताबमा कुनै अनियमितता भए÷नभएको विषयलाई केन्द्रमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यद्यपि, खत्रीको मृत्युमा उनको संलग्नता वा उनको व्यवहारको कुनै भूमिका छ वा छैन भन्ने विषय अनुसन्धानबाट पुष्टि भइसकेको छैन।
प्रहरीका अनुसार युवतीले रेस्टुरेन्टको सम्पूर्ण हिसाबकिताब आफूले हेर्दै आएको स्वीकार गरे पनि त्यसमा कुनै अनियमितता नभएको दाबी गरेकी छन्।
खत्रीलाई आफूले तनाव नदिएको र ‘ब्ल्याकमेलिङ’समेत नगरेको उनको भनाइ छ। तर, प्रहरीले डिभाइस परीक्षण गर्ने लगायतका प्राविधिक पक्षबाट पनि अनुसन्धान गरिरहेको छ।
अनुसन्धानका क्रममा युवतीले पछिल्लो समय आफूहरूबिच सामान्य खटपट भइरहेको प्रहरीलाई बताएकी छन्। उनका अनुसार करिब १० दिनदेखि खत्रीले दैनिक अत्यधिक मदिरा सेवन गर्ने गरेका थिए। सम्झाउँदासमेत मदिरा सेवन गर्न नछाडेको उल्लेख गर्दै उनले खत्रीको मृत्युमा आफ्नो कुनै दोष नरहेको दाबी गरिन्।
प्रहरीले खत्रीको व्यक्तिगत सम्बन्ध, पछिल्लो व्यवहार र आर्थिक कारोबारका पक्षलाई जोडेर घटनाको वास्तविकता पत्ता लगाउने प्रयास गरिरहेको छ। घटनासँग सम्बन्धित हुनसक्ने अन्य व्यक्तिलाई पनि निगरानीमा राखिएको प्रहरी स्रोतले जनायो।
विराटनगर–३ घर भएका खत्री शुक्रबार दिउँसो करिब १ बजे स्कुटर लिएर घरबाट निस्किएका थिए। त्यसपछि परिवारसँग सम्पर्कविहीन भएका उनी शनिबार अपराह्न ३ बजेतिर मोरङको केराबारी गाउँपालिका–९ स्थित धारापानी जंगलमा रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए।
स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। परिवारका सदस्यले पहिचान गरेपछि शनिबार साँझ करिब ७ बजे उनको सनाखत भएको थियो।
खत्रीले प्रयोग गरेको स्कुटर भने फेला परिसकेको छैन। स्कुटरको अवस्थासहित घटनासँग सम्बन्धित अन्य तथ्यका बारेमा अनुसन्धान जारी राखेको डिएसपी मिश्रले बताए।
खत्री विवाहित हुन्। उनका श्रीमती, एक छोरा र एक छोरी छन्। घटनाका बेला उनकी श्रीमती भारतमा रहेको र फर्किएर आएपछि परिवारका सदस्यको उपस्थितिमा पोस्टमार्टम प्रक्रिया पूरा गरेपछि शव परिवारको जिम्मा दिइएको प्रहरीले जनाएको छ। खत्रीको शवको पोस्टमार्टम धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको थियो।
प्रकाशित: ९ कार्तिक २०८३ १४:५२ सोमबार





