त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाहरूको खोज तथा उद्धार कार्य थप कठिन बनेको छ । शुक्रबार दुईजनालाई जीवितै उद्धार गर्न सफल भए पनि सुरुङभित्रको भौतिक अवस्था जटिल बन्दै गएपछि थप उद्धार सहज नहुने देखिएको हो ।
उद्धारमा सक्रिय बिनोद श्रेष्ठका अनुसार सुरुङभित्र बाढीले बगाएर ल्याएका मुढा, ठूला–ठूला बोल्डर तथा आरसीसी संरचना भासिएर थुप्रिँदा भित्रसम्म पुगेर खोजी गर्न कठिन भइरहेको छ ।
‘भित्रसम्म जाने बाटाहरू बन्द जस्तै छन् । प्रारम्भिक चरणमा जुन किसिमको सहजता थियो, अहिले अवस्था त्यस्तो छैन । कठिन बनेको छ,’ श्रेष्ठले भने ।
उद्धार टोलीले सुरुङभित्रको अवस्थाबारे फोटो तथा भिडियोमार्फत समेत निरीक्षण गरेको र सुरक्षा निकायका जिम्मेवार अधिकारीबाट अवस्थाको भेरिफिकेसन गरिएको उनले बताए । कठिन अवस्था भए पनि खोज तथा उद्धार कार्य भने नरोकिने श्रेष्ठको भनाइ छ ।
‘रेस्क्यू जारी राख्छौँ । सकेसम्म प्रयास गरिरहेका छौँ,’ उनले भने ।
उद्धारमा संलग्न अर्का उद्धारकर्ता संजोक केसीका अनुसार सुरुङको भित्री भाग भूमिगत पानी र लेदोले भरिएको छ । अत्यधिक लेदोका कारण सुरुङभित्र फसेकाहरूको अवस्थाबारे यकिन गर्नसमेत कठिन भएको उनले बताए ।
‘अन्डरग्राउन्ड पानी र लेदोले भरिएको छ । टनेलको छततर्फको भागमा साथीहरू हुनुभएको भए बाँच्ने अवसर हुने थियो । नत्र भने अब धेरै आश छैन,’ केसीले भने ।
फसेकाहरू जीवित रहेको सम्भावनाप्रति उद्धार टोली आशावादी हुन नसकेको उनले बताए । तर मृत्यु भइसकेको भए पनि उनीहरू कहाँ दबिएका छन् भन्ने यकिन हुन नसकेको केसीको भनाइ छ ।
‘जिउँदो होलान् भन्नेमा हामी आशावादी छैनौँ । मृत्यु नै भएको भए कहाँ दबिएको छ भन्ने यकिन छैन । सोचेको भन्दा धेरै लेदो छ,’ उनले भने ।
सुरुङभित्रको अवस्था अनुमान गरिएभन्दा बढी जटिल देखिएपछि उद्धार टोलीका लागि अबको खोजी चुनौतीपूर्ण बनेको छ । जीवित उद्धारको सम्भावना न्यून देखिए पनि सुरुङभित्र फसेकाहरूको अवस्थाबारे यकिन गर्न खोज तथा उद्धार कार्यलाई निरन्तरता दिइने उद्धारकर्ताहरूले बताएका छन् ।
यसअघि शुक्रबार उद्धार टोलीले सुरुङभित्रबाट दुईजनालाई जीवितै बाहिर निकाल्न सफल भएको थियो । त्यसपछि थप व्यक्तिको खोजीमा उद्धार टोली परिचालन भए पनि सुरुङभित्र थुप्रिएको लेदो, बोल्डर, मुढा र भासिएका संरचनाले उद्धार कार्यलाई थप जटिल बनाएको हो ।
प्रकाशित: १९ भाद्र २०८३ १९:५७ शुक्रबार


-600x400.jpg)
-600x400.jpg)

