१ वैशाख २०८३ मंगलबार
image/svg+xml
समाज

‘रौतामाई-त्रियुगा पर्यटन महोत्सव’ आजदेखि

ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थल रौतापोखरीमा आइतबारदेखि महोत्सव हुँदै छ। ‘रौतामाई-त्रियुगा पर्यटन महोत्सव’ को सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ।

रौतामाई गाउँपालिका र त्रियुगा नगरपालिकाको संयुक्त आयोजनामा नयाँ वर्ष २०८३ का अवसरमा पाँचदिने ‘प्रथम रौतामाई-त्रियुगा धार्मिक पर्यटन महोत्सव ०८२’ को तयारी पूरा भएको आयोजकको भनाइ छ।

त्रियुगा नगरपालिका प्रमुख वसन्त बस्नेतका अनुसार चैत २९ देखि वैशाख ३ सम्म सञ्चालन हुने महोत्सवको सबै तयारी पूरा भइसकेको छ। त्रियुगा, रौतामाई र प्रदेश पर्यटन मन्त्रालयको प्रायोजन तथा विभिन्न दर्जन बढी स्थानीय संस्थाहरूको सहकार्यमा सञ्चालन हुने महोत्सव रौतामाई गाउँपालिका- ६ रौतापोखरीपरिसरमा लगाइने मेयर बस्नेतले बताए।

त्रियुगा नगरपालिकाको सीमानजिक रहेको रौतापोखरी धार्मिक तथा पर्यटकीय दृष्टिकोणले प्रदेशकै उत्कृष्ट स्थानमध्ये एक हो। त्यहाँको पर्यटन विकास गर्न सके रौतामाईसँगै त्रियुगा नगरपालिकालाई पनि पर्यटन क्षेत्रबाट महत्त्वपूर्ण फाइदा पुग्ने उद्देश्यले महोत्सव गर्न लागिएको बस्नेतले बताए।

महोत्सव भव्य रूपमा सम्पन्न गर्न त्रियुगा उद्योग वाणिज्य संघ गाईघाटका वरिष्ठ उपाध्यक्ष दिनेश श्रेष्ठको संयोजकत्वमा महोत्सव मूल आयोजक समिति परिचालन भइरहेको छ। रौतापोखरी उदयपुरको मात्र नभई प्रदेशभरिकै उत्कृष्ट ठाउँ भएकाले यसको धार्मिक, पर्यटकीय तथा ऐतिहासिक विषयलाई प्रचार-प्रसार, विकास र प्रवर्द्धन गर्न महोत्सव गर्न लागिएको हो।

रौतामा हरेक नयाँ वर्षको अवसर पारेर धार्मिक संस्थासँग मिलेर रौतामाई गाउँपालिकाले एकदिने मेला आयोजना गर्दै आएको थियो। यस वर्ष पर्यटन प्रवर्द्धनको योजना अघि सार्दै मेला अवधि लम्ब्याएर महोत्सव लगाउने योजना बनाइएको रौतामाई- ६ का अध्यक्ष पृथ्वीबहादुर राईले बताए। उनका अनुसार महोत्सव आयोजना गर्दा छिमेकी तथा सदरमुकाम त्रियुगा नगरपालिका र प्रदेश सरकारलाई आग्रह गरेपछि साझेदारीको वातावरण बनेको हो। 

पाँच दिनसम्म सञ्चालन हुने महोत्सवमा स्थानीय जातजाति, भाषा, संस्कार-संस्कृतिका झाँकी, राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति, रैथाने अन्नबाली र फलफूल बिक्री वितरण तथा प्रदर्शन, गुराँस क्षेत्रको अवलोकन, मन्दिरपरिसरको पूजा-आराधना र सरसफाइ, प्राकृतिक सम्पदा संरक्षण र संवर्द्धनसम्बन्धी सन्देश प्रवाहलगायत क्रियाकलाप गरिने छ। आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण दिनका लागि स्थानीय कृषि उपज तथा उत्पादन, बजारीकरण गर्ने तथा रोजगारी सिर्जनामा सहयोग पुग्ने अपेक्षा पनि आयोजकले गरेको छ।

महोत्सव अवधिभर राष्ट्रिय तथा स्थानीय कलाकारको सांस्कृतिक प्रस्तुति रहने छ भने धार्मिक पूजाआजा तथा अनुष्ठान, जातीय झाँकी तथा सांस्कृतिक प्रदर्शनी, कृषि, जडीबुटी तथा स्थानीय उत्पादनको प्रदर्शनी र खेलकुद, र्‍याफ्टिङ तथा प्याराग्लाइडिङका साहसिक खेलहरू पनि खेलाइने छ। त्यस्तै अन्य मनोरञ्जनात्मक आकर्षण पनि पस्किने छ।

आयोजक साझेदारमध्येको एक होटल तथा पर्यटन व्यवसायी संघका अध्यक्ष डेबिड बस्नेतले महोत्सवलाई चालु आर्थिक वर्षदेखि उदयपुरलाई पर्यटकको हब बनाउने योजना सुनाए।  रौतापोखरीमा पर्यटक भित्रिने प्रमुख प्रवेशद्वार गाईघाट नै भएकाले त्रियुगा नगरपालिकालाई साझेदार बनाइएको उनले बताए।

बढ्दो गर्मीयाममा चिसो र अग्लो ठाउँ रौतापोखरीको महोत्सव निकै रुचिकर हुने अपेक्षा गरिएको गाईघाटकी होटल व्यवसायी सुनिता रेग्मी राई बताउँछिन्। उनका अनुसार महोत्सव स्थलदेखि प्याराग्लाइडिङ गर्दै खाँबु डहरसम्म झर्ने तथा रौतापोखरीदेखि २५ किलोमिटर तल धाब्लाङलाई अवतरणस्थल बनाएर रौतामाई-५ को फोक्सिन्टारदेखि सुन नदीमा र्‍याफ्टिङ खेलाउने आकर्षण पनि महोत्सवका रहेका छन्।

रौतामाई गाउँपालिका अध्यक्ष वीरेन्द्र मगरले दर्जन संघसंस्थाको सामूहिक प्रयासमा लगाइने भएकाले महोत्सव भव्य र सभ्य रूपमा सफल हुने अपेक्षा गरिएको बताए। रौतामाईको प्रमुख पर्यटकीय तथा धार्मिकस्थल रौतापोखरीमा छिमेकी त्रियुगा नगरपालिका, प्याराग्लाइडिङ तथा ह्यान्डग्लाइडिङ एसोसिएसन, त्रियुगा उद्योग वाणिज्य संघ, जिल्ला उद्योग वाणिज्य संघलगायत संस्थाहरू लागिपर्नुले महोत्सव सफल हुने तथा यो ठाउँको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण टेवा पुग्ने विश्वास अध्यक्ष मगरले लिएका छन्।

सदरमुकाम गाईघाटदेखि ४२ किलोमिटर उत्तर पहाडी भेगमा अवस्थित रौतापाखेरी पुग्न गाईघाट-साउने-रानीबास-डहर हुँदै त्रियुगा १५ खाँबु भएर ४२ किलोमिटर दूरी छिचोल्नुपर्छ। पैदल मार्ग भएर जान चाहनेका लागि गाईघाट-बेलदोभान-सिद्रे-डहर-अँधेरी हुँदै २२ किलोमिटर हिँड्नुपर्ने हुन्छ।

समुद्री सतहदेखि पाँच हजार पाँच सय ३५ फिटको उचाइमा रहेको रौतापोखरीमा चिसो र ओसिलो ठाउँमा जंगलबिच फराकिलो पानी पोखरी छ। बाह्रैकाल पानी नसुक्ने पोखरीको काखमा रौतामाई मन्दिर छ।

मन्दिर परिसरदेखि लगभग झन्डै पाँच किलोमिटर दूरी पैदल यात्राका लागि चक्रपथ निर्माणको रौतापोखरी परिसर बनाइएको छ। चक्रपथ यात्रा गर्ने क्रममा फरक-फरक ठाउँमा दुर्गा भगवती, किराँती राजा यलम्बर, शिव, लक्ष्मी र सरस्वतीको प्रतिमा स्थापना गरी दर्शन गर्ने वातावरण मिलाइएको छ।

प्रकाशित: २९ चैत्र २०८२ १०:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App