२२ भाद्र २०८३ सोमबार
image/svg+xml
समाज

रसुवा बाढी: मृतकको संख्या १,३५६ पुग्यो, करिब ४,२०० अझै बेपत्ता

रसुवामा आएको विनाशकारी बाढीपहिरोका कारण हालसम्म १ हजार ३५६ जनाको ज्यान गएको पुष्टि भएको छ।

गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले २०८३ भदौ २२ गते साँझ ६ बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै विपद्‌मा परी विभिन्न मानव अङ्गसहित १ हजार ३५६ वटा शव फेला परेको जनाएको हो।

हालसम्म १३ हजार ३९६ जनाको जीवितै उद्धार गरिएको छ भने करिब ४ हजार १९४ जना अझै सम्पर्कविहीन छन्। विपद्‌मा परी ज्यान गुमाएकाका शव सबैभन्दा बढि चितवन र नवलपरासीमा देखिएको छ।

प्राधिकरणका अनुसार चितवनमा ३६३, नवलपरासी पूर्वमा २२३, नवलपरासी पश्चिममा २२१, नुवाकोटमा १९७, रसुवामा १६९, गोरखामा ७५, धादिङमा ७० र तनहुँमा ३८ जनाको शव फेला परेको हो।

फेला परेका शवहरूमध्ये हालसम्म ९८ जनाको मात्र पहिचान भई आफन्तले बुझेका छन्। अन्य शवको पहिचानका लागि सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा २ वटा फोटो र नाता प्रमाणित कागजातसहित डीएनए परीक्षणका लागि नमुना दिन सकिने व्यवस्था मिलाइएको छ।

बाढीपहिरोमा परी हालसम्म करिब ४ हजार १९४ जना सम्पर्कविहीन रहेको तथ्याङ्क छ। जसमा नुवाकोट जिल्ला प्रशासन कार्यालयमार्फत करिब २ हजार ३४० जना र रसुवा जिल्ला प्रशासन कार्यालयमार्फत करिब १ हजार ९६७ जना नेपाली नागरिकको विवरण दर्ता भएको छ।

यसबाहेक खोज तथा उद्धारमा खटिएका सुरक्षाकर्मी र कर्मचारी करिब १०० जना तथा ५८७ जना विदेशी पर्यटकसमेत सम्पर्कविहीनको सूचीमा छन्। सम्पर्कविहीन सूचीमा रहेका केही व्यक्ति पहिचान नभएका शव तथा उद्धार गरिएका व्यक्तिहरूसँग दोहोरिएको हुनसक्ने भएकाले विवरण रुजु गर्ने काम तीव्र पारिएको प्राधिकरणले जनाएको छ।

महाविपत्तिपछि उद्धार र उपचारलाई उच्च प्राथमिकता दिँदै हालसम्म घाइते भएका ६ हजार ६७६ जनाको उपचार गरिएको छ। जसमा नेपाली सेनाबाट ३ हजार ३७९ र सशस्त्र प्रहरी बलबाट २ हजार ९७० जनाको उपचार भएको छ भने विभिन्न १० वटा अस्पतालमा उपचार गरिएका ३२७ जनामध्ये २४२ जना डिस्चार्ज भइसकेका छन्।

उद्धार तथा राहतका लागि हवाईमार्गको व्यापक प्रयोग गरिएको छ। हालसम्म नेपाली सेनाले १ हजार १५७ पटक, सशस्त्र प्रहरी बलले १९३ पटक र काठमाडौंबाट निजी क्षेत्रका हेलिकप्टरमार्फत १२९ पटक गरी कुल १ हजार ४७९ पटक हवाई उडान भरिएका छन्।

प्रभावित क्षेत्रमा घरबारविहीन भएका ३ हजार ५३३ जनालाई ३९ वटा होल्डिङ सेन्टरमा राखिएको छ। जसअनुसार नुवाकोटमा २ हजार ६५१, रसुवामा ६६९ र धादिङमा २१३ जना आश्रित छन्।

उद्धार र सुरक्षा व्यवस्थापनका लागि तीनवटै सुरक्षा निकायका गरी कुल २१ हजार ४०२ सुरक्षाकर्मी फिल्डमा खटिएका छन्। जसमा नेपाली सेनाका ९ हजार २८७, नेपाल प्रहरीका ७ हजार ९१२ र सशस्त्र प्रहरी बलका ४ हजार २०३ जना जनशक्ति परिचालित छन्।

साथै, पीडितहरूको मानसिक स्वास्थ्यलाई ध्यानमा राखी स्वास्थ्य मन्त्रालयमार्फत १५० जनाभन्दा बढी मनोसामाजिक परामर्शदाता खटाइएको छ।

नेपाल सरकारले प्रभावित क्षेत्रमा राहतका लागि नगद सहयोगसमेत निकासा गरेको छ। जसअन्तर्गत रसुवा र नुवाकोट जिल्लालाई १-१ करोड, धादिङलाई ५० लाख र प्रभावित १५ वटा पालिकालाई १३ करोड ५० लाख रुपैयाँ उपलब्ध गराइएको छ।

भदौ २२ गते मात्रै २ वटा हेलिकप्टर र ८ वटा मिनी ट्रकबाट खाद्यान्न तथा गैर-खाद्य बन्दोबस्तीका सामग्री प्रभावित क्षेत्रमा ढुवानी गरिएको छ।

प्रभावित क्षेत्रमा इन्धन संकट हुन नदिन ५५ हजार लिटर डिजेल, २३ हजार लिटर पेट्रोल, १९ हजार लिटर हवाई इन्धन मौज्दात राखिनुका साथै अनुदानका ४५७ वटा ग्यास सिलिन्डर पठाइएको छ।

बाढीका कारण अवरुद्ध भएका पूर्वाधारहरू क्रमशः सञ्चालनमा आउन थालेका छन्। हाल धादिङमा ९९.८ प्रतिशत, नुवाकोटमा ९६.७ प्रतिशत र रसुवामा ७८ प्रतिशत घरधुरीमा विद्युत् आपूर्ति सुचारु भइसकेको छ।

यस्तै सञ्चारतर्फ नेपाल टेलिकमका १२० मध्ये ११७ वटा र एनसेलका ७८ मध्ये ७६ वटा टावर पुनः सञ्चालनमा ल्याइएको छ।

प्रकाशित: २२ भाद्र २०८३ १८:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App