रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण मृत्यु हुने नागरिकको संख्या १ हजार पुगेको छ।
बाढीपछि बेपत्ता भएकाहरूको खोजी तथा उद्धारका क्रममा विभिन्न जिल्लाका तटीय क्षेत्रबाट हालसम्म १ हजार जनाको शव फेला परेको हो।
हिमालय क्षेत्रमा हिउँ र चट्टानको पहिरोपछि आएको बाढीले बगाएर ल्याएका शवहरू रसुवा, नुवाकोट, धादिङ, चितवन, तनहुँ र नवलपरासीलगायतका तटीय जिल्लाहरूबाट फेला परेका हुन्।
फेला परेका शवहरूमध्ये पहिचान खुलेकालाई प्रक्रिया पूरा गरी आफन्तको जिम्मा लगाइएको छ।
अधिकांश शव क्षतविक्षत र सडेगलेको अवस्थामा भेटिएकाले पहिचान गर्न निकै कठिन भएको छ। पहिचान नखुलेका शवहरूलाई भने भविष्यमा डीएनए परीक्षणमार्फत आफन्त पहिचान गर्न सकिने गरी पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन निर्देशिका बमोजिम वैज्ञानिक विधिबाट सुरक्षित रूपमा जमिनमुनि अस्थायी व्यवस्थापन गर्ने काम भइरहेको छ।
बाढी प्रभावित क्षेत्रमा अझै ठूलो संख्यामा नागरिकहरू सम्पर्कविहीन रहेकाले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका गरी २० हजारभन्दा बढी सुरक्षाकर्मीहरू उद्धार तथा खोजी कार्यमा अहोरात्र खटिएका छन्।
नदी किनारमा जमेको बाक्लो लेदो, अवरुद्ध सडक र प्रतिकूल मौसमका बाबजुद जलविद्युत् आयोजनाका सुरुङ तथा नदी तटीय क्षेत्रहरूमा खोजी कार्य तीव्र रूपमा जारी राखिएको छ।
प्रकाशित: १६ भाद्र २०८३ १५:१० मंगलबार

