रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्य जारी रहँदा हालसम्म ६६९ जनाको शव फेला परेको छ। नेपाल प्रहरीले शनिबार साँझ ५ बजेसम्मको विवरण सार्वजनिक गर्दै २७ जना प्रहरी कर्मचारी अझै सम्पर्कविहीन रहेको जनाएको छ।
प्रहरीका अनुसार फेला परेका ६६९ शवमध्ये रसुवामा १३, धादिङमा ४९, गोरखामा ५४, नवलपुरमा १५८, नुवाकोटमा ४१, चितवनमा २४८, तनहुँमा ३१ र नवलपरासी पश्चिममा ७५ जना रहेका छन्।
त्यस्तै, घाइते तथा उद्धार गरिएकामध्ये रसुवामा ६७६, नुवाकोटमा १ हजार ६२२ र धादिङमा तीन जना रहेका छन्। काठमाडौं उपत्यकाका विभिन्न अस्पतालमा उपचाररत तथा डिस्चार्ज भएका घाइतेको संख्या १४० रहेको प्रहरीले जनाएको छ।
भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा सुरक्षाकर्मीले उद्धार, खोजी तथा शव व्यवस्थापनको कामलाई निरन्तरता दिइरहेका छन् । बाढीका कारण ठूलो जनधनको क्षति भएको क्षेत्रमा बेपत्ता व्यक्तिको खोजी कार्यलाई तीव्र पारिएको प्रहरीले जनाएको छ। सम्पर्कविहीन २७ जना प्रहरी कर्मचारीको खोजी कार्यसमेत जारी रहेको प्रहरीले जनाएको छ।
प्रकाशित: १३ भाद्र २०८३ १७:२० शनिबार



-600x400.jpg)

