१३ भाद्र २०८३ शनिबार
image/svg+xml
समाज

रसुवा बाढीः वीर अस्पतालमा उपचाररत १६ जना घर फर्किए

रसुवाको भोटेकोशीमा १० गते बुधबार बिहान गएको अचानकको बाढीमा परी घाइते भई वीर अस्पतालमा उपचाररत एक जनालाई आज घर पठाइएको छ। अस्पतालका निर्देशक डा विकास नेपालका अनुसार बाढीपछि वीर अस्पतालमा उपचारका लागि ल्याइएका १७ जना घाइतेमध्ये १६ जना उपचारपछि निको भएर घर गइसकेका छन्। अब एक जना मात्रै उपचाररत छन्। 

हाल वीर अस्पतालमा नुवाकोटकी ९५ वर्षीया गुणाकेशरी बोहराको उपचार भइरहेको छ। उनको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पताल प्रशासनले जनाएको छ। अस्पतालका निर्देशक डा नेपालले भने, ‘वीरमा १७ जना घाइते ल्याइएको थियो । १६ जना उपचारपछि डिस्चार्ज हुनुभएको छ। अब एक जना मात्रै उपचाररत हुनुहुन्छ।’  

यसैबीच, बाढीमा परी घाइते भएका तथा सम्पर्कविहीन व्यक्तिका आफन्तलाई आवश्यक सूचना उपलब्ध गराउन नेपाल प्रहरीले वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा नागरिक सहायता कक्ष स्थापना गरेको छ। 

सहायता कक्षमार्फत घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी लिन तथा सम्पर्कविहीन आफन्तको विवरण टिपाउन आउने क्रम जारी रहेको प्रहरीले जनाएको छ। अस्पतालमा आफन्तजन आफ्ना परिवारका सदस्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिन पुगिरहेका छन्। 

भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा खोज तथा उद्धार र राहत वितरणको कामलाई पनि निरन्तरता दिइएको छ । उद्धार गरिएका घाइतेको उपचार तथा उनीहरूका आफन्तसँग समन्वय गर्न सम्बन्धित निकायले आवश्यक पहल गरिरहेको जनाएको छ। 

प्रकाशित: १३ भाद्र २०८३ १४:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App