रास्वपा सभापति रवि लामिछाने छठ पर्व मनाउन शनिबार जनकपुर पुगेका छन्। उनी स्थानीयको घरमा बसेर छठ मनाउने बताइएको छ।
शनिबार जनकपुर विमानस्थलमा आइपुगेपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै लामिछानेले जनकपुरधामको छठको प्रत्यक्ष साक्षी बन्न पाउँदा खुसी लागेको बताए ।
‘यस्तो उत्सवको बेलामा म आउन पाएको छु, म धेरै-धेरै खुसी छु,’ उनले भने, ‘देशैभरि र संसारभरि विशेष गरेर जनकपुरधामको जुन छठको चर्चा हुन्छ, त्यसको अब आफू प्रत्यक्ष साक्षी हुन पाउँदा मलाई एकदमै धेरै खुसी लागेको छ।’
विमानस्थलमा ओर्लिएलगत्तै उनलाई समर्थक तथा स्थानीयले गम्छा, सयपत्रीको माला र फूलको गुच्छासहित स्वागत गरेका थिए।
बाक्लो सुरक्षा घेराबीच विमानस्थलबाहिर निस्किएका लामिछानेको स्वागतमा उपस्थित समर्थकले नाराबाजीसमेत गरेका थिए।
प्रकाशित: २८ कार्तिक २०८३ १६:०० शनिबार





