१० आश्विन २०८३ शनिबार
image/svg+xml
समाज

वर्षाका कारण बाँकेका धानबालीमा क्षति

फाइल तस्बिर

बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण बाँकेमा किसानको खेतमा पाकेर काट्ने अवस्थामा रहेको धानबालीमा क्षति पुगेको छ। जिल्लाको राप्तीसोनारी गाउँपालिका–९ स्थित ढकेरीमा लोकबहादुर चौधरीको करिब १० कट्ठामा काट्ने अवस्थाको धान खेतमा ढलेको छ। 

निरन्तर परेको वर्षाले केही दिनमा काट्ने तयारी गरिएको धान खेतमा ढलेको जानकारी दिँदै चौधरीले ढलेको धान खेतमै उम्रिने चिन्ता व्यक्त गरे। ‘अब केही दिनमा धान काट्ने तयारी गर्दै थियौँ । तर निरन्तर परेको वर्षाले धानबालीमा क्षति पुगेको छ’, उनले भने। चौधरीले स्थानीय ६०६ जातको मोटा धानको खेती गरेका थिए। 

पानी परिरहेकाले तत्काल कुनै उपाय नभएको उल्लेख गर्दै चौधरीले ढलेको धान खेतमै नउम्रिए हुन्थ्यो भने। यसबाहेक आसपासका क्षेत्रमा काट्ने तयारीमा रहेका धान खेतीमा ढलेर क्षति पुगेको छ। 

खजुरा गाउँपालिकामा पनि काट्ने अवस्थामा रहेको धानबाली खेतमा ढलेर क्षति पुगेको स्थानीय पत्रकार तिलक गाउँलेले जानकारी दिए। उनले आफ्नै धान खेती पनि वर्षाले ढालेर क्षति पुर्‍याएको उल्लेख गरे। 

जिल्लास्थित कृषि ज्ञान केन्द्रकी सूचना अधिकारी सुजिता शर्माले वर्षाले पुर्‍याएको क्षतिको विवरण सङ्कलन कार्य केही दिनमा सुरु गरिने जानकारी दिँदै मलको अभावले गाँज नलागेका स्थानीय जातका धानबाली खेतमा ढलेको हुनसक्ने बताइन्। ‘राधा–४ लगायत मोटो धानका बाली ढलेका हुन सक्छन्’, उनले भनिन्। 

सूचना अधिकारी शर्माका अनुसार स्थानीय तहलाई पनि विभिन्न स्थानीय तहमा वर्षाले पुर्‍याएको धानबालीको क्षतिको विवरण सङ्कलन गर्न आग्रह गरिएको छ। निरन्तर भइरहेको वर्षाका कारण सम्भावित बाढी, डुबान तथा वर्षाजन्य विपद्बाट पशुपन्छी तथा अन्य बालीमा हुनसक्ने क्षति न्यूनीकरण गर्न खजुरा गाउँपालिकाले कृषकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। 

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलबहादुर पौडेलले सूचना जारी गरी बाढी तथा डुबानको जोखिम भएका स्थानमा रहेका पशुपन्छीलाई समयमै सुरक्षित र उच्च स्थानमा सार्न, गोठ तथा खोरको अवस्था जाँच गरी पानीको उचित निकासको व्यवस्था गर्न तथा पर्याप्त सुख्खा घाँस, दाना, पराल र स्वच्छ खानेपानी सुरक्षित रूपमा भण्डारण गर्न अनुरोध गरेका छन्। 

त्यस्तै दूषित पानी तथा भिजेको वा कुहिएको दाना नखुवाउन, विद्युतीय तार तथा उपकरणबाट पशुपन्छीलाई टाढा राख्न र बिरामी वा असामान्य अवस्थामा देखिएका पशुपन्छीलाई छुट्टै राखी तत्काल पशु सेवा शाखा वा केन्द्रमा सम्पर्क गर्न पालिकाले आग्रह गरेको छ।  

प्रकाशित: १० आश्विन २०८३ १७:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App