२० आश्विन २०८३ मंगलबार
image/svg+xml
समाज

आज पनि धेरै ठाउँमा वर्षाको सम्भावना, केही स्थानमा असिना र मेघगर्जनसहित भारी वर्षा हुनसक्ने

पछिल्लो २४ घण्टामा नेपालका धेरै स्थानमा वर्षा भएको छ। लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा असिनासहित भारी वर्षासमेत भएको मौसमविद् विनोद पोखरेलले बताएका छन्।

'गएको २४ घण्टामा नेपालका धेरै स्थानमा वर्षा भयो। लुम्बिनी र कर्णाली प्रदेशका केही ठाउँमा असिनासहित भारी वर्षासमेत भएको छ,' सामाजिक सञ्जालमार्फत उनले भने।

पोखरेलले वायुमण्डल अस्थिर हुँदा स्थानीय रूपमा मेघगर्जन, चट्याङ, असिना तथा छोटो अवधिका लागि भारी वर्षा हुनसक्ने बताए। यस्ता घटना सामान्यतया सानो क्षेत्र र छोटो अवधिमा हुने भएकाले ग्लोबल फोरकास्ट मोडलले कुन स्थानमा कति वर्षा हुन्छ भन्ने कुरा ठ्याक्कै देखाउन नसक्ने उनले बताएका छन्।

उनका अनुसार भारी वर्षा हुने क्षेत्र मोडलको ग्रिड अर्थात् ‘कोठा’भन्दा पनि सानो हुन सक्छ। त्यसैले मोडलमा भारी वर्षाको संकेत नदेखिए पनि स्थानीय रूपमा त्यस्तो घटना हुन सक्ने उनको भनाइ छ।

आज पनि नेपालका धेरै स्थानमा वर्षाको सम्भावना रहेको र अवस्था अघिल्लो दिनकै जस्तो देखिएको पोखरेलले बताएका छन्। धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा तथा केही स्थानमा असिना र मेघगर्जनसहित छोटो समय भारी वर्षा हुन सक्ने भएकाले सचेत रहन उनले आग्रह गरेका छन्।

प्रकाशित: २० आश्विन २०८३ ०९:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App