पर्यटकीय स्थलले सुसज्जित तथा नदी र खोला प्रशस्त रहेको ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले सम्भावित विपद्का घटनाबाट जोगिन सतर्कता र सावधानीका लागि आग्रह गरेको छ।
स्थानीय विपद् व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका पालिका अध्यक्ष राजन लिम्बू (मुक्ति)ले शुक्रबार बिहान सार्वजनिक आह्वान गर्दै फक्ताङलुङ गाउँपालिकामा हिमाली भूगोल, प्रशस्त नदी तथा खोला र जोखिमयुक्त पदमार्ग रहेकोले अत्यावश्यक कामबाहेक घरबाहिर नजान र सुरक्षित स्थानमा रहन आग्रह गरेका छन्।
पालिका अध्यक्ष लिम्बूले नदी खोला, पहिरो जोखिम क्षेत्र तथा कमजोर भू–भाग भएका क्षेत्रमा अनावश्यक आवत–जावत नगर्न, घर परिवार, बालबालिका, अपाङ्गता भएका व्यक्ति तथा ज्येष्ठ नागरिक र पशुपन्छीको सुरक्षामा विशेष ध्यान दिन, सडक तथा पदमार्गमा पानीको उचित निकास मिलाउन र कञ्चनजङ्घा आधार शिविर, दक्षिणी आधार शिविर, घुन्सा, ओलाङ्चुङगोला, टिपताला लगायत उच्च हिमाली क्षेत्रमा भ्रमणरत पर्यटकले मौसम अनुकूल नभएसम्म जोखिमपूर्ण यात्रा नगर्न आग्रह गरेका छन्।
अध्यक्ष लिम्बूले होटल, होमस्टे तथा लज सञ्चालकहरूले पर्यटकको अवस्था, खाद्यान्न, न्यानो कपडा, सञ्चार र प्राथमिक उपचारको व्यवस्था सुनिश्चित गर्नसमेत आग्रह गरेका छन्। स्थानीय पथप्रदर्शक तथा सम्बन्धित निकायको आधिकारिक सल्लाहबेगर जोखिमपूर्ण पदयात्रा नगर्न र जोखिम देखिएमा तत्काल सम्बन्धित वडा कार्यालय, गाउँपालिका र स्थानीय सुरक्षा निकायमा खबर गर्नसमेत सम्बन्धित सबैलाई आग्रह गरेका छन्।
ताप्लेजुङमा बिहीबार बिहानबाट हुन थालेको वर्षा बेलुकीबाट शुक्रबार बिहानसम्म निरन्तर भइरहेको छ। ओलाङ्चुङगोलामा रहेका पर्यटन अभियन्ता हेमराज निरौलाले निरन्तरको वर्षा र डाँडाकाँडातर्फ भइरहेको सामान्य हिमपातका कारण नाङगोलापास हुँदै लुम्बासुम्बा हिमाल पास गरी मकालुतर्फ जाने स्वदेशी तथा विदेशी पर्यटक र सिङ्जेमा ताल तथा स्याम्दो पोखरीसम्मको भ्रमणमा निस्किएका नागरिकहरू थप जोखिमको आशंकामा ओलाङ्चुङगोलामा रहेको जानकारी दिए।
निरन्तरको वर्षा र सामान्य हिमपातले ताप्लेजुङ सदरमुकाम फुङलिङस्थित उच्च हिमाली क्षेत्रमा चिसो भने ह्वात्तै बढाएको छ।
प्रकाशित: १३ कार्तिक २०८३ ११:०४ शुक्रबार


-600x400.jpg)


