२५ भाद्र २०८३ बिहीबार
image/svg+xml
समाज

अस्पतालको गेटमै शिशु जन्मिएपछि राजविराज अस्पतालमाथि प्रश्न

पैसा अभावमा उपचार रोकिएको आरोप

सरकारी अस्पतालमा निःशुल्क तथा सर्वसुलभ प्रसूति सेवा उपलब्ध हुने राज्यको दाबी भइरहेका बेला सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा प्रसव पीडामा रहेकी एक महिलाले अस्पतालको मुख्य गेटबाहिर सडकमा शिशु जन्माएको घटना सार्वजनिक भएको छ।

राजविराज नगरपालिका वडा नम्बर १४ पर्साहीकी बबिता कुमारी पासवान प्रसव पीडा सुरु भएपछि बुधबार बिहान करिब २ बजे श्रीमान् हरेराम पासवान सहित अस्पताल पुगेकी थिइन्। परिवारका अनुसार बबिता अस्पताल पुग्दा प्रसव पीडाले छटपटाइरहेकी थिइन्।

अस्पतालका चिकित्सकले भिडियो एक्स–रेलगायत केही परीक्षण गर्न भनेपछि करिब ३ हजार ४ सय रुपैयाँ खर्च लाग्ने जानकारी दिइएको हरेरामले आरोप लगाए।

तत्काल रकम नभएकाले केही समयपछि रकम व्यवस्था गरेर तिर्ने भन्दै हरेरामले आग्रह गरे पनि उपचार अघि नबढेको र श्रीमतीलाई अस्पतालबाहिर निकालिएको उनले आरोप लगाए।

हरेरामका अनुसार रकम खोज्न आफू बाहिर गएको समयमा बबिताको प्रसव पीडा झन् बढ्यो। अन्ततः बिहान करिब ४ बजे अस्पतालको मुख्य गेटबाहिरै उनले छोरालाई जन्म दिइन्।

‘पैसा नभएकै कारण श्रीमतीलाई अस्पतालबाट बाहिर निकालियो,’ हरेरामले भने, ‘रकम खोज्न कता जाउ सोच्दै थिए श्रीमती व्यथाले छटपटाउँदै अस्पताल नजिकै सडक पेटिमा बच्चा जन्माइन्।’

बबिताले पनि आफू प्रसव पीडामा रहेका बेला अस्पतालबाट बाहिर निकालिएको गुनासो गरेकी छन्। परिवारका अनुसार आमा र नवजात शिशु दुवैको अवस्था अहिले सामान्य रहेको छ।

घटनाको भिडियोसमेत सामाजिक सञ्जालमा सार्वजनिक भएपछि सरकारी स्वास्थ्य संस्थामा विपन्न नागरिकको पहुँच र प्रसूति सेवाको व्यवस्थापनमाथि गम्भीर प्रश्न उठेको छ। 

विशेष गरी प्रसवजस्तो संवेदनशील अवस्थामा आर्थिक अभावका कारण कुनै गर्भवती महिलाले अस्पतालको ढोकाबाहिरै बच्चा जन्माउनुपर्ने अवस्था आउनु स्वास्थ्य सेवाको व्यवस्थापन र मानवीय संवेदनशीलतामाथि गम्भीर प्रश्न उठेको छ।

अस्पतालबाहिर फार्मेसी सञ्चालन गर्दै आएका एक व्यवसायीले घटनासम्बन्धी दृश्य आफ्नो पसलमा रहेको सीसीटीभी क्यामेरामा समेत कैद भएको दाबी गरेका छन्।

उनले अस्पतालमा बिरामी भर्ना तथा उपचारका विषयमा अनाकानी हुने गरेको र चिकित्सकहरूबिच ‘सिन्डिकेट’ रहेको आरोपसमेत लगाए। यद्यपि, उक्त आरोपको स्वतन्त्र पुष्टि हुन बाँकी छ।

घटनाबारे अस्पताल प्रशासनको आधिकारिक धारणा भने सार्वजनिक गरेको छैन।

यस विषयमा गजेन्द्रनारायण सिंह अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. रञ्जित झासँग प्रतिक्रिया लिन सम्पर्क गर्दा उनको मोबाइल फोन बन्द रहेकोले सम्पर्क हुन सकेन।

सरकारले विपन्न, दलित तथा आर्थिक रूपमा कमजोर नागरिकलाई समेत आधारभूत स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध गराउने प्रतिबद्धता जनाउँदै आएको छ।

यस्तो अवस्थामा सरकारी अस्पतालकै गेटबाहिर प्रसूति हुनुपर्ने अवस्था देखिनुले सेवा प्रवाह, आकस्मिक उपचार प्रणाली र अस्पतालको जबाफदेहितामाथि गम्भीर समीक्षा आवश्यक देखिएको छ।

प्रकाशित: २५ भाद्र २०८३ १४:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App