बाराको एक सीमा नाकामा भारतीय नागरिक र सशस्त्र प्रहरीका एक असईबीच भएको भनिएको विवादको भिडियो सार्वजनिक भएपछि घटनाबारे सशस्त्र प्रहरीले आन्तरिक छानबिन सुरु गरेको जनाएको छ।
सार्वजनिक भिडियोमा भारतको बिहार राज्यको आदापुर थाना अन्तर्गत बेल्दारवा इनर्वा निवासी मनान मियाँ नाम गरेका व्यक्तिले सशस्त्र प्रहरीका असई केशव रानासँग विवाद गर्दै तस्करीका लागि ‘लाइन’ खुलाइदिन भन्दै हवल्दारमार्फत एक लाख रुपैयाँ दिएको दाबी गरेका छन्। उनले आफूले उक्त रकम व्यापारीसँग ऋण लिएर दिएको र रकम बुझाए पनि काम हुन नसकेको गुनासो गरेको भिडियोमा सुनिन्छ।
भिडियोमा ती व्यक्तिले रकम फिर्ता माग्दै असई रानालाई समातेर प्रतिवाद गरेको देखिन्छ। उनले एक लाख रुपैयाँका लागि दैनिक चार हजार रुपैयाँ ब्याज तिर्नुपरेको र त्यसका कारण आर्थिक रूपमा गम्भीर समस्या परेको दाबी पनि गरेका छन्।
यस्तै, अर्का एक तस्करले नियमित रूपमा सामान ओसारपसार गर्न पाउने तर आफूलाई रोकिएको भन्दै उनले असन्तुष्टि व्यक्त गरेको पनि भिडियोमा देखिन्छ।
जवाफमा असई रानाले हवल्दार आफ्नो हाकिम नभएको र आफूले माथिल्लो तहको निर्देशनअनुसार मात्र काम गर्ने बताएका छन्। उनले अहिले पहिलेजस्तो सहज अवस्था नरहेको र कसैलाई सहयोग गर्ने अवस्था नभएको अभिव्यक्ति दिएको भिडियोमा सुनिन्छ।
भिडियोमा मनान मियाँले सशस्त्र प्रहरीको मटिअर्वा बेस क्याम्पका डीएसपीलाई पनि एक लाख रुपैयाँ दिएको आरोप लगाएका छन्। यद्यपि, यी आरोपहरूको स्वतन्त्र रूपमा पुष्टि भएको छैन।
सार्वजनिक भिडियो बाराको निलकण्ठवा सीमा नाकाको भएको बताइएको छ।
घटनाबारे प्रतिक्रिया दिँदै सशस्त्र प्रहरी बल नेपाल, नम्बर १२ गण उत्तरझिटकैयाका गणपति सशस्त्र प्रहरी उपरीक्षक बशाल सिलवालले भिडियोको सत्यताबारे आन्तरिक छानबिन भइरहेको बताए। उनले छानबिनबाट जोसुकै दोषी देखिए पनि कानुनबमोजिम कारबाही गरिने स्पष्ट पारे।
यस घटनामा भिडियोमा गरिएको आर्थिक लेनदेन तथा तस्करीसम्बन्धी दाबीहरू सम्बन्धित पक्षका आरोप हुन्। आधिकारिक छानबिनको निष्कर्ष आउन बाँकी रहेको सशस्त्र प्रहरीले जनाएको छ।
प्रकाशित: १६ श्रावण २०८३ १८:०९ शनिबार





