रसुवाको भोटेकोसीमा विनाशकारी बाढी आएको पाँच दिनपछि भदौ १५ गते अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले उद्धारमा स्थानीय तह स्वतः सक्रिय हुनुपर्ने अभिव्यक्ति दिएका थिए।
बाढीले स्थानीय तह र त्यहाँका जनप्रतिनिधि कति पीडामा छन् भन्ने ख्यालै नराखी मन्त्री लम्सालले दिएको अभिव्यक्तिलाई रसुवाको गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङको भोगाइले गतिलो जवाफ दिन सक्छ।
भदौ १० गते अध्यक्ष तामाङ स्याफ्रुबेंसीस्थित गाउँपालिका कार्यालयमा जाने तयारी गर्दै थिए। धुन्चे बस्ने तामाङले घरबाट निस्किने क्रममा ८ बजेर ५५ मिनेट जाँदा बाढी आएको खबर पाए। तत्काल उनले स्याफ्रुबेंसीमै रहेका सालोलाई फोन गरे तर सम्पर्क हुन सकेन। जेठान पनि सम्पर्कमा आएनन्। मनमा चिसो पसेपछि तत्काल पालिकाका कर्मचारीहरूलाई फोन गरे तर कसैसँग सम्पर्क हुन सकेन। उनले टिमुरे र स्याफ्रुबेंसी बजार र नजिकका धेरैलाई फोन गरे तर कसैसँग सम्पर्क हुन नसक्दा बेस्सरी अत्तालिए। कार्यालय पुग्न नपाउँदै बाढीले पुरै बस्ती बगाइदियो।
अध्यक्ष तामाङका पालिकाका बस्तीहरू मात्र बगेनन्, ससुरालीका नौ जना सदस्यसमेत बाढीमा बगेर बेपत्ता भए। ‘मेरो ससुरालीतिर दुई जना सालो, उनीहरूका श्रीमती, एक जना जेठानकी श्रीमती, कान्छा ससुरा र सासू, एक जना जेठी सासू, एक जना नातिनी बेपत्ता हुँदा अब फर्केर आउने आशा पनि नभएकाले धार्मिक कर्म भइरहेको छ,’ उनले भने, ‘ससुरालीमा परिवारको सदस्य जम्मा दुई जना जेठान मात्रै हुनुहुन्छ।’
उनका अनुसार बाँचेका दुई जेठानमध्ये एक जना काठमाडौं आएका कारण र अर्को बिहानै गोठमा गएका कारण जोगिएका हुन्। माइतीमा दुई दाइबाहेक सबै जना गुमाएकी पत्नीलाई सम्झाउने कुनै शब्द नभएको उनी बताउँछन्। गहिरो पीडामा रहेकी श्रीमतीलाई घरमा एक्लै छाडेर उद्धारका लागि सुरक्षाकर्मीसँगै हेलिकोप्टरमा गइरहेका बेला बजार सबै बगेर बगरमा परिणत भएको देख्दा सहिनसक्नुको पीडा भएको उनले सुनाए।
अध्यक्ष तामाङका लागि परिवारभित्रको पीडा मात्रै छैन, सहकर्मीहरू गुमाउनुपर्दाको दुःख पनि उस्तै छ। पालिका उपाध्यक्ष, वडा २ र ५ का वडाध्यक्ष, कार्यपालिका सदस्य एक, वडा सदस्य तीन गरी सात जनप्रतिनिधि र कार्यपालिका कार्यालयका २३ कर्मचारी गरी ३० जना सहकर्मीहरू गुमाउनुपरेको उनले बताए। कर्मचारीहरूका परिवारका दुई सदस्य पनि बाढीमा परी बेपत्ता छन्। पीडैवीडाका बिचमा पनि बाँचेकाहरूका लागि केही गर्नुपर्छ भनेर धर्म नछाडेको र अहोरात्र उद्धार, राहत, पूर्वाधार निर्माणमा आफू जुटिरहेको उनले बताए। ‘ससुरालीतिरका आफन्त र कार्यालयका सहकर्मी साथीहरू सबै मेरा परिवार हुन् तर आज मसँग कोही छैनन्,’ उनले भने, ‘यसो भनेर मैले मेरो धर्म छोड्न सकिनँ र अहिले बाढीबाट बाँचेकाहरूलाई कसरी जोगाउने भन्ने चिन्ता लिएर काममा खटिरहेको छु।’
गोसाइँकुण्ड-२ र ५ का लगभग अधिकांश गाउँ बाढीमा विलीन भए। टिमेरेदेखि स्याफ्रुबेंसीसम्म पर्ने करिब पाँच सय घर बगरमा परिणत भए भने पालिकाभित्रका ५४५ जना बेपत्ता छन्। ‘पालिकाभरिमा जम्मा मतदाताको संख्या ३८ सय हो। अहिलेसम्म ५४५ जना बेपत्ता छन्। त्यसमा अझै थपिने क्रम जारी रहेकाले यकिन तथ्यांक आउन बाँकी छ,’ उनले भने, ‘टिमुरेमा ५२० जना जनसंख्या रहेकोमा २०३ जना बेपत्ता छन्, स्याफ्रुबेंसी, वाङ्दी, खम्बुटारबाट १४७ जना सम्पर्कबाहिर छन्। उता मेरो ससुरालीतिर ४९ दिनसम्म चल्ने धार्मिक कर्म चलिरहेको छ। आफ्ना नागरिकको साथ छाडेर म त्यहाँ जान पनि सकिरहेको छैन। पीडा भए पनि त्यसलाई लुकाएर दायित्व पूरा गर्नुपर्ने रहेछ।’
पालिकाको कार्यालय नै बगाएपछि धुन्चेमा सानो कोठा खोजेर काम चलाइएको तर पानी पस्ने र चुहिने हुनाले समस्या भइरहेको अध्यक्ष तामाङले बताए। अहिले वडा १ र ३ मा बिजुली जोड्न पहल गरिरहेको उनले बताए। सबैभन्दा ठुलो आवश्यकता सडक सञ्जालसँग जोडिनु रहेकाले त्यसका निम्ति उनी अहोरात्र जुटिरहेका छन्। आइतबार मात्रै उनलाई प्रधानमन्त्री कार्यालयबाट फोन आएको थियो। त्यसक्रममा उनले आफ्ना मागहरू राखेका छन्। आफ्ना बेपत्ता परिवारजनको मृत्युको स्वघोषणा गर्ने परिवारका लागि काजकिरिया खर्च दिनुपर्ने मुख्य माग उनले अघि सारेका छन्।
बेत्रावतीबाट धुन्चे र स्याफ्रुबेंसी हुँदै टिमुरे जाने सडकलाई सञ्जालमा जोड्न र हिमाली क्षेत्र भएकाले विस्थापितहरूलाई चिसोबाट बचाउन सुरक्षित स्थानमा स्थानान्तरण गर्न अध्यक्ष तामाङको अनुरोध छ। संघीय सरकारले दुई करोड रुपैयाँ दिएको छ तर खर्च गर्ने कार्यविधि दिएको छैन। त्यसले गर्दा पीडितलाई राहत दिन अप्ठेरो भएको उनले बताए।
त्यसैगरी गोसाइँकुण्ड गाउँपालिकाका बस्तीसँगै अन्य क्षेत्रमा पनि बस्नयोग्य ठाउँ छ कि छैन भन्ने केन्द्र सरकारले बेलैमा अध्ययन गर्नुपर्ने र अयोग्य देखिए त्यहाँका नागरिकको धार्मिक परम्परा मिल्ने स्थान खोजेर सारिदिनुपर्ने अवस्था निम्तिएको उनले बताए। ‘अहिले सबै राहत लैजान हवाई मार्गबाहेक विकल्प छैन। त्यो सधैं सम्भव हुन्न। कहिलेकाहीँ मौसमका कारण पनि लान मिल्दैन। कतिपय घरमा एक जना मात्रै बाँकी छन्। उनीहरूलाई मानसिक परामर्श दिनुपर्ने आवश्यकता छ। विस्थापितहरूका लागि बस्ने स्थान र आम्दानीको स्रोत पनि सुनिश्चित गर्न सक्ने गरी संघीय सरकारले कार्यक्रम ल्याउनुपर्ने भनेर हामीले जोड दिइरहेका छौं,’ उनले भने।
भौतिक तथा मानवीय क्षतिको यकिन तथ्यांक संकलनको काम भइरहेको छ। जिल्लाका ठुलो युवा जनशक्ति बाढीमै बेपत्ता भएकाले बाँचेकाहरूको सुरक्षाका लागि केन्द्र सरकारले स्थानीय सरकारसँग समन्वय गरेर जानुपर्ने अध्यक्ष तामाङको भनाइ छ। ‘अहिले नागरिकले जुन तहको भए पनि सबैलाई सरकार मात्रै देख्छ,’ उनले भने, ‘त्यसैले हामीले पार्टीभन्दा यहाँको नागरिकको जीवन हेर्नुपर्छ।’
बाढीले बगाएको ठाउँमा जमिनसमेत नभएकाले स्थानान्तरणका लागि उपयुक्त स्थान खोजी गर्नुपर्नेमा उनले जोड दिए। जिल्लाको ठुलो जनशक्ति चीनको सीमा क्षेत्रमा केन्द्रित व्यवसाय तथा रोजगारमा संलग्न थियो। तत्कालका लागि त्यो पूर्ण रूपमा बन्द भएकाले त्यहाँ काम गर्दै आएकाहरूको आम्दानी स्रोत मिलाउन स्थानीयको आग्रह रहेको उनले जानकारी दिए। त्यसका लागि बाढीले असर नगरेको लाङटाङ पदयात्राको रुटमा व्यवसाय गर्न अनुमति दिन पालिकाहरूले सुझाएका छन्। अहिले राष्ट्रिय निकुञ्ज क्षेत्रमा कुनै होटल तथा व्यवसाय गर्न रोक लगाइएको छ।
प्रकाशित: ३० भाद्र २०८३ ०७:०० मंगलबार





