१० आश्विन २०८३ शनिबार
image/svg+xml
समाज

कांग्रेस महामन्त्रीमा लुम्बिनी सभापति अमरसिंह पुनको दाबेदारी

नेपाली कांग्रेसको आसन्न १५ औं महाधिवेशनमा पार्टीका लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले केन्द्रीय महामन्त्री पदमा उम्मेदवारी दिने भएका छन्।

कांग्रेसको १५ औं महाधिवेशन यही असोज १६ देखी १९ गतेसम्म काठमाडौंमा गर्ने तयारी छ।

उक्त महाधिवेशनमा आफूले महामन्त्री पदमा उम्मेदवारी दिने गरी आवश्यक तयारी गरिरहेको पुनले बताए। ‘पार्टीका नेता तथा कार्यकर्ता साथीहरूसँग अहिले म सर-सल्लाहमा छु, मैले महामन्त्रीमा उठ्ने सोच बनाइसकेको छु,’ उनले नागरिक न्युजसँग भने।

आफू केन्द्रीय महामन्त्रीको उम्मेदवार बन्ने इच्छा गरेको र त्यसलाई वर्तमान पार्टी नेतृत्वले उपयुक्त ठान्ने पुनको विश्वास छ। संविधान सभा सदस्य एवम् पूर्वमन्त्री समेत रहेका लुम्बिनी प्रदेश सभापति पुन रोल्पाबाट पार्टीको महाधिवेशन प्रतिनिधि निर्वाचित भएर केन्द्रीय महाधिवेशनमा सहभागी हुनेछन्। 

उनी २०८२ मा सम्पन्न भएको प्रतिनिधि सभा निर्वाचनमा बाँके क्षेत्र नम्बर-३ बाट उम्मेदवार बनेका थिए। ‘म पार्टीको तल्लो तहमा रहँदा पनि काम गर्नलाई नेतृत्वको विश्वासका साथ ठुलो मौका र अवसर पाएको हुँ, देशभरका साथीहरूले अमरसिंह पुन को हो ? भनेर चिन्नु भएकै छ, साथीहरूले मलाई महामन्त्रीको रुपमा अवश्य पनि देख्नुहुनेछ, मलाई महामन्त्री बनाउन त्यो खालको सहयोग पनि गर्नुहुनेछ,’ सभापति पुनले भने।

आफ्नो कार्यक्षमता र लगनशीलताका कारण देश र विदेशबाट महाधिवेशन प्रतिनिधिहरूले विश्वास गर्ने उनले बताए।

प्रकाशित: १० आश्विन २०८३ १५:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App