२९ असार २०८३ सोमबार
image/svg+xml
समाज

ताप्लेजुङमा प्रदेशस्तरीय अलैंची महोत्सव हुने

ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाको केन्द्र हाङपाङमा प्रदेश स्तरीय अलैंची महोत्सव हुने भएको छ।

अलैंचीको जिल्ला भनेर चिनिने ताप्लेजुङको हाङपाङमा असार १२ र १३ गते प्रदेश स्तरीय अलैंची महोत्सव हुन लागेको महोत्सव मूल समारोह समितिका संयोजक बालचन्द्र आङबुहाङले जानकारी दिए। आठराई त्रिवेणी गाउँपालिका र कृषि ज्ञान केन्द्र ताप्लेजुङको आर्थिक सहयोगमा हुन लागेको महोत्सवमा अलैंचीका बोटबिरुवा तथा फल प्रदर्शनी, अलैंचीबाट उत्पादन हुने वस्तुको प्रदर्शनी, अलैंचीबाट उत्पादन हुने खाद्य पदार्थको प्रदर्शनी, स्थानीय उत्कृष्ट अलैंची बगान तथा कमजोर अलैंची बगानको अवलोकन तथा पहिचान सहितका गतिविधि हुने भएका छन्।

महोत्सव संयोजक आङबुहाङका अनुसार अलैंची खेती र अलैंची प्रवर्धनसँग सम्बन्धित खुल्ला कविता तथा लोक दोहोरीसहितका सांस्कृतिक कार्यक्रम समेत हुने भएका छन्। महोत्सवका अवसरमा आधुनिक अलैंची खेती सम्बन्धी किसान कार्यशाला तथा क्रेता र विक्रेताबिच अन्तर्क्रिया, संघीय संसदका सदस्य, प्रदेशसभाका सदस्य, स्थानीय तहका प्रमुख–उपप्रमुख तथा अलैंची विज्ञ टोलीबिच अलैंचीको आधुनिक खेती र बजार विस्तार सम्बन्धी छलफल र सफल किसानलाई सम्मान सहितका कार्यक्रम महोत्सव अवधिमा हुने महोत्सव मूल समारोह समितिले जनाएको छ।

अलैंची बहुवर्षीय बिरुवा हो। यसको फेदमा जरा नजिक वर्षको एक पटक अलैंची फल्दछ। अलैंचीलाई सुगन्धित तेल, बिस्कुट, परफ्युम, औषधि उत्पादनमा प्रयोग गर्नुका साथै यसलाई मसलाको रुपमा प्रयोग गरिन्छ।

एक हजार देखि दुई हजार दुई सय मिटर उचाइमा पर्ने हिमाली र पहाडी क्षेत्रमा यसको खेती गरिन्छ। अलैंची खेतीको लागि सधैं चिस्यान रहने ओसिलो र सोपिलो ठाउँ राम्रो हुन्छ। नेपालमा कुल उत्पादन हुने अलैंचीमध्ये करिब ४७ प्रतिशत हिस्सा ताप्लेजुङमा उत्पादन हुने ठानिएको छ।

प्रकाशित: २७ जेष्ठ २०८३ ११:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App