लुम्बिनी प्रदेश सरकारले बाँके जिल्लामा सङ्घीयता कार्यान्वयन भएयता १५ वटा पक्की पुल निर्माण गरेको छ। पुल निर्माणसँगै ग्रामीण तथा दुर्गम क्षेत्रका हजारौँ स्थानीयवासीको आवागमन सहज भएको प्रदेश भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गतको सडक पूर्वाधार विकास कार्यालय, बाँकेले जनाएको छ।
उक्त कार्यालयका प्रमुख चन्द्रबहादुर शाहका अनुसार निर्माण सम्पन्न बाहेक दुई वटा निर्माणाधीन पुल अन्तिम चरणमा छन् भने थप दुई वटा पुल निर्माणका लागि बहुवर्षीय ठेक्कासमेत आह्वान भइसकेको छ।
उनका अनुसार बैजनाथ गाउँपालिका ६ स्थित जेठी नाला र कोहलपुर नगरपालिका १३ को गेरुवा खोलामा पुल निर्माण भइरहेको छ। स्थानीय आवश्यकता र मागका आधारमा प्रदेश सरकारले पुल निर्माणलाई प्राथमिकतामा राखेको छ। ‘स्थानीयको आवश्यकता र मागलाई आधार बनाएर पुल निर्माणका योजना छनोट गरी कार्यान्वयन गरिरहेका छौँ’, कार्यालय प्रमुख शाहले भने, ‘पुल निर्माण सम्पन्न भएपछि वर्षायाममा समेत आवागमनमा सहजता भएको छ।’
कार्यालयका अनुसार डुडुवा नाला, जेठी नाला, किरण नाला, गौरी नाला, गेरुवा नाला, गडगैचा नाला, गन्धैला नाला, दोन्द्रा नाला र रोहिणी खोलामा पुल निर्माण भएको छ। जेठी नालाअन्तर्गत चार वटा पुल निर्माण पूरा भइसकेको छ भने सोही क्षेत्रमा एचगाउँमा अर्को पक्की पुल निर्माणाधीन छ। यस अवधिमा खजुरा गाउँपालिका–२ सिगाउँस, खजुरा ४ चल्तुवा सिर्जनाटोल तथा साइगाउँमा पक्की पुल निर्माण गरिएको छ।
लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रत्न खत्रीले प्रदेश सरकार गठनपछि पुल निर्माणको क्षेत्रमा उल्लेख्य प्रगति भएको बताए । उनले प्रदेशका विभिन्न जिल्लामा दर्जनौँ पुल निर्माण भएपछि यातायात सञ्चालनमा सहजता आएको बताए।
मन्त्री खत्रीले भने, ‘पुल निर्माणसँगै नागरिकको आवागमन र सवारीसाधन सञ्चालनमा सहजता भएको र प्रदेश सरकारले पुलसँगै सडक पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ।’
प्रकाशित: २३ भाद्र २०८३ १६:३० मंगलबार

